मध्यमस्र्याङ्दीको विद्युत् उत्पादनमा ह्रास



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा सञ्चालित मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादन हुने विद्युत्मा ह्रास आएको छ। नदीमा पानीको बहाव कम भएसँगै केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत्मा ह्रास आएको हो।

वर्षाको समय टर्वाइन खुल्ला छोड्दा ७२ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक ३१ मेगावाट मात्रै उत्पादन हुने गरेको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताउनुभयो। उहाँका अनुसार उक्त जलविद्युत् केन्द्रमा राति र दिउँसो एउटा टर्वाइन बन्द गरी एउटा टर्वाइन (३५ मेगावाट) मात्रै सञ्चालन गर्ने गरिएको छ।

दिउँसो २ देखि ३ घण्टा र राति ३ देखि ४ घण्टाको समय एउटा मात्रै टर्वाइन सञ्चालन गरी पानी सञ्चित गर्न थालिएको गौतमले बताउनु भयो। उहाँका अनुसार गत कार्तिक २० गतेबाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत् जलविद्युत् उत्पादनमा प्रयोग गर्ने गरिएको छ।

गत वर्षको हिउँदको तुलनामा यसपटकको उत्पादन अझ घट्न सक्ने स्थिति बनेको गौतम बताउनु हुन्छ। ‘छिटो नदी सुकेपछि बिजुली उत्पादन विगतको भन्दा सानो हुने सम्भावना छ,’ उहाँले भन्नुभयो। ‘गएको वर्ष औसत २७ मेगावाटसम्म थियो। यो वर्ष झन् घट्ने देखिएको छ।’

विहान ६ बजेदेखि साढे ७ बजेसम्म र साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म पूरा उत्पादन गर्ने गरिएको गौतमको भनाइ छ। उहाँका अनुसार दुईवटा टर्वाइन रहेकोमा राति ११ बजेदेखि ४ बजेसम्म र दिउँसो १० बजेदेखि ४ बजेसम्म पालैपालो बन्द गर्ने गरिन्छ। कहिलेकाहिँ राति दुवै टर्वाइन बन्द हुने उहाँले जानकारी दिनुभयो। अर्ध जलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको जलविद्युत् केन्द्रमा उत्पादन बन्द हुँदा पानीलाई जलाशयमा राख्ने गरिएको छ।
दिनहँु विद्युत्को उच्च माग हुने समय साँझ तीन घण्टा र बिहान डेढ घण्टा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन गर्ने गरिएको गौतमले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्