शिव–पार्वतीको दिगम्बरी स्नान



पतञ्जलि–२५ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

जलक्रीडा गर्दा कसैले देख्ला कि भनेर पार्वतीलाई असाध्यै लाज लागेको देखेर शिवजीले भन्नुभयो–

‘कसले देख्छ र तिमीलाई यहाँ लाटी ⁄ कसैले नदेखोस् भनेर त वरुणले यत्रो बाक्लो कुहिरोको गगनचुम्बी पर्खाल नै ठड्याइदिएका छन्। अघि भर्खर तिमीले सँगै हिँडेको मलाई पनि नदेखेर कराएकी होइनौ ?’

‘हो त्यो त।’ महादेवीले भन्नुभयो।
के लक्ष्मी ⁄ के पार्वती ⁄ देउतादेखि साधारण मानिससम्म पनि आइमाईको एउटै स्वभाव हुन्छ। नयाँ लुगा भनेपछि स्त्रीजातिलाई मन थाम्न गाह्रै पर्छ। पार्वतीले त्यहाँ आफूलाई नुहाउँदा फेर्ने र नुहाएपछि पनि फेर्ने कपडाहरू एक–एक गरेर हेर्नुभयो। सबै कपडा उहाँलाई मन परे।
‘ल अब एकछिन् उता फर्किनुस् ⁄’ पार्वतीले शिवजीलाई भन्नुभयो।
‘किन र ?’ शिवजीले सोध्नुभयो।
‘म अब लुगा फेर्छु।’ पार्वतीले भन्नुभयो।
‘फेर न लुगा ⁄ म किन उता फर्कनुपर्यो ?’
‘किन परेन त ? आफूलाई लाज लाग्दैन ?’
‘ल ल फर्कें–फर्कें। तिमी फेर लुगा….।’ यति भन्दै भगवान् शिवले एकछिन् आफ्नो शिर अर्कातिर फर्काउनुभयो। पार्वतीले लगाएको लुगा फुकालेर स्नान–लिवास फेर्नुभयो।
‘हजुरलाई खोइ त ⁄ हजुरलाई फेर्ने लुगा छैन ?’ अलि लाज मानेजस्तो गरी पार्वतीले सोध्नुभयो।
‘मलाई किन चाहियो लुगा–सुगा ⁄ म दिगम्बर हुँ भन्ने तिमीलाई थाहा छैन ? बरु आज हामी यहाँको शान्त एकान्त वातावरणमा दिगम्बरी स्नान गरौं न ⁄ हँुदैन ?’
‘छि ⁄ कति पात्तिएको हजुर त ?’ पार्वतीले महादेवतिर हेरेर भन्नुभयो।
‘मैले ठट्टा मात्र पो गरेको ⁄ ऊ क्या त ⁄ त्यहाँ हेर न ? उतातिर मलाई पनि फेर्ने लुगा राखिदिएको छ।’ महादेवले अलिक पर आफ्नो निमित्त राखिदिएका कौपीन रुमाल आदितिर औंलाले संकेत गर्नुभयो।
एकछिन् संवादको क्रम यसै गरी चलिरह्यो। शिवजी पार्वतीनिर पुगेर उहाँलाई जुरुक्क उचाल्दै दुवै हातले पाखुरामा बसालेर रह (दह)मा पसिहाल्नुभयो। वरुणको प्रभावले त्यहाँको वातावरण मात्र सुरम्य होइन, तालको जलसमेत शीत–ताप नियन्त्रित थियो। त्यहाँ चिदम्बर भगवान् शङ्करको महादेवी पार्वतीका साथ धेरै समयसम्म दिगम्बरी स्नान भयो।
क्रमशः

प्रतिक्रिया दिनुहोस्