अध्यक्षले सहकारीको १३ लाख हिनामिना गरेको आरोप



बुद्ध नेपाली, सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा रहेको कमला कृषि सहकारी संस्थामा आर्थिक अनियमितता भएको आरोप छ। संस्थाका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद ढुङ्गेलले संस्थाको १३ लाख रकम हिनामिना गरेको संस्थाको वर्तमान कार्यसमितिले आरोप लगाएको हो। सुलभ मूल्यमा मल बिउ वितरण गर्नुपर्नेमा निवर्तमान अध्यक्ष ढुंगेलले मनोमानी तरिकाले संस्था सञ्चालन गरेको वर्तमान कार्य समितिले जनाएको छ।

मल बिउ र संस्थाले बनाएको सटरको भाडाको रकम संस्थाको खातामा जम्मा नगरेको, कुनै पनि बिल भरपाई नदेखिएको, लेजर खातामा वार्षिक आयव्यय नराखेको र संस्थाको हरहिसाब प्रगति प्रतिवेदन मौखिक आधारमा सञ्चालन गरिरहेको पाइएको वर्तमान कार्यसमितिको दाबी छ। निवर्तमान अध्यक्ष इन्द्रप्रसाद ढुंगेलको कार्यसमितिलाई विघटन गरी अहिले संस्थाको साधारणसभाबाट धनेन्द्रबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिको छ। कार्कीको अध्यक्षमा रहेको नयाँ कार्यसमितिले खेती किसानले संस्थामा जम्मा गरेको रकम हिनामिना गरेको आरोप लगाएको छ।

निवर्तमान अध्यक्ष ढुंगेलको पालामा संस्थाको प्रगति र आर्थिक प्रतिवेदनको लेखा परीक्षणसमेत नगरेको कमलामाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष देवराज पौडेलले बताउनुभयो। संस्थाको वर्तमान कार्यसमितिले आर्थिक अनियमितता गर्ने निवर्तमान अध्यक्ष ढुंगेलमाथि छानविन गरी अनियमितता भएको रकम असुल गर्नको लागी कमलामाई नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको संस्थाका अध्यक्ष धनेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्