पहिलोपटक उपाध्यक्षद्वारा बैठक प्रारम्भ र अन्त्य



गंगा बराल, काठमाडौं
राष्ट्रियसभामा मंगलबार पहिलोपटक उपाध्यक्ष शशिकला दाहालले बैठक प्रारम्भ र अन्त्य गर्नुभएको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन गरेपछि उपाध्यक्षले मंगलबार पहिलोपटक बैठक प्रारम्भ र अन्त्य गर्नुभएको हो ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नियमावली संशोधन गर्ने जिम्मेवारी पाएको राष्ट्रियसभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले बताउनुभयो । ‘नियमावली संशोधन भएपछि मंगलबारबाट उपाध्यक्षले बैठक प्रारम्भ र अन्त्य गर्नुभएको हो’, पौडेलले भन्नुभयो– ‘अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हेटौंडा जानुभएको छ ।’

संशोधित नियमावलीमा भनिएको छ– ‘अध्यक्षले उपाध्यक्षलाई लिखित आदेश दिएमा वा अध्यक्ष काबुबाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भ र स्थगन गर्न वा अध्यक्षले प्रारम्भ गरेको बैठकलाई स्थगनको घोषणा गर्नेछ ।’

यसअघिको नियमावलीमा ‘अध्यक्षले बैठकको प्रारम्भ र अन्त्यको घोषणा गर्नेछ’ भन्ने व्यवस्था थियो । संविधानको धारा ९२ मा ‘राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था’ छ । धारा ९२ को उपधारा (४) मा ‘अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ’ भन्ने व्यवस्था छ ।

मंगलबार राष्ट्रियसभाको ३२औं बैठक बसेको थियो । संघीय संसद्को चालू तेस्रो अधिवेशन पुस ११ गतेबाट शुरु भएको हो । कतिपय प्रदेशमा उपसभामुखले बैठकको प्रारम्भ र अन्त्य गर्न थालेका छन् । प्रतिनिधिसभाकीउपसभामुख, राष्ट्रिय सभाकी उपाध्यक्ष सहितको उपस्थितिमा प्रदेश उपसभामुखको पुस २ गते काठमाडौंमा भएको भेलाले उपसभामुखलाई पनि बैठक सञ्चालन र अन्त्य गर्ने अधिकार नदिएको भन्दै गुनासो गरेका थिए ।

संघीय संसद् सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले प्रतिनिधिसभाकी उपसभामुखलाई पनि बैठक प्रारम्भ र अन्त्य गर्ने जिम्मेवारी दिने तयारी भइरहेको जनाउनुभयो ।

राष्ट्रियसभाको भूमिका बढाउन माग
यसैबीच राष्ट्रियसभाका सांसद प्रकाश पन्थले राष्ट्रियसभाको भूमिका बढाउन माग गर्नुभएको छ ।

मंगलबारको संसद् बैठकको विशेष समयमा बोल्दै सांसद पन्थले राष्ट्रियसभालाई विज्ञ, अनुभवी र परिपक्व राजनीति गर्नेको थलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

पन्थले अन्यत्र अवसर र मौका नपाएकालाई राजनीतिक दलले कार्यकर्ता थन्क्याउने ठाउँका रुपमा यसलाई हेर्न नहुने बताउनुभयो । ‘राष्ट्रियसभाको गरिमा बढी छ तर यसलाई त्यो भावनाअनुसार लान सकिएन’, पन्थले भन्नुभयो– ‘जनताको हकहित र दैनिक सवाल उठाउन नसकिए यसको प्रभावकारिता जनतालाई बुझाउन सकिँदैन ।’

नेपाली कांग्रेसका सांसद पन्थले कतिपय अवस्थामा विधेयकमाथि छलफल नै नगरी सिधै पारित गरिएकाले विधेयक के र कस्तो आयो भन्नेमा सांसद नै अन्योलमा परेको समेत बताउनुभयो ।

सांसदहरुले बजेट बाँड्नुभन्दा पनि ३ तहका सरकारले गरेको विकास र योजनाको अनुगमन, निरीक्षण गरेर सल्लाह र सुझाव दिनुपर्नेमा उहाँको जोड छ ।

सरकार शान्ति सुरक्षा स्थापना गर्ने, परराष्ट्र सम्बन्ध कायम गर्ने, संविधानले प्रदान गरेको अधिकारलाई संघीय संरचनाबमोजिम वितरण गर्न नसकेको उहाँको आरोप छ । उहाँले संसदीय समितिको अधिकार क्षेत्र जुधेकाले कुन समितिले के हेर्ने र के के गर्ने भन्नेसमेत अन्योल भएको बताउनुभयो ।

पन्थले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै दिन बसेकाले पनि राष्ट्रियसभामा बोलेका र उठाइएका सवाल सञ्चारमाध्यमको प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले राष्ट्रिय समस्या समाधानका लागि सरकारले विपक्षी र सरोकारवालासँग छलफल गरेर निकास दिनुपर्नेमा जोड दिनुभयो ।

१५ गतेभित्रै अधिवेशन अन्त्य हुने
संघीय संसदको चालु तेस्रो अधिवेशन चैत १५ गतेभित्र अन्त्य हुने भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले केही विधेयक मात्र पारित गर्न बाँकी रहेकाले अधिवेशन अब धेरै दिन नचल्ने बताउनुभयो । ‘१५ गते भन्दा टाढा जाँदैन, त्यसपछि पनि केही दिनको समयको ग्यापमा बजेट अधिवेशन पनि बोलाइहाल्नुपर्ने हुन्छ’ प्रबक्ता पाण्डेले भन्नुभयो । यो चालु अधिवेशन पुस ११ गतेबाट सुरु भएको हो ।

२०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म, २०७५ बैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा पर्दछन् । अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्