भाग्यमानीका जन्मदिन



जन्मोत्सव मनाउने आ–आफ्नै तरिका हुन्छन्। कोही आफ्ना प्रिय पात्रलाई लिएर घुम्छन्, डुल्छन्। कोही मठमन्दिरमा जान्छन्, कोही चर्च, गुम्बा वा मस्जिद आदिमा जान्छन्। आफू अहिलेसम्म भगवान्को कृपाले बाँचेको भन्दै आफ्नो दीर्घायुको कामना गर्छन्।

यस्तै धरहराले एउटा बेग्लै किसिमको जन्मोत्सव मनाएको देखेको छ। प्रसंग हो यूएस–बाङ्ला दुर्घटनाको एक वर्ष। मंगलबार यूएस–बाङ्ला एयरवेज जहाज दुर्घटनामा ज्यान गुमाउनेको परिवारका निम्ति शोकको दिन हो। तर, त्यस दुर्घटनामा बाँचेकाहरूले भने सामूहिकरूपमा जन्मोत्सव मनाएका छन्।

त्यही दुर्घटनामा सकुशल बाँचेका २० जना भाग्यमानीका निम्ति भने यो नयाँ जीवन पाएको दिनका रूपमा सदा स्मरणीय रहनेछ भन्ने धरहराले कामना गरेको छ। केही दिन पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाउनुपर्यो। मर्ने मरेर गए पनि बाँच्नेले त दिन बिताउनै पर्छ, मृत्युको मुखमा परेकालाई हार्दिक श्रद्धाञ्जलि। बाँचेकालाई धरहराको शुभकामना।

प्रतिक्रिया दिनुहोस्