पर्यटक आगमनको लागि पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विरसहित)



प्रताप बानियाँ, म्याग्दी ।

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरिएको हो ।

निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले मनाइरहेको म्याग्दी भ्रमण वर्ष–२०७५ लाई सहयोग पु¥याउने उद्देश्यसहित पर्यटकीयस्थलको उजागर गर्नका लागि कार्यक्रम गरिएको लायन्स क्लब अफ बेनी पिस सिटीले जनाएको छ । कार्यक्रमको अवसरमा झाँक्रीपानीवासीलाई ‘म्याग्दी भ्रमण वर्ष–२०७५ सफल पारौं’ भन्ने नारा र लोगो अङ्कित टिसर्ट र टोपी वितरण गरिएको थियो ।

उनीहरुलाई लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्य र सचिव सुवर्ण रिजालले टिसर्ट तथा टोपी वितरण गरेका थिए । सोही क्रममा लायन्स क्लब अफ बेनी पिस सिटीको तर्फदेखि स्थानीय सुरक्षित मातृत्व आमा समूहलाई नगद ११ हजार एकसय ९० रुपैयाँ सहयोग गरिएको थियो । कार्यक्रममा आमा समूहले लालीगुराँसको फुल प्रयोग गरेर बनाएको माला, अबिर लगाएर लायन्स क्लबका पदाधिकारी र पत्रकारलाई स्वागत एवं सत्कार गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय युवा कलाधर कँडेलले बराङ्जालाई चिनाउनका लागि साविक बराङ्जा गाविसका ९ ओटै वडामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु समेटेर म्युजिक भिडियो बजारमा ल्याउन आवश्यक तयारी अगाडि बढाइएको जानकारी दिएका छन् । बराङ्जा सांस्कृतिक समूह गठन गरेर बजार ल्याउने तयारी गरिएको गीतको शब्द रचना कलाधर कँडेल आफैले गरेका छन्भने सङ्गीत दीपक शर्माले भरेका छन् । कार्यक्रममा गीत प्रस्तुत समेत गरिएको थियो भने स्थानीयवासिन्दाले झाँक्रीपानी क्षेत्रको पर्यटकीय सम्भावना, ऐतिहासिक महत्व र त्यहाँबाट देखिने दृश्यवलोकन तथा विकास निर्माणका विषयहरुमा जानकारी गराएका थिए ।

बराङ्जा भर्खरै–भर्खरै विकासको गतिमा अगाडि बढेको बताउँदै सांस्कृतिक सम्पदाको संरक्षण र गाउँमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ म्युजिक भिडियो निर्माणको थालनी गरिएको युवा कँडेलको भनाइ छ । म्याग्दी भ्रमण वर्षका अभियन्ता समेत रहेका लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष शाक्यले जिल्लामा रहेका ऐतिहासिक, पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्न भ्रमण वर्ष मनाइएको बताउँदै पर्यटकीयस्थलहरुको प्रचारप्रसारका साथै उजागर गर्न आवश्यक रहेकोमा जोड दिए ।

मंगला–४, का वडा अध्यक्ष ओमबहादुर रोका, जिल्लामा क्रियाशिल पत्रकार र लायन्सका पदाधिकारीहरुले सहभागिता जनाएको कार्यक्रम स्थानीय पत्रकार केपी सापकोटाले सञ्चालन गरेका थिए । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित गूर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरी, माछापुच्छे«लगायत मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । झाँक्रीपानीको वनजङ्गलमा फागुनदेखि बैशाखसम्म ढकमक्क फुलेको लालीगुराँसको पनि अवलोकन गर्न पाइन्छ ।

यसअघि मंगला–१, कुहुँस्थित पर्यटकीय क्षेत्र टोड्के, बेनी नगरपालिका–३, भकिम्लीको स्वर्गाश्रम र बेलढुङ्गा तथा रघुगंगा गाउँपालिका–३, राखुभगवतीको रुईसे–भेडीओढारमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्