कुकुरले मार्याे सय बढी चित्तल



हेटौंडा ।
फोहर डम्पिङसाइड राप्तीनदी हेटौंडामा शुक्रबार विहान करिब ४ वर्षको भाले चित्तल कुकुरको आक्रमणबाट मृत अवस्थामा भेटिएको छ ।
चित्तल संरक्षणका लागि सम्बन्धित सरोकारवालाको समयमै ध्यान नजाँदा उक्त क्षेत्रमा हालसम्म करिब १ सय भन्दा बढी चित्तल यसरी नै मरिसकेको स्थानीयले बताएका छन् । गत वर्ष कुकुरले चार दिनमा चार वटा चित्तल मारेपछि हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित डम्पिङसाइड क्षेत्रका कुकुर मार्ने अभियान सुरु गरेको थियो ।

चैत १६, १८ र २० गते चित्तल मृत अवस्थामा भेटिएपछि नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको थियो । चैत १६ गते करिब एक वर्ष उमेरको एउटा भाले र एउटा पोथी, १८ गते करिब चार वर्ष उमेरको एउटा भाले र २० गते पाँच वर्ष उमेरको एउटा भाले चित्तल त्यस क्षेत्रका भुस्याहा (सामुदायिक) कुकुरले मारेपछि नगरपालिका, जिल्ला बन, स्थानीय सामुदायिक बन तथा सरोकारवाला बाध्य भएर उक्त क्षेत्रमा कुकर मार्ने अभियान सञ्चालन गरेका हुन् ।

हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानद्वारा संरक्षित बनका चार वटा चित्तललाई आक्रमण गरी मार्ने कुकुरहरुलाई खोजीखोजी मार्ने अभियान नगरपालिकाले सुरु गरेको थियो । यसअन्तर्गत् केही कुकुरलाई नगरपालिकाले विषादी खुवाएर मारेको थियो ।

सेनेटरी पार्क क्षेत्रमा स्थापित डम्पिङसाइडमा दुबो खान आएका चित्तललाई लखेटी त्यस क्षेत्रका कुकुरले मारेपछि भुस्याहा कुकुर मार्ने अभियान सञ्चालन गरिएको थियो । सुक्खा मौसममा बनक्षेत्रमा चित्तलको आहारमा कमी आउँदा उनीहरु आहारको खोजीमा हाल हरियालीयुक्त डम्पिङ साइडमा आउने गरेका छन् । डम्पिङसाइडमा चित्तल घाँस खान आउने र कुकुर हड्डी खान आउने गरेका छन् । सोही क्रममा कुकुरले चित्तललाई लखेट्दा चित्तल भाग्ने क्रममा तारबारमा अड्किने गरेको र कुकुरले त्यहीबेला आक्रमण गरी मार्ने गरेको फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्