नेपालले श्रीलंकाको सामना गर्ने



सरोज यादव, विराटनगर
विराटनगरको सहिद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आइतबार भएको समूह बी को अन्तिम खेलमा श्रीलंकालाई ५—० को गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेपछि नेपालले श्रीलंका सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो । समूह बी मा श्रीलंका भने उपविजेता रह्यो । नेपाल समूह ए को विजेता हो । भारतले अब सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरको शहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि पूरै दबावमा राख्यो । भारतले चौथो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । सन्जुले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ग्रेस दङमीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तीन मिनेटपछि भारतले अर्को गोल र्गयो । सन्जुले निकालेको पासमा सन्धिया रंगनाथनले गोल गरिन् । भारतले निकै राम्रो गोल गर्ने अवसर निकाल्दा श्रीलंकाले भने कुनै मुभ नै बनाउन सकेन । खेलको ३६औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३—० गोलको अग्रता दिलाइन् । ४५औं मिनेटमा संगिता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् । सन्जुले प्रहार गरेको बल श्रीलंकाकी डिफेन्डर रुसानी गुनावर्दनेले डिबक्सभित्र ह्यान्ड गरेपछि भारतले पेनाल्टी पाएको थियो । पहिलो हाफमै चार गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ४७औं मिनेटमा रतनबाला देवी नोङमाइथेनले गोल गर्दै भारतलाई ५—० को जित दिलाइन् ।

यसअघिका खेलमा भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो भने श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो । खेलपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले भारत शक्तिशाली टिम भएकाले धेरै गोल अन्तरको पराजय भोग्नु परेको बताए । प्रशिक्षक अल्पोन्सुले सन् २०१६ पछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका कारण पनि श्रीलंकाको टोलीसँग अनुभवको कमी रहेको स्वीकार गरे । ‘आजको नतिजा हामीसँग अनुभव कम हुनुको कारक हो,’ उनले भने, ‘अब सेमिफाइनलमा भने नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने छौं ।’

जितपछि खुशी हुँदै भारतकी प्रशिक्षक मेमोल रोकीले ५ मिनेट भित्रमा गोल गरेर श्रीलंकालाई डोमिनेट गर्ने रणनीति सफल हुँदा फराकिलो अन्तरको जित निकाल्न सकिएको बताइन् । ‘रणनीति सफल हुँदा प्राप्त भएको नतिजाबाट म धेरै खुशी छु,’ उनले भनिन्, ‘अब बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धाको लागि तयारीमा लाग्छौं ।’सेमिफाइनल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान र दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग सोही प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्