न्युजिल्यान्डका दुई मस्जिदमा भीषण गोलाबारी, ४९ मारिए, आक्रमणकारी अस्ट्रेलियाली नागरिक



Ambulance staff take a man from outside a mosque in central Christchurch, New Zealand, Friday, March 15, 2019. (AP Photo/Mark Baker)

क्राइस्ट चर्च, (एजेन्सी)
न्युजिल्यान्डको शहर क्राइस्ट चर्चको दुई मस्जिदमा शुक्रबार भएको गोलाबारीमा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ। उक्त हमलामा २० भन्दा बढी घाइते भएको बताइएको छ। न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’ को संज्ञा दिएको छ।

सरकारले त्यहाँको सबै मस्जिदलाई ढोका बन्द राख्न भनेको छ। त्यसै गरी क्राइस्ट चर्चका सरकारी कार्यालय तथा स्कुल पनि बन्द गरिएका छन्। शुक्रबारको दिन जुमेको नमाजका लागि मस्जिदमा करिब ३ सय देखि ४ सय जना जम्मा हुने गरेको र यो हमला भीड जम्मा भइसकेको बेला भएको भए मर्नेको संख्या अझ बढ्न सक्ने त्यस क्षेत्रमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका थमस साजीले बताए।

नुर मस्जिदमा मात्रै ४१ र अर्को लिनवुड मस्जिदमा ७ जना मारिएका बताइएको छ। एक जना घाइतेको अस्पतालमा मृत्यु भएको अधिकारीले बताएका छन्। उक्त घटनामा ४ जना संदिग्धलाई हिरासतमा लिइसकेको र त्यसमा तीन पुरुष र एक महिला भएको प्रहरीले जानकारी दिएका छन्। ती बाहेक अन्य पनि संदिग्ध हुन सक्छ भन्ने आफूलाई नलागेको तर अनुसन्धान अझै खुला नै रहेको प्रहरीले बताए।

ती मध्ये २८ वर्षका एक पुरुषलाई हत्याको अभियोग लगाइएको र उनलाई क्राइस्ट चर्च अदालतमा शनिबार बिहान उपस्थित गराइने प्रहरीले जानकारी दिए। आक्रमणकारीमध्येका एक जनाले एक सामाजिक सन्जालमा आक्रमणअगाडि एक घोषणापत्र पोस्ट गरिका थिए। ८७ पृष्ठको उक्त घोषणापत्र आप्रवासीविरोधी, मुस्लिम सोचविरोधी र आक्रमणको विषयमा स्पष्टीकरणले भरिएको थियो। उक्त दस्तावेजमा हस्ताक्षेर भने गरिएको थिएन।
प्रमले भनिन् ः कालो दिन

प्रधानमन्त्री अर्डनले घटनालाई लिएर गरेको सम्बोधनमा उक्त हमलालाई आतंकवादी हमलाको संज्ञा दिँदै देशका लागि ‘कालो दिन’ भएको बताएकी छिन्। १ महिलासहित ४ जनालाई गिरफ्तार गरिसकेको पनि उनले बताइन्। प्रधानमन्त्रीले भनिन्– ‘क्राइस्ट चर्च यी पीडितहरूको घर थियो। तीमध्ये धैरको यहाँ जन्म नभएको होला। कैयौंका लागि न्युजिल्यान्ड उनीहरूको मनपर्ने देश थियो।

फेसबुकमा लाइभ स्ट्रिमिङ

आक्रमणकारीले फेसबुक र आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त घटनाको लाइभ स्ट्रिमिङ गरेका थिए। प्रार्थना गर्न बसेकाहरूलाई गोली हान्दै गरेको दृष्य १७ मिनेटसम्म फेसबुकमा लाइभ गरेका थिए। अत्याधुनिक हतियारसहितको गाडी चलाउने बेला उनले भनेका थिए– ‘जाउँ, अब पार्टी शुरू गरौं।’ त्यसपछि उनी सेन्ट्रल क्राइस्ट चर्चको अल नुर मस्जिदतर्फ बढेका थिए। फेसबुक लाइभमा उनले गाडीमा भएका हतियार पनि देखाएका थिए। एक स्थानमा ओर्लेर उनले भुइँमा गोली बर्साए। गाडीमा सर्बियन म्युजिक बजिरहेको थियो। उनले स्याटलाइट नेविगेसनको माध्यमबाट गाडी मोडिरहेका थिए, जसले उनलाई कहिले कहाँ मोड्नुपर्ने हो बताइरहेको थियो। त्यसपछि सामाजिक सन्जालहरूमा उक्त घटनाको भिडियो प्रसारित हुन थाले। उनले आफूलाई साधारण श्वेत व्यक्ति भएको बताएका थिए।

फेसबुक र ट्विटमा उसले आक्रमणको फेसबुक र इन्स्टाग्राम अकाउन्टबाट ती भिडियो हटाइसकेको जनाएको छ। साथै उक्त अपराध र हत्याराको प्रशंसा गर्नेहरूको भिडियो पनि हटाइरहेको फेसबुकले जनाएको छ। फेसबुक न्युजिल्यान्डका मिया गालिकले घटनाको जाँच जारी रहेकाले उनको संस्थाले न्युजिल्यान्ड प्रहरीसँग मिलेर काम गर्ने ट्विट गरेका छन्।

अस्ट्रेलियाली नागरिक भएको पुष्टि

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले आक्रमणकारी एक २८ वर्षीय अस्ट्रेलियाली नागरिक भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीलाई ‘अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन्। उनले भने– ‘यो घटनाले हामीलाई के बताउँछ भने खराब मान्छे सधैं हाम्रै माझमा हुन्छ र उनीहरू कुनै पनि बेला यसप्रकारका हमला गर्न सक्छन्।’ न्युजिल्यान्डको भ्रमणमा रहेका बंगलादेशको क्रिकेट टोलीका खेलाडीहरूले ट्विटरमा उनीहरू गोलबारीमा सुरक्षित बच्न सफल भएको जानकारी दिएका छन्। उक्त घटनाका कारण टोलीले न्युजिल्यान्डको यात्रा रद्द गरेको छ।

प्रहरी कमिस्नर माइक बुसले चार जनालाई हिरासतमा लिएको जानकारी दिँदै भने– ‘कैयौं आईडी बरामद गरिएको छ। यो अत्यन्तै सुनियोजित हमला हो। यसमा आक्रमणकारीले भारी हतियारको प्रयोग गरेका छन्। यदि कुनै पनि व्यक्ति आज मस्जिद जान लागेको हो भने हाम्रो अपिल छ, आज नजानुहोस्। हामीले नभनेसम्म घरमै ढोका बन्द राख्नुस्।’

डबलिन विमानस्थल प्रशासनले आक्रमणका कारण डबलिन र क्राइस्ट चर्चबीचको सबै उडान रद्द गरिएको जानकारी दिएको छ। क्राइस्ट चर्चकी मेयर लियानेर डेलजिएरले घटनालाई लिएर भनेकी छिन्– ‘स्कुलमा रहेका बच्चाहरू सबै पूर्ण सुरक्षित छन्। यो परिस्थितिमा शान्त रहन र आफ्ना मित्र र परिवारसँग कुरा गर्न अत्यन्त आवश्यक छ। यो अत्यन्त भयानक घटना हो। हामी सबै मिलेर यो स्थितिको सामना गर्नुपर्छ।

एक प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई गोलाबारीपछि उनी ज्यान बचाउन भागेको बताए। उनले अल नुर मस्जिदमा रगतमा लुटपुटिएका कैयौंलाई जमिनमा ढलेको देखेको बताएका थिए। प्रहरीले प्रभावित इलाकामा नआउन चेतावनी जारी गरेको छ। अर्का प्रत्यक्षदर्शी मोहन इब्राहिमले न्युजिल्यान्ड हेराल्डलाई भने– ‘शुरूमा हामीलाई सर्ट सर्किट हो कि भन्ने लागेको थियो। पछि सबै भाग्न थाले। मेरा कैयौं साथी अहिले पनि मस्जिदभित्रै छन्।’
मैले मेला साथीलाई फोन गरिरहेको छु तर उनीहरूमध्ये कैयौंले जवाफ दिएका छैनन्। म साथीहरूलाई लिएर चिन्तित छु।’अल नुर मस्जिद क्राइस्ट चर्च डिन एवेन्युमा हेगली पार्कको अगाडि पर्छ। प्रहरीले शहरको क्याथेड्रल स्क्वायर पनि खालि गराएका थिए। त्यहाँ हजारौं बच्चा जलवायु परिवर्तनको मुद्दामा र्याली गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्