‘विद्यालयको चुहिने छानोमा टिन’



हिक्मत नेपाली, दैलेख ।
पानी पर्दा चुहिने दैलेखको एक सामुदायिक विद्यालयको जिर्ण भवन मर्मत गरिएको छ । नेपाली सेनाको ईन्द्रदल गुल्म दैलेखले उक्त भवन मर्मत गरेको हो ।

सेनाले दैलेखको नारायण नगरपालिका–११ जुफियामा रहेको वडाभैरब आधारभुत विद्यालयको तीन कोठे जीर्ण भवन मर्मत गरेको हो । दुई लाख रुपैयाँ लागतमा जीर्ण अवस्थामा रहेको उक्त भवन मर्मत गरिएको ईन्द्रदल गुल्म दैलेखका गुल्मपति सुनिल कुमार मल्लले जानकारी दिनुभयो ।

‘भवन मर्मतका लागि एक साता अघि देखि नेपाली सेनाका अधिकृत तथा जवान २० जना विद्यालयमै खटिएका थिए,’ गुल्मपती मल्लले भन्नुभयो ‘विद्यालयको भवन जिर्ण अवस्थामा रहेको भन्दै नारायण नगरपालिको आग्रह पछि सेनाको स्रोत साधन प्रयोग गरेर विद्यालयको भवन मर्मत गरेका हौ ।’

पत्थरको छानो रहेको उक्त भवन पानी पर्दा चुहिने र भत्कने अवस्थामा रहेको थियो । नेपाली सेनाले जिर्ण भवनको छानो टिन (कर्कट पाता) ले छाएको छ भने भवनमा रंगरोगन गरेको छ । मर्मत पछि उक्त भवन टाढाबाटै हेर्दा सुन्दर देखिएको छ ।

सेनाद्धारा मर्मत गरिएको भवन विद्यालयलाई हस्तान्तरण गर्न पुगेका नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले महतवपूर्ण कार्य गरेको धारणा राख्नुभयो । ‘यस अघि यहाँ आउँदा भवन भत्कने तरखरमा थियो,’ उहाँले भन्नुभयो ‘सेनाले थारै बजेटमा महत्वपूर्ण कार्य गरेको छ ।’ भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी स्थानीय सरकारको रहेको बताउँदै नगरप्रमुख खड्काले आगामी आर्थीक बर्षमा सोहि विद्यालयको भौतीक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले नेपाली सेनाले समुदायको आवश्यकताका आधारमा गरेको सामाजिक कार्यले विद्यालयलाई राहत पुगेको बताउनुभयो । आर्थीक रुपमा कमजोर रहेका सामुदायिक विद्यालयको जिर्ण अवस्थामा रहेको भवन निर्माण गरेर सेनाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सजिलो बनाइदिएको उहाँको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक मनसरा थापाले आर्थीक स्र्रोत कमजोर भएको विद्यालयमा सेनाले जिर्ण भवन मर्मत गरिदिएकोमा धन्यवाद दिनुभयो । भवन मर्मत कार्य गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर मल्लले बताउनुभयो ।

यसैबीच सेनाले सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदका सामग्रीहरु प्रदान गरेको छ । भवन मर्मत गर्दा आवश्यक सामग्रीहरु खरिद गरि बचाएको रकमले विद्यालयमा भलिबल, नेट लगाएतका खेलकुदका सामग्रीहरु प्रदान गरेको गुल्मपती सुनिल कुमार मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्