सुकुम्बासी बस्तीमा आगलागी: चार घरगोठ जलेर नष्ट, स्कुले बालबालिकाको परीक्षा प्रभावित



सीताराम चौधरी, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासामा आगलागी हुँदा ४ घरगोठ जलेर नष्ट भएका छन्। दिउँसो २ बजेको समयमा प्रदीप नेपालीको घरबाट आगो लागेको हो। आगलागीबाट प्रदीप नेपालीसहित रमेश नेपाली, धनबहादुर नेपाली र पूर्णबहादुर नेपालीको घरगोठ सम्पूर्ण खरानीमा परिणत भएको छ।

घरभित्रका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, नगद, बालबालिकाको शैक्षिक सामग्रीसमेत जलेर नष्ट भएको स्थानीय सुनिल घिमिरेले जानकारी दिएका छन्। आगोमा परी प्रदीप नेपालीको गोठमा रहेको बाख्राको पाठो मरेको बताइएको छ।

दिउँसो अलि वेगले हावा चलेकाले आगो नियन्त्रणमा ल्याउनसमेत धौधौ बनेको थियो। आगो नियन्त्रणका लागि जनपद, सशस्त्र, ट्राफिक प्रहरी र स्थानीयबासी खटिएका थिए भने विभिन्न स्थानबाट दमकल ल्याई आगो निभाउने काम भएको थियो। दिउँसो दुई बजे लागेको आगो साँझ पौने ६ बजे नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए। आगलागीबाट करिब ५ लाखको क्षति भएकोे प्रारम्भिक आकलन गरिएको प्रहरी निरीक्षक उपाध्यायले जनाए।

आगलागीबाट अहिले चार घरपरिवारका १७ जना सदस्य खुला आकाशमुनि बस्न बाध्य बनेका छन्। स्थानीय जागृति आधारभूत विद्यालयमा अध्ययनरत ३ जना बालबालिकाको वार्षिक परीक्षासमेत प्रभावित बनेको छ। उनीहरूको किताब कापीसमेत जलेपछि आइतबारको परीक्षाको तयारी गर्नसमेत नपाएको परिवारले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्