कालीराज, हेटौंडा आइडल



हेटौंडा, (नेस)। हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार मेलामा भएको हेटौंडा आइडल गायन प्रतिस्पर्धाको उपाधि दीपक कालीराजले चुमेका छन्। अन्तिम पाँच प्रतिस्पर्धीलाई पराजित गर्दै कालीराजले हेटौंडा आइडल उपाधि चुमेका हुन्। प्रतियोगितामा विजय लामा द्वितीय र सुसान शाही ठकुरी तृतीय भए।

आइडलमा प्रथम हुनेले नगद ३५ हजार रुपियाँ नगदसहित विभिन्न उपहार र पुरस्कार प्राप्त गरेका छन्। प्रथम हुनेलाई मेलाका स्टल सञ्चालकहरूले जिन्सी सामान पुरस्कार दिएका छन्। द्वितीय हुनेले नगद २५ हजार रुपियाँसहित विभिन्न उपहार र पुरस्कार प्राप्त गरेका छन्। फाइनलमा पुगेका भुवन घलान र सुसल तामाङले सान्त्वनामा चित्त बुझाउनुपरेको छ। सञ्चारकर्मीसमेत रहेका घलान आइडलमा दर्शकबाट सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धी हुन्। उनको सामाजिक सम्बन्ध बलियो थियो। कालीराज र सुसल विभिन्न राउन्डमा सिंगर अफ द डे हुन सफल भएका थिए।

२०५६ साल भदौ २ गते मकवानपुरको कैलाश गाउँपालिका–५, गोगनेमा देवकी र कृष्ण कालीराजका कान्छा छोराका रूपमा जन्मिएका दीपक सानैदेखि गीतसंगीतमा रुचि राख्थे। उनले विशेषरूपमा भने २०७० सालदेखि गायन क्षेत्रमा लाग्ने सोच बनाएका हुन्। मकवानपुरको उत्तरी क्षेत्रमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएका उनले उत्तरी क्षेत्रमा रहेको थाहा कलाकेन्द्रद्वारा आयोजित मकवानपुर आइडल गायन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए। प्रि अडिसनदेखि नै निर्णायकको मन जितेका कालीराजले आधुनिक, पप, फिल्मीलगायत गीत गाउँदै आएका छन्।

मकवानपुर आइडलमा फस्ट रनरअप घोषित भएलगत्तै आफ्नो सांगीतिक करियरका लागि उनी हेटौंडा प्रवेश गरेका थिए। उत्कृष्ट ६ सम्म पुगेकी पारु महरा बाहिरिएपछि केही प्रतिस्र्धीले भावुक हुँदै दमदाररूपमा आफ्नो प्रस्तुति प्रस्तुत गर्न सकेका थिएनन्। प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिएसँगै मकवानपुरे सञ्चारकर्मी महराले गायक संगीतकार शिखर सन्तोषको संगीतमा गीत गाउने अवसर प्राप्त गरेकी छिन्। उत्कृष्ट ६ सम्म पुगेकी उनी मंगलबार झिनो मतान्तरले फाइनलमा पुग्नबाट वञ्चित भएकी थिइन्। ‘शिखर सन्तोषको संगीतमा गीत गाउन पाउँदा धेरै खुसी छुु’ –महराले भनिन्। प्रतियोगितामा गायक तथा संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक थिए।

प्रतिक्रिया दिनुहोस्