मेसीको ३३औं ह्याट्रिक



लन्डन, (एजेन्सी)
लिओनल मेसीले आफ्नो ३३औं ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल बेटिसविरुद्ध सहज जित हात पारेको छ ।

आइतबार राति भएको सो खेलमा बार्सिलोनाले बेटिसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बेटिसको मैदानमा भएको खेलमा मेसीले खेलको १८औँ, ४५औँ र ८५औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । ला लिगामा मेसीको यो ३३औँ ह्याट्रिक हो । उनी रियल मेड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोभन्दा १ ह्याट्रिकले पछि छन् । रोनाल्डोले ला लिगामा ३४ ह्याट्रिक गरेका थिए । हाल रोनाल्डो युभेन्टस्मा सरेपछि मेसीले ला लिगामा सर्वाधिक ह्याट्रिक गर्ने पक्का छ ।

यस्तै लुइस सुअरेजले ६३औँ मिनेटमा एक गोल थपेका थिए । बेटिसका लागि ८२औँ मिनेटमा लोरेन मोरेनले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मेड्रिडमाथि १० अंकको अग्रता कायम गर्दै उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गरेको छ । लिग लिडर बार्सिलोनाको २८ खेलबाट ६६ अंक छ भने एट्लेटिकोको ५६ अंक छ ।

 

प्रतिक्रिया दिनुहोस्