नेपाल फाइनलमा, भारतसँग प्रतिस्पर्धा हुने



विराटनगर, (नेस)
नेपाल विराटनगरमा जारी पाचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोलअन्तरले हराएर नेपाल फाइनलमा पुगेको हो । पहिलो पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो ।

नेपालका लागि पहिलो गोल ४२औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन् । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेतले रेखा पौडेलको पासमा गोल गरेर टोलीको अग्रता दोब्बर पारिन् । ८२ औं मिनेटमा साबित्रा भण्डारीले अनिताको क्रसमा हेडमार्फत् गोल गरिन् । यो उनको २५औं अन्तर्राष्ट्रिय गोल थियो ।

साथै ८६ औं मिनेटमा रेखाले थप गोल गरेपछि नेपालको फराकिलो जित संभव भयो । अन्डर १९ मा सानदार प्रदर्शन गरेकी रेखाको सिनियरतर्फ यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । नेपालले शुक्रबार हुने फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

हिजै भएको अर्को सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४–० गोलअन्तरले हरायो । डिफेन्डिङ च्याम्पियनको लागि इन्दुमतीले दुई तथा डालिमा छिबर र मनिशाले एक–एक गोलकोे योगदान दिए । यसअघिका चारै संस्करणको उपाघि भारतले जितेको छ ।

नेपाली महिला टोली ३ संस्करणको फाइनलमा पुगे पनि उपाधिबाट भने चुक्दै आएको छ । तीनै पटक भारतसँग नेपाल पराजित भएको थियोे । यसपटक नेपाली चेलीको लागि आफनै घरेलु मैदानमा उपाधि जित्ने मौका पनि छ र बदला लिने अवसर पनि छ ।

प्रतिक्रिया दिनुहोस्