साफ च्याम्पियनसिपः नेपालले सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने



सरोज यादव, विराटनगर ।
विराटनगरको सहिद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह बीको अन्तिम खेलमा श्रीलंकालाई ५-० को गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेपछि नेपालले श्रीलंका सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो ।

समूह बी मा श्रीलंका भने उपविजेता रहृयो । नेपाल समूह एको विजेता हो । भारतले अब सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरको शहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि पूरै दबावमा राख्यो । उसले चौथो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । सन्जुले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ग्रेस दङमीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तीन मिनेटपछि भारतले अर्को गोल र्गयो ।

सन्जुले निकालेको पासमा सन्धिया रंगनाथनले गोल गरिन् । भारतले निकै राम्रो गोल गर्ने अवसर निकाल्दा श्रीलंकाले भने कुनै मुभ नै बनाउन सकेन । खेलको ३६औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३—० गोलको अग्रता दिलाइन् ।

४५औं मिनेटमा संगिता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् । सन्जुले प्रहार गरेको बल श्रीलंकाकी डिफेन्डर रुसानी गुनावर्दनेले डिबक्सभित्र हृयाण्ड गरेपछि भारतले पेनाल्टी पाएको थियो । पहिलो हाफमै चार गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ४७औं मिनेटमा रतनबाला देवी नोङमाइथेनले गोल गर्दै भारतलाई ५-० अग्रता दिलाइन् ।

उनले सन्धियाको पासमा गोल गरेकी थिइन् । पहिलो हाफको तुलनामा दोस्रो हाफमा थोरै सुस्ताएको भारतले अन्तिम समयमा आक्रमक खेल खेलेको थियो तर गोल गर्न भने असफल रहृयो ।

यसअघिका खेलमा भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो भने श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो । खेलपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले भारत शक्तिशाली टिम भएकाले धेरै गोल अन्तरको पराजय भोग्नु परेको बताए ।

‘यस अघि मेहनत गरेकै कारण हामी सेमिफाइलनसम्म पुग्न सकेका थियौं,’ उनले भने, ‘भारत विरुद्धको खेलमा सुरुदेखिनै रक्षात्मक रुपमा उत्रने हाम्रो रणनीति सफल हुन सकेन ।’ प्रशिक्षक अल्पोन्सुले सन् २०१६ पछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका कारण पनि श्रीलंकाको टोलीसँग अनुभवको कमी रहेको स्वीकार गरे ।

‘आजको नतिजा हामीसँग अनुभव कम हुनुको कारक हो,’ उनले भने, ‘अब सेमिफाइनलमा भने नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने छौं ।’ जितपछि खुशी हुँदै भारतकी प्रशिक्षक मेमोल रोकीले ५ मिनेट भित्रमा गोल गरेर श्रीलंकालाई डोमिनेट गर्ने रणनीति सफल हुँदा फराकिलो अन्तरको जित निकाल्न सकिएको बताइन ।

‘रणनीति सफल हुँदा प्राप्त भएको नतिजाबाट म धेरै खुशी छु,’ उनले भनिन्, ‘अब बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धाको लागि तयारीमा लाग्छौं ।’ बंगलादेश बलियो टोली भएकाले पनि त्यो विरुद्धको योजना र तयारीमा लागेर सुखद् नतिजा निकाल्ने दावी उनले गरिन् ।

सेमिफाइनल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँगसोही दिन ३ बजे प्रतिस्पर्धा गर्दैछ । ६ राष्ट्र सहभागि प्रतियोगिताबाट दुवै खेलमा पराजित हुदै माल्दिभ्स र भुटान भने प्रतियोगिताबाट बाहिरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्