मसुदलाई आतकवादी सुचीमा राख्ने जर्मनीको पहल



नयाँदिल्ली (एजेन्सी)
जर्मनीले युरोपेली युनियनमा जैश ए मोहम्मदका नेता मसुद अजहरलाई अन्तराष्ट्रिय आतंकवादी घोषण गर्ने प्रस्ताव ल्याएको छ । युनियनका सबै २८ सदस्यले यस मुद्दामा जर्मनीलाई समर्थन गर्न सक्ने एक समाचार एजेन्सीले जनाएको छ । यदि उक्त प्रस्ताव स्विकृत भएमा पुलवामा हमलाका कथित जिम्मेवार मसुदको सम्पती जफत गर्न, उनको यात्रा तथा लगानीमाथि प्रतिबन्ध लगाउन सकिने बताइएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा यस मामिलामा चीनको ब्यवधानपछि मार्च १५ मा फ्रान्सले मसुद आतककारी गतिविधिहरुमा संलग्न रहेको बताएका थिए । फ्रान्स सरकारले आफनो देशमा रहेको मसुदको सम्पती जफत गर्ने फैसला गरेको थियो ।

केही दिन अगाडी अमेरिका, बेलायत, फ्रान्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा मसुदलाई अन्तराष्ट्रिय आतंकवादीको सुचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । तर चीनले यसमा केही समय माग गर्दै उक्त प्रस्तावलाई चौथो पटक असफल पारेको थियो ।

मसुदको कट्टरपन्थी संगठन जैश ए मोहम्मदले गत फेब्रुअरी १४ मा भारत प्रशासित काश्मिरको पुलवामा सीआरपीएफको गस्ती माथि भएको आत्मघाती हमलाको जिम्मेवारी लिएको थियो । उक्त घटनामा ४० जना सुरक्षा कर्मी मारिएको थियो ।

उक्त घटनाको बदलामा भारतिय वायुसेनाले फेब्रुअरी २६ मा पाकिस्तानको बालकोटमा हवाइ कारवाही गरेका थिए । यसबीच पाकिस्तानको हवाई कारवाहीका क्रममा एक भारतिय लडाकु विमान खसालेको थियो र चालकलाई हिरासतमा लिएको थियो । त्यसको दुई दिनपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाइलटलाई भारत फिर्ता गरेर दुई देशबीचको तनाव कम पार्ने प्रयास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्