महिला साफ च्याम्पियनसिप: भारत र श्रीलंका भिड्दै



विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार (आज) भारत र श्रीलंका आमने–सामने हुँदैछन् ।

यो प्रतियोगिताको समूह चरणको अन्तिम खेल हो । यसअघि भारतले माल्दिभ्सलाई शून्यका विरुद्ध ६ गोलले पराजित गरेको थियो भने, श्रीलंकाले माल्दिभ्सलाई नै शून्यका विरुद्ध २ गोलले पराजित गरेको थियो । समूह बीबाट माल्दिभ्स बाहिरिसकेको छ ।

आजको खेलमा जित र हारले कुनै पनि टिमलाई सेमिफाइनलमा पुग्न रोकिने छैन । दुवै टोली आपसमा दबाबमा नरहेपनि समूह बिजेता बन्ने यो अवसर हो । भारत दक्षिण एसियाकै दरिलो टोलीको रुपमा मानिन्छ । श्रीलंका पनि भारतलाई सकेसम्म गोल गर्न नदिने र बराबरीमा रोक्ने प्रयासमा हुनेछ ।

यस्तै समूह ‘ए बाट नेपाल बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने सोही समूहबाट उपविजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले आउँदो बुधबार समूह ‘बि को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बि को बिजेतासँग समूह ‘ए को उपविजेता बंगलादेशले सोही दिन प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा भारत बिजेता बने नेपालले सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलको पहिलो खेल बुधबार बिहान ११ बजे र दोस्रो खेल सोही दिन ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्