राजधानीका प्रमूख सडकमा बत्ती जडान गरिने



काठमाडौँ ।
रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ ।

आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

“सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ”, उहाँले भन्नुभयो, “माग अनुसार बत्ती जडान गर्ने हो भने रु १० देखि १५ करोड खर्च हुने अनुमान छ ।”

रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । आगामी वैशाखदेखि शुरु गरी यसै आर्थिक वर्षभरीमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने पनि कामपाले जनाएको छ ।

सिसीटिभी जडान

महानगरीय प्रहरी परिसर काठमाडौँले महानगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । त्यसका लागि कामपाले परिसरलाई रु तीन करोड रकम उपलब्ध गराएको छ ।

महानगरपालिकाभित्र शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण र प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउनका लागि सो सहयोग गरेको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्