माईभ्याली गोल्डकपः झापा सेमिफाईनलबाटै बाहिरियो



गणेश घिमिरे, इलाम ।
इलाममा जारी पाँचौ संस्करणको माईभ्याली गोल्डकप फूटबलमा हिमालयन शेर्पाले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । आइतबार सदरमुकामको ठूलो टुडिखेलमा भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय झापालाई ३–शुन्य गोलको लज्जास्पद हार चखाउँदै हिमालयन शेर्पाले उपाधि होडलाई सुरक्षित बनाएको हो ।

शेर्पाको जितमा त्रिदेव गुरुङ, रवि थापा र विशन गुरुङले गोल गरे । जितसँगै हिमालयनले उपाधिका लागि मंगलबार हुने फाइनलमा विदेशी टिम दाफिन्स क्लब क्यामरुनको सामना गर्नेछ । दाउफिन्सले शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै फाइनल प्रवेश गरिसकेको छ । पहिलो हाफको इन्ज्युरी समयमा बिशन गुरुङको कर्नर प्रहारमा त्रिदेवले पेनल्टि क्षेत्रबाट हेडर गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि दबाबमा परेको झापाले थप दुई गोल खान पुग्यो ।

६२ औं मिनेटमा रवि थापाले लङ रेञ्जबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । यस्तै खेलको इन्ज्युरी समयमा पेनल्टि क्षेत्रमा पेड्रिकको पासमा बिशन गुरुङले गोल गर्दै टिमलाई ३–शुन्यको सहज जित दिलाउँदै फाईनलमा प्रबेश गराएका हुन् । झापाले अन्तिम समयसम्म खेलमा फर्कन कोशिष गरेपनि सफल हुन सकेन । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा झापा सेमिफाईनलबाटै बाहिरन बाध्य बन्यो । प्रतियोगितामा हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी म्यान अफ दि म्याच घोषित भए उनले नगद १० हजार रुपैंयाँ पाए ।

खेलको १५ औं मिनेटमा झापाका योगेश गुरुङले पेनल्टि क्षेत्रबाट प्रहार गरेको बललाई गोलरक्षक किशोर गिरीले मुस्किलले बचाएका थिए । हिमालयन शेर्पाले नेप्लिज फूटबल एकाडेमि हङकङ र साविक विजेता थ्रीस्टार क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । झापाले पहिलो संस्करणको विजेता विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई रोक्दै सेमिफाइनल प्रवेश गरेको हो । हिमालयन शेर्पा क्लब र मेची नेत्रालय दुवै माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागी टिम हुन् । गत २६ फागुनदेखि संचालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता थियो  ।

पूर्वी पहाडी क्षेत्रकै सर्वाधिक धनराशी मानिएको प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन । त्यस्तै उत्कृष्ठ खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको फाईनल खेल आउँदो मंगलबार अर्थात चैत्र ५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्