भ्रष्टाचारको निदान र सुशासनको उठान



अर्यमा उप्रेती
सामान्य अर्थमा भ्रष्टाचार भन्नेबित्तिकै हाम्रो बुझाइमा कुनै सेवा वा सहयोगबापत ऐन–नियमबाहिर गई नगद लेनदेन गर्नु भन्ने बुझिन्छ । भनिन्छ, भ्रष्टाचार सरकारी कार्यालयमा मात्र हुन्छ तर समाजमा बसोबास गर्ने हरेक व्यक्तिले पनि कुनै न कुनै रूपमा भ्रष्टाचार गरिरहेका हुन सक्छन् । हरेक नागरिकले आफ्नो संवैधानिक हक खोज्दा संवैधानिक दायित्वको निर्वाह नगरी सामाजिक रूपमा अनुत्तरदायीपूर्ण काम गर्नु पनि भ्रष्टाचारभित्र पर्दछ । उदाहरणको लागि सरकारले बागमती सफाइ अभियान चलाएको यति लामो समय भइसक्दा पनि हामी नागरिकले आ–आफ्नो घरको फोहोर व्यवस्थापन गर्न नसकी राति अँध्यारैमा बागमतीमा फाल्न छाडेका छैनौं । यो पनि हामी नागरिकबाट भइरहेको भ्रष्ट आचरण हो भन्नु अत्युक्ति नहोला ।

भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एक चुनौतीपूर्ण कार्यको रूपमा रहेको छ । पछिल्लो समय यो एक सरुवा रोगजस्तै बनेको छ । सरकारी निकायहरूमा मात्र नभएर निजी तथा सार्वजनिक संस्था, गैरसरकारी संस्था, व्यापारिक प्रतिष्ठान, पेसाका हरेक क्षेत्रमा जता पनि भ्रष्टाचारको लामो हात पुगेको छ । भ्रष्टाचारकै कारण राष्ट्र विकासमा अवरोध आएको छ भने ठूला–साना जुनसुकै आयोजनाले गति लिन सकेका छैनन् । कुनै पनि ठूला आयोजनाहरूसँग भ्रष्टाचार सँगसँगै जोडिएर आएको ज्वलन्त उदाहरणको रूपमा नेपाल वायु सेवा निगम वाइड बडी, मेलम्ची खानेपानी, सिक्टा सिंचाइ आयोजना आदि प्रकरणमा चलिरहेको जुहारी जगजाहेर छ ।

समाजमा जरो गाडेको भ्रष्टाचारलाई हटाउन निकाय, कुनै एउटा संस्था वा व्यक्तिको मात्र भन्दा पनि प्रत्येक संस्था तथा नागरिकको सामूहिक भूमिका अपरिहार्य छ । त्यसका लागि सम्पूर्ण सचेत नागरिकहरू एकजुट भई उत्रिनुपर्ने बेला आएको छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित निकायहरूलाई प्रभावकारी बनाउन प्रत्येक नागरिकले आफ्नो अधिकारको खोजी र कर्तव्यको निर्वाह नगरेसम्म यो चुनौतीको रूपमा सर्वदा रहिरहने यथार्थ हाम्रो सामु टड्कारो देखिन्छ ।

भ्रष्टाचार नियन्त्रण गर्न सबभन्दा पहिला सुशासन हुनु अत्यन्तै आवश्यक छ । सामान्य अर्थमा सुशासन भन्नाले असल शासन हो । जुन–जुन उद्देश्यले गठन गरिएका विभिन्न निकायहरूले आफूले दिनुपर्ने सेवा र गर्नुपर्ने कार्यहरू गर्दा मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता, औचित्यता र नियमितताका यी ५ बुँदाहरूलाई मूल मन्त्रको रूपमा लिई असल मनले काम गरेको खण्डमा मात्र सुशासन सम्भव हुने कुरा निर्विवाद छ ।

सुशासनकै कुरा गर्दा, हामीले वर्तमान अवस्थामा आफैंले भोगेको एउटा उदाहरणलाई लिऊँ, नेपाल विद्युत् प्राधिकरणको तत्कालीन व्यवस्थापनका कारणले नेपाललाई १० वर्षसम्म अन्धकारमा बस्नुप¥यो, त्यसले लोडसेडिङ मुक्त हुने कुनै विकल्प नै सुझाएन । तर विगत केही वर्षयता गठित वर्तमान व्यवस्थापनले हामीलाई अन्धकारबाट मुक्त गराई उज्यालोतिर डो¥याएको कार्यलाई एउटा ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।

भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन दिनका लागि गठित संवैधानिक, सरकारी र गैरसरकारी सञ्जालहरूको सक्रियताका बाबजुद पनि भ्रष्टाचार किन मौलाउँदै छ त ? यसबाट समाजले बुझ्नुपर्ने कुरा के छ भने, भ्रष्टाचारको कुचक्र र सञ्जालमा हामी यसरी जकडिएका छौं कि त्यसबाट निकास पाउनको लागि माथिबाट तलसम्म सबै पक्षले ठूलो नैतिक र आचरणगत सुधार नगरेसम्म कठिन प्रायः देखिन्छ ।

भ्रष्टाचारीलाई जोगाउनका लागि अहिले जे–जस्ता खेलहरू भइरहेका छन् ती सबै कार्यान्वयन पक्षका उपज हुन् । एउटा निकायले भ्रष्टाचारीलाई कठघरामा उभ्याउँछ, अर्कोले चलखेल शुरु गरिहाल्छ । त्यसैले ऊ कानुनको छिद्र खोज्दै वा आफ्नो स्वविवेकीय तर्क राख्दै दोषीलाई उन्मुक्ति दिने र चोख्याउने हरप्रयास गरिरहेको हुन्छ ।

एकछिन् हामी सबैजना एउटा भ्रष्टाचारमुक्त समाजले देख्ने सपनाभित्र छिरौं । त्यो सपना जहाँ हाम्रो मातृभूमि नेपालले आफ्नो क्षेत्रमा मात्र नभई विश्वबजारमा नै कृषि उत्पादनको बिक्री वितरण गरिरहेको हुनेछ, त्यो सपना जहाँ नेपालले एसियाली मुलुकमा मात्र नभई युरोप, अमेरिकालगायत अन्य विदेशी मुलुकमा जलविद्युत्को बिक्री गरिरहेको हुनेछ, रोजगारीको सिलसिलामा विदेशिएका हाम्रा कर्मठ कर्णधारहरू आफ्नै मातृभूमि फर्किसकेका हुनेछन् र त्यो भन्दा राम्रो काममा व्यस्त हुन पाउनेछन् । त्यो सपना जसरी हाम्रा युवा विद्यार्थी अध्ययनकै नाममा विदेशिन्छन् र शिक्षित भएर फेरि कमै फर्किन्छन्, ती आफ्नै देशमा गुणस्तरीय शिक्षा पाएर देश विकासमा लागेका हुनेछन् र अझ हाम्रो गुणस्तरीय शिक्षा देखेर विदेशी विद्यार्थीसमेत यहाँका शैक्षिक संस्थामा शिक्षा ग्रहण गर्न लालायित भएर ओइरिनेछन् ।

के यो सम्पूर्ण सपनालाई वास्तविकतामा रूपान्तरण गर्न सम्भव छ त ? अवश्य सम्भव छ । यदि हामी हाम्रो प्रशासन र व्यवस्थापनमा व्याप्त सामाजिक कुरीति भ्रष्टाचार नियन्त्रण गरेर वास्तविक प्रजातान्त्रिक सुशासनको स्थापना गर्छौं भने । यसका लागि ‘म भ्रष्टाचार विरोधी बन्छु, ज्यान गए पनि मेरो पेसागत कर्म गर्दा वा सरकारी सुविधा उपभोग गर्दा भ्रष्टाचारलाई प्रश्रय दिन्न’ भनेर दृढ संकल्प लिन सक्छौं ? यस्ता प्रतिबद्धता व्यावहारिक रूपमा उतार्न सकेको खण्डमा हामीले वास्तवमा भ्रष्टाचारमुक्त समाज निर्माणमा ठूलो टेवा पु¥याउनेछांै । यसो हुन सकेमा सुशासन स्थापना भई हाम्रो सपना पनि साकार हुनेछ ।
भ्रष्ट आचरणका कारण सृजित सामाजिक विकृतिहरूको शल्यक्रिया गर्दै भ्रष्टाचारलाई विस्थापित र सुशासनलाई स्थापित गर्न निम्नलिखित उपाय अवलम्बन गर्नु उपयुक्त देखिन्छ ।

शिक्षा
भनिन्छ, भ्रष्टाचार नियन्त्रण गर्न टेवा पु¥याउने मूल तत्व शिक्षा हो । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार छिमेकी मुलुक भारतको केरला विश्वको कम भ्रष्ट हुने राज्यको सूचीमा पर्दछ । यसो हुनुको मूल कारण हो उच्च साक्षरताको दर । यसबाट बुझ्न सकिन्छ, भ्रष्टाचार न्यूनीकरण गर्न शिक्षाले ठूलो भूमिका निर्वाह गर्छ । विद्यालय तहदेखि नै उनीहरूलाई भ्रष्टाचारविरुद्ध आवाज उठाउन सिकाउनुपर्दछ र भ्रष्टाचार अस्वीकार्य छ भनी बालबालिकालाई निष्ठावान् बनाउनु अत्यन्तै आवश्यक देखिन्छ ।

युवाको भूमिका
भ्रष्टाचार निवारण गर्न अर्को मूल भूमिका युवाहरूको हुन्छ । भनिन्छ, भ्रष्टाचार पत्ता लगाउनु छ भने सम्पत्ति, जीवनशैली र उठबस हेरे मात्र पुग्छ । समुदाय र छिमेकमा हामीले सफल ठानेका व्यक्तिको स्रोत–साधन बुझौं । रहस्यमय भए त्यस्ता व्यक्तिलाई आदर र सम्मानको पगरी नगुताऊँ । सबै क्षेत्रमा सम्पत्तिको स्रोत खुलाउन अनिवार्य गरौं । स्रोत खुल्न नसकेको सम्पतिलाई कालो धन ठानौं । दोषीलाई कानुनी कारबाही गराउने र सामाजिक रूपमा बहिष्कार गर्दै जाने प्रण गरौं । टोलछिमेकमा भ्रष्टाचारविरुद्धको कार्यक्रम आयोजना गरी यसले समाजमा पारेको असर अनि सुशासनको लागि हाम्रो दायित्वको विषयमा बहस गरौं ।

परिवार र व्यक्तिले खेल्ने भूमिका
भ्रष्टाचार नियन्त्रण गर्न परिवार र व्यक्तिले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । आफू सुविधाभोगी र विलासी जीवनको अपेक्षा नराखौं । सादगीपूर्ण जिन्दगी, शुद्ध विचारप्रति आस्थावान् बनौं र भ्रष्टाचारलाई समाज र मुलुकविरुद्धको घात ठानौं । आफ्ना सन्ततिका लागि धन थुपार्ने होडबाजी छोड्दै असल आचरण, शिक्षा र संस्कार लिने–दिने गरौं । परिवारमा खुलेर भ्रष्टाचारका विरोधमा बहस गर्ने गरौं । परिवारको सदस्यलाई भ्रष्टाचारी बन्न उकास्ने हैन, बरु यसविरुद्ध आवाज उठाउन प्रेरित ग¥यौं भने केही हदसम्म भ्रष्टाचार न्यून हुने सम्भावना मैले देखेकी छु । हाम्रो व्यक्तिगत र पारिवारिक आवश्यकतालाई हाम्रो आयस्रोतका सीमामा बाधौं, देखासिकी नगरांै ।

व्यावसायिकता र पारदर्शिता
भ्रष्टाचार झन् बढ्नुको अर्को खास कारण पारदर्शिता र व्यावसायिक जवाफदेहिताको कमी हो । जबसम्म हामी हाम्रो व्यावसायिक कार्य गर्दा निष्पक्ष भई गर्दैनौं तबसम्म भ्रष्टाचार नियन्त्रण गर्ने कुरा भनाइमा मात्र सीमित हुने देखिन्छ । राजस्व, निर्माण, लेखा, स्वास्थ्य, कर, प्रहरी र न्यायिक क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ । किनकि यी बढी भ्रष्टाचार हुने क्षेत्रमा पर्दछन् । हामी युवाले पेसागत कार्य शुरु गर्दा घूस लिने र दिने प्रवृत्ति नसिकौं । यस्तो कार्य गर्ने कोही देखा परेमा ती विरुद्ध सार्वजानिक रूपमा आवाज उठाउन प्रतिबद्धता गरौं । यस्तो कार्य गरी आफूलाई निष्ठावान् बनाउने जिम्मा हाम्रो आफ्नै हो ।

विशेष गरी हामी समाजमा रहेका सम्बन्धित सबै पक्षहरूले आफ्नो स्वार्थ र आफ्नो हितलाई मात्र प्राथमिकतामा राखी सामाजिक र राष्ट्रप्रतिको उत्तरदायित्वलाई महत्व नदिएको कारणले पनि यो अवस्था सृजना भएको हो । अतः हामीले आफ्नो भूमिका निर्वाह गर्दा के सत्य कुरा यही हो, के यसबाट कसैलाई पनि अन्याय पर्दैन, के यसले सबै पक्षको हित गर्ला त ? भन्ने प्रश्नहरूलाई कसीको रूपमा प्रयोग गर्दै आफ्नो विचारलाई बढाउँदै, मतभेदलाई घटाउँदै, जिम्मेवारीलाई बाँड्दै यथार्थ व्यवहारमा उतार्न सकेको खण्डमा हामी सुशासनतर्फ लाग्न सफल हुनेछौं ।

मेरो बुझाइमा भ्रष्टाचार नियन्त्रणको लागि विद्यमान ऐन, नियम र कानुनका साथै अनुसन्धान र नियन्त्रणमा संग्लन संवैधानिक, सरकारी, गैरसरकारी सञ्जालहरूको कमी भएजस्तो लाग्दैन । कहीँ कमजोरी छ भने, यसको कार्यान्वयन पक्षमा छ । तसर्थ कार्यान्वन्यन तहमा रहने हामी सबैले आ–आफ्नो भूमिका इमानदारीका साथ पूरा गर्ने गरौं ।

भ्रष्टाचारीलाई जोगाउनका लागि अहिले जे–जस्ता खेलहरू भइरहेका छन् ती सबै कार्यान्वयन पक्षका उपज हुन् । एउटा निकायले भ्रष्टाचारीलाई कठघरामा उभ्याउँछ, अर्कोले चलखेल शुरु गरिहाल्छ । त्यसैले ऊ कानुनको छिद्र खोज्दै वा आफ्नो स्वविवेकीय तर्क राख्दै दोषीलाई उन्मुक्ति दिने र चोख्याउने हरप्रयास गरिरहेको हुन्छ । समस्या अर्को पनि छ । हामी जे भन्छौं त्यो गर्दैनौं र जे गर्छौं त्यो भन्दै भन्दैनौं । हाम्रो भनाइ र गराइमा ठूलो खाडल छ । प्रत्येक कार्यालय परिसर तथा सार्वजनिक स्थलमा लेखिएका शब्द–नाराहरू कति कर्णप्रिय छन् तर व्यहारमा त्यसको ठीक उल्टो प्रदर्शन भइरहेको छ ।

अब यसको लागि को दोषी त भनेर खोट्याउन खोज्दा अनैतिक आचरण गर्ने र गराउने दुवै बराबरी भागी छन् । हामीमा धैर्य छैन । सबैले आफ्नो काम छिटो र सजिलो बाटोबाट गराउन खोज्दा यो अवस्था उत्पन्न भएको हो । गम्भीर भएर सोचौं– मसित छ, म दिएर काम गराउँछु । तर नहुने पनि त छ, उसले आफ्नो काम कसरी गराउँछ ? यसरी आफ्नो अन्तर्मनलाई साक्षी राखेर सोच्यौं भने हामी यस्तो कार्य गर्नबाट अवश्य पनि पछि हट्नेछौं । अतः धैर्य गर्ने बानीको विकास गरौं, छोटो र चोर बाटो नरोजौं, आफ्नो द्वैधचरित्रलाई सुधारौं, कामजस्तो कुरा र कुराजस्तो काम गरौं । यसैबाट हुन्छ भ्रष्टाचारविरुद्धको सहकार्य र सुशासनको उठान अनि देशबाट भ्रष्टाचारको निदान ।

(लेखिका उप्रेती बी.ए.एल.एल.बी. दोस्रो वर्षमा अध्ययनरत छात्रा हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्