५२ लाख हिनामिना आरोपमा लेखापालविरुद्ध मुद्दा दायर



काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले कपिलवस्तु, यशोधरा गाउँपालिका– ३ स्थित श्री कृष्ण धार्मिक मा.वि. बसन्तपुरका विद्यालय व्यवस्थापन समिति सदस्य बिजयनाथ चौवे र नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध मुद्दा दायर गरेको हो ।

चौवेले अंग्रेजी शिक्षकमा नियुक्ति गराइदिने भन्दै एक लाख रकम लिईसकेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।
चौवेलाई जरिवाना र कैद सजायको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकरी दिए ।

यस्तै महतले केन्द्रका प्रमुख मनोजकुमार सिंहसंगको मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा हुँदा बरबुझारथ नगरी गई ललितपुरमा समेत उनले २० लाख हिनामिना गरेको आयोगले जनाएको छ ।

आयोगले यसबारे छानविन गर्दा महत १ करोड हिनामिना गरेको तर ३० लाख मात्र तिर्न लागेको खुल्न आएको बताएको छ ।
आयोगको अनुसन्धानका क्रममा उनले बाह्र लाख त्रियानब्बे हजार चार सय बयानब्बे रूपैयाँ एकहत्तर पैसा ठगी गरेको खुल्न आएको छ ।
महतले बाउन्न लाख तेह्र हजार पाँच सय नब्बे रूपैयाँ त्रिचालीस पैसा बराबरको सरकारी रकम हिनामिना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्