नेपालभाषाकी सक्षम कवयित्री



मोहन दुवाल

प्रतिसरा सायमी अर्थात् प्रतिसरा मानन्धर। भक्तपुर, क्वाठण्डो टोलमा जन्मेर काठमाडौंमा कर्म पाएकी यिनी कवितामा विम्ब खोप्न सिपालु छिन्। नेपालभाषा कविता जगत्मा आफ्नो नाउँ बनाउन सफल यिनी कवितामा शैली खोपेर साँच्चिकै कविता लेख्न सक्षम छिन्। वि.सं. २०१२ असार १६ गते पिता स्व. शम्भुमान मानन्धर (काका भाइ) र माता बसुन्धरा मानन्धरकी छोरी भई जन्मेकी यिनी भक्तपुरको माटोबाट उठेकी र सम्प्रेषित भएकी एक चर्चित कवयित्री हुन्।

हाल यिनी दीपक मानन्धरकी प्रिया भएर छोरी उपाली र छोरा क्षितिजका प्रिय आमा बन्न पाएकी छिन्। एम.ए. नेपालभाषामा शिक्षा प्राप्त गर्न सफल यिनी मातृभाषाप्रति गलत दृष्टिकोण राख्ने मिचाहा प्रवृत्तिदेखि आहत भई यसप्रति सजग रहन सिक्दासिक्दै र गुरु कवि पूर्ण वैद्यको साहित्य लेखनबाट प्रभावित भई साहित्य लेखनको थालनी गर्न सिकेकी हुन्। वि.सं. २०२८ देखि स्तरीय लेखनमा लाग्न खोजेकी यिनका ‘हिस्याइपिन्त’ नेपालभाषामा लेखिएको कविता पहिलोचोटि प्रकाशित भएको कविता हो। वि.सं. २०४२ मा प्रकाशित ‘जि छकू नालिस भोँ’ (कवितासङ्ग्रह) बाट नेपालभाषा कविता क्षेत्रमा देखा परेकी यिनी यसै कवितासङ्ग्रहबाट विशेष चर्चामा आएकी पनि हुन्।

मानन्धरहरूकै बस्तीमा जाँगर र उत्साह थप्दै सिर्जनामा सक्रिय हुन आएकी यिनले केन्द्रीय मानन्धर संघ वार्षिक स्मारिकाको र मानन्धर टेलिफोन डाइरेक्टरी २०५४ को सम्पादन गर्न भ्याएकी छिन्। महेन्द्र विद्याभूषण (नेपालभाषा) २०४५, चैन लाकौल पुरस्कार २०४५, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३ र दीपा–जनमत पुरस्कार (नेपालभाषा कविताका लागि २०५५ बनेपा) बाट सम्मानित भइसकेकी यिनी भारत, श्रीलङ्का, थाइल्यान्ड, सिंगापुर, हङकङ, जापान, अमेरिका, बंगलादेश, बेलायत, संयुक्त अरब इमिरेट्सलगायत थुप्रै राष्ट्रहरू घुम्न पाएकी छिन्। शाही नेपाल वायुसेवा निगममा २०३२ सालदेखि कार्यरत यिनी केन्द्रीय मानन्धर संघ र गंकी बसुन्धरा प्रतिष्ठानमा संलग्न रही सेवामा सक्रिय छिन्।

कवयित्री प्रतिसरा साहित्यको परिभाषामा आफ्नो विचार यसरी पोख्न मन पराउँछिन्– साहित्य त्यो दियो हो जसले संकुचनको अँध्यारो हटाउने प्रयास गर्छ तथा मानवको संवेदना अभिवृद्धि गर्नमा मद्दत गर्छ। कविता यस्तै भावनामा लेख्न मन पराउने यिनी तनावरहित एवं स्वस्थ रही आफूले जानेको अरूलाई सिकाउने दृष्टि नै आफ्नो जीवनप्रतिको दृष्टि रहेको बताउने गर्छिन्। भविष्यमा पनि लेखिका बन्ने, भविष्यमा पनि कविता लेख्ने यिनको चाहना भविष्यको इच्छामा यसरी स्फूरित गरेकी छिन्– आफ्नो प्रतिभाको बलले मस्तिष्कमा उब्जेको अनुभूतिलाई उर्बरता दिन निरन्तर प्रयासरत लेखिका बन्ने।

प्रतिसरा यस्तै भावनामा जीवन र जगत् खोज्दै छिन्। कवितामा आफूलाई समर्पित तुल्याएर, भावनामा साहित्यलाई जीवन्त आत्मसात् गरेर सधैँ–सधैँ फुर्सदमा, मनको मनोहारितामा साहित्यलाई फुर्कन लगाएर कवितामा आफूूलाई खोज्न सफल कवयित्री हुन्– प्रतिसरा सायमी। प्रतिसरा कवितामा भावना व्यक्त गर्न सिपालु छिन्, त्यस्तै कवितामा कवित्वका मर्महरू पोख्न सक्षम छिन्। प्रतिसरा कविता विम्बमा, प्रतिसरा साहित्यिक बुँदमा उठ्न–उठाउन र सक्रिय रूपले कलम चलाउन सक्षम छिन्।

बौद्ध शिशु विद्यालय, गण विहारमा २०३०–२०३१ सालतिर एक वर्ष शिक्षिका बनेकी यिनी कविता लेख्न, गीत सिर्जना गर्न, उत्कृष्ट लेख–रचना अनुवाद गर्न, संस्मरण लेख्न सफल छिन्। यिनी सबैको मातृभाषाप्रति उदार दृष्टिकोण राख्ने एवं सामाजिक परिप्रेक्ष्यमा विशेष गरी नारी समस्याप्रति गहिरिएर प्रभाव पार्ने लेखकहरू मन पराउँछिन्। सबै खालका हलुका फिका रङ्गहरू मन पराउने यिनी साधारण नेपाली खाना खान मन पराउँछिन्। उद्घोषण कलामा आफ्नै खालको पहिचान देखाउन सफल यिनी कवितामा शैली खोप्न, विचार बाँड्न र विम्ब उत्सर्ग छर्न सिपालु छिन्।

प्रतिसराका कविताहरूमा आफ्नै मौलिकताका पदचिह्नहरू व्याप्त छन्। शोषणयुक्त समाजका विषमता र अन्यायका स्थिति व्यक्त गर्न सिपालु यिनी कवयित्रीले आफ्ना सबैजसो कविताहरूमा आफूलाई स्वार्थको टी.बी.बाट ग्रस्त संसारको जिउँदा मान्छेहरू पोल्ने डर लाग्दो दीपका रूपमा व्यक्त गर्न खोजेकी छिन्। नयाँ कवितामा अभिव्यक्ति पोख्न सफल कवयित्री प्रतिसरा कविता शब्दले बोल्दैनन् भन्न मन पराउँछिन्। उपमा, प्रतीक, विम्ब आदिका रूप भएर कविता बोल्न लगाउन सफल कवयित्री प्रतिसराले कविता आफ्नो युग सापेक्षतामा रङ्ग भएर आउँछ भन्छिन्। कवितामा उनी यसरी लेख्छिन् ः

संसार
पायण्डोराले खोलेको सन्दुक
त्यसैले यहाँ के मात्र छैन ? …
यहाँ अपराध गर्ने एउटा
सजाय पाउने अर्कोे।
त्यस्तै गरी कवितामा उनी लेख्छिन् ः
जीवन
एउटा चङ्गा हो,
माथि माथि उड्ने आकाङ्क्षाको
आयु एउटा काँचो धागो।
यस्तै विम्बमा कविता खोप्न सफल कवयित्री प्रतिसरा सायमी नेपालभाषा कविता क्षेत्रमा सक्रिय र सफल हुन सङ्घर्षरत छिन्।

प्रतिक्रिया दिनुहोस्