२०७६ सालमा १५ दिन सार्वजनिक बिदा



मनोज रेग्मी, काठमाडौं
सरकारले आउँदो २०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने घोषणा गरेको छ। शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले देशैभर १५ दिन मात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ। जेठ महिनामा एक दिन मात्र ४ गते शनिबार सार्वजनिक बिदा दिइएको छ।

असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छैन। असोज ३ गते शुक्रबार संविधान दिवसका दिन सार्वजनिक बिदा दिइएको छ भने असोज १८ गते शनिबारदेखि २२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक बिदा दिइएको छ।

तिहारका लागि कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात् लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन बिदा घोषणा गरिएको छ। मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी कुनै पनि सार्वजनिक बिदा दिइएको छैन।

यस्तै फागुनमा ९ गते शुक्रबार महाशिवरात्री र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक बिदा दिइएको छ। फागु पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक बिदा दिइएको छ। चैत महिनामा भने कुनै पनि सार्वजनिक बिदा दिइएको छैन।

यस्तै सरकारले धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा विभिन्न जात्राका लागि ४ दिन बिदा दिएको छ। कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई, कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्मावलम्बीलाई बिदा र किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व (चण्डी पूर्णिमा)को दिन जेठ ४ गते शनिबार बिदा दिइएको छ।

यस्तै किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस)का दिन मंसिर २६ गते बिहीबार सार्वजनिक बिदाको घोषण गरिएको छ।

सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार र कात्तिक १६ गते शनिबार मधेसमा छठ पर्वको बिदा पनि दिएको छ। यस्तै इदको अवसरमा इदुल्ल फित्र र इदुल जोहाका दिन इस्लाम धर्मावलम्बीले बिदा पाउने भएका छन्। इसाई धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार बिदा हुने छ।

बिदाकै क्रममा गुरुङ समुदायलाई तमु ल्होसारमा पुस १५ गते मंगलबार र हिमाली आदिवासी शेर्पाहरूले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार बिदा पाउनेछन्। यस्तै तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा बिदा पाउनेछन्। माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई बिदा दिइएको छ।

त्यस्तै झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लामा मनाइने सिरुवा पावनी पर्वमा पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्