एनसीएल महिला क्रिकेट अर्को वर्षमा



काठमाडौं, (नेस)
एनसीएल महिला टी २० क्रिकेट लिगको मिति सारिएपछि अर्को वर्ष उक्त लिग शुरुवात हुने भएको छ ।

यसै चैत १ गतेदेखि ९ गतेसम्म हुने तय भएको सो लिग आगामी बैसाख ७ देखि १४ गतेसम्म संचालन हुने एनसीएल स्पोर्टस प्रालिले जानकारी गरायो । विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछन् ।

एनसीएल स्पोट्र्सले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिगसँगै पुरुष र उमेर समूहको क्रिकेट लिग सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

पहिलो पटक हुन लागेको महिला क्रिकेट लिगमा ४ टोली विराटनगर रोअरिङ्ग लायोनेस, भैरहवा क्विन्स, धनगढी वोन्डर वोमेन र काठमाडौ सुपर च्याम्पियन्सको सहभागिता हुनेछन् । जसमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले भैरहवा क्विन्सकी मार्की खेलाडीमा अनुबन्ध भएकी छिन् ।

त्यस्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान नेरि थापालाई भने काठमाडौं सुपरकी मार्की खेलाडीमा अनुबन्ध गरिएको छ । यो टोलीकी नेपाली चलचित्रकी नायिका रेखा थापा मालिक हुन् । सिता रानामगरलाई धनगढी र करुणा भन्डारीलाई विराटनगर टोलीका मार्की खेलाडीको रुपमा राखिएका छन् ।

टोलीको खेलाडी छनोटका लागि केहि दिनमा अक्सन काठमाडौंमा गरिनेछ । प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहनेछ । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारका विषयमा आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनायो ।

प्रतिक्रिया दिनुहोस्