भवन पाएपछि छाएको खुसियाली…



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विनाशकारी भूकम्पको ४ वर्ष बित्नै लाग्दा गाउँमै सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएपछि बलेफी गाउँपालिका ४ स्थित बिञ्जेल गाउँमा खुसियाली छाएको छ । मंगलवार एक समारोहकाबीच जालपादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन दाताले हस्तान्तरण गरेपछि समुदायमा खुसियाली छाएको हो ।

विद्यालय भवन पाउँदा स्थानीयले नाचगानसहित हर्षोल्लास मात्र मनाएनन्, भवन उद्घाटनका लागि गाउँ आएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, विद्यालय भवन निर्माण गर्ने दातृसंस्थाका प्रतिनीधिहरुलाई बाजागाजाससिहत भव्य स्वागत गरे । ‘पिपलको बोटबाट सुरु भएको स्कुलले आज सुविधासम्पन्न भवन पाएको छ, स्थानीय बयोवृद्ध एवम विद्यालयका संस्थापक सदस्य सुर्यनाथ नेपाल भन्दैथिए, ‘आँफैले स्थापना गरेको स्कुल यति भव्य बन्दा कसलाई खुसी लाग्दैन र ?’

विद्यालयको नवनिर्मित भवन हस्तान्तरण र उद्घाटन भइरहँदा स्थानीय अगुवा मायाँनाथ नेपालको मुहारमा उत्साह प्रष्टै झल्क्न्थ्यिो । उनीसँगै कार्यक्रममा उपस्थित स्थानीय अगुवा महेशकुमार नेपाल पनि विद्यालय भवन पाउँदाको खुसी साटीरहेका थिए । नीजि आवास निर्माण गर्न नसकेका स्थानीय भूकम्पपीडितहरु मंगलवार ‘घर’ को चिन्ता भुल्दै स्कुलमा खुसी पोखिएरहेका थिए ।

‘घर बनाउन नसक्दाको पीडा धेरैलाई छ, तर विद्यालय भवनले खुसी ल्याइदिएको छ’,स्थानीय मायानाथ नेपालले भने । गाउँमा अधिकांशले घर निर्माण थालेपनि निर्माण सम्पन्न हुनेको संख्या भने कम रहेको उनी बताउँछन् । सुविधासम्पन्न विद्यालय भवन पाएपछि स्थानीयले प्राविधिक शिक्षलयका लागि आवस्यक साथ सहयोग दिन मन्त्री गिरीराजमणी पोखरेल, सांसद अग्निप्रसाद सापकोटा , सरेश नेपाल लगायतलाई अनुरोध गरे ।

‘प्राविधिक शिक्षालयका लागि मन्त्रीज्यूले आवस्यक सहयोग गर्नुहुनेछ, प्राविधिक शिक्षका लागि जालपादेवी नै पहिलो प्राथमिकतामा पर्नुपर्दछ’, स्थानीय शिक्षक यदुनाथ नेपालले भने । विद्यालय भवन निर्माण र हस्तान्तरण भएसँगै विनाशकारी भूकम्पपछि प्रभावित बन्दै आएको पठनपाठन सहज हुने विद्यालयका प्रअ नेत्रप्रसाद तिमल्सिनाले बताए । ‘भूकम्पमा पुराना संरचना सवै ध्वस्त भएका थिए, एउटा भवन जोगिएको थियो’, तिमल्सिनाले भने, ‘धेरै महिना त टहरामै पढायौं, अब हामी भौतिक हिसावले सम्पन्न बन्यौं ।’ सुन्दर र सुविधासम्पन्न भवन बनेसँगै पठनपाठन सहज बन्ने उनको विश्वास छ ।

टाटा कम्युनिटी इनिसियटीव टष्टको आर्थिक सहयोग तथा टाटा टष्ट भारत र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा बलेफी गाउँपालिका ४ स्थित जालपादेवी माध्यमिक विद्यालयको १२ कोठे सुविधासम्पन्न भवन निर्माण भएको हो । मंगलवार शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नवनिर्मिति विद्यालय भवनको मुलगेटमा रिवन काटेर विद्यालय भवन उद्घाटन गरेका थिए ।

भवन उद्घाटन समारोहमा मन्त्री पोखरेलसहित पूर्व मन्त्री एवम प्रतिनीधि सभाका सांसद अग्निप्रसाद सापकोटा, प्रदेश सांसद सरेश नेपाल, पूर्व सांसद केशव नेपाल, नेकपाका नेता माधव सापकोटा, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री लगायतले विद्यालय भवन बनेकोमा खुसी ब्यक्त गर्दै शैक्षिक गूणस्तर सुधारमा ध्यान दिइनुपर्ने बताए । भवन हस्तान्तरण कार्यक्रममा टाटा मोटर्सका उपाध्यक्ष अजोय लाल, टाटा टष्टका प्रमुख संचालन अधिकृत हरिषकृष्णा स्वामी,सिप्रदीयन सहायता संस्थाका शम्भु दाहाल, टाटा टष्टका अरुण पान्धी लगायतको उपस्थिती थियो ।

स्कुल जागिर खाने थलो होईनः मन्त्री पोखरेल
जालपादेवीको नवनिर्मित विद्यालय भवन उद्घाटनका लागि आएका मन्त्री गिरीराजमणी पोखरेलले स्कुललाई जागिर खाने थलोका रुपमा नलिन शिक्षकहरुलाई सुझाएका छन् । शिक्षकहरु पेशाप्रति उत्तरदायी नबनेसम्म शैक्षिक गूणस्तरमा बृद्धि नहुने भन्दै उनले शिक्षकहरु उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

विद्यालयका सुविधासम्पन्न र भव्य भवन संरचना निर्माण भइरहँदा भवन संरचनाले मात्रै शैक्षिक गूणस्तर सुधार नहुने उनले औंल्याए । ‘गुणात्मक शिक्षाका लागि भवन महत्वपूर्ण हो, तर भव्य भवनले नै गुणस्तरीय शिक्षा दिँदैन’, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले भने,‘गूणस्तरीय शिक्षाका लागि शिक्षकहरु पेशाप्रति उत्तरदायी बन्नुहोला ।’ विद्यालयका भवन बन्नुमात्र महत्वपूर्ण नभई निर्माण भएका भपवन संरचनाका उचित संरक्षण्को सवाल महत्वपूर्ण रहेको उनले बताए । शिक्षालाई श्रमसँग जोड्दै श्रमलाई सीपसँग जोडेर सीपलाई नै समृद्धिसँग जोड्पर्ने उनले बताए ।

भूकम्पको दुई वर्षपछि ०७४ भदौमा टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाले यस विद्यालयका लागि भवन निर्माणको सम्झौता गरि निर्माण कार्य सुरु गरेको थियो । निर्माण थालेको १९ महिनापछि विद्यालय भवन सम्पन्न गरि दाताले समुदायलाई हस्तान्तरण गरेका हुन् । झण्डै ४ करोडको लागतमा जालपादेवीको १२ कोठे भवन निर्माण सम्पन्न गरि समुदायलाई हस्तान्तरण गरिएको सिप्रदीयन सहायता संस्थाका बरिष्ठ उपाध्यक्ष शम्भु दाहालले बताए ।

सिप्रदीयन सहायता संस्थाले भूकम्पपछि सिन्धुपाल्चोकमा ६ वटा विद्यालय भवन र एक स्वास्थ्य चौकीको भवन निर्माणको काम थालेको थियो । बाह्रविसेस्थित शारदा माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न गरि हस्तान्तरण नै भइसकेको छ ।

भोटेकोसी गाउँपालिकास्थित थापीनारायण आधारभुत विद्यालय, मार्मीङ आधारभुत विद्यालय,कोदारी माध्यमिक विद्यालय, फुल्पिङकटी स्वास्थ्यचौकी भवन बलेफी गाउँपालिकास्थित कुपकन्या माध्यमिक विद्यालयमा भवन निर्माणको काम गरिरहेको उपाध्यक्ष दाहालले बताए । ‘छिटै नै बाँकी विद्यालयका भवन सम्पन्न गरि हस्तान्तरण गर्दैछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्