ओलीकै कारण एकता अनिर्णित



मधुसूदन रायमाझी, काठमाडौं
पाल कम्युनिस्ट पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई लिएर सकस भएको छ। शीर्ष तहमा देखिएको मतभेदका कारण सांगठनिक एकता प्रक्रिया दश महिना बितिसक्दा समेत टुंगो लाग्न सकेको छैन।
पार्टीभित्र नेता र कार्यकर्तामा निराशा छाउँदा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक एकताको ठोस सहमति जुट्न सकेको छैन।
सचिवालय, केन्द्रीय समिति र प्रदेश कमिटी गठन भए पनि बाँकी सांगठनिक काम अगाडि बढ्न सकेको छैन। सांगठनिक एकतालाई पूर्णता दिन सचिवालय र स्थानीय समितिबाट गठन भएको कार्यदल असफल भइसकेको छ। स्थानीय समितिबाट गठित कार्यदल भंग गरेर अध्यक्षद्वय ओली र प्रचण्डले नै बाँकी एकताको काम अगाडि बढाएका छन्। तर प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्यव्यस्तता र एकता प्रक्रिया लम्ब्याउँदै लैजाने रणनीतिका कारण पार्टीमा ठूलो निराशा आएको आरोप सचिवालयका नेताहरूले लगाएका छन्।
– सांगठनिक एकता निकै ढिलो भो ः खनाल
– पार्टी त ठूलो हो, तर पार्टी सुन्निएको हो कि मोटाएको हो पत्तो नै पाइएन
वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष ओलीकै कारण एकता प्रक्रियामा गम्भीर असर परेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एकताको काम अध्यक्ष ओलीकै कारण रोकिएको हो, एकताको चाहना र भावनाअनुसार काम हुन सकेको छैन, कार्यकर्तामा यति धेरै चिन्ता र निराशा छाउँदा पनि अझै गम्भीर बनेको देखिँदैन।’ पार्टीको निर्णय र अध्यक्ष ओलीको कार्यशैली नमिलेको बताउँदै वरिष्ठ नेता खनालले कार्यशैली सच्याउनुपर्ने बताउनुभयो।
अध्यक्षद्वय ओली र प्रचण्डबीच सांगठनिक एकताको बाँकी काम टुंगो लगाउन छलफल भए पनि सहमति जुट्न सकेको छैन।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको भावनाअनुसार मात्र पार्टी एकता टुंगो लगाउने दबाब दिँदै आउनुभएको छ। पार्टीभित्र अध्यक्ष ओली र प्रचण्डले चाहेर मात्र निर्णय हुन सक्ने अवस्था छैन। प्रदेश कमिटीको टुंगो लागेसँगै असन्तुष्ट बन्दै आएका नेता नेपाललाई मनाएर अगाडि बढ्ने नीति अध्यक्षद्वय ओली र प्रचण्डले लिएका छन्।
पार्टीको सांगठनिक एकता प्रक्रियालाई पूर्णता दिन ध्यान नदिँदा अध्यक्ष ओलीले ८ लाख कार्यकतालाई अनिर्णयको बन्दी बनाएको एक स्थायी समितिका सदस्यले बताए। ती स्थायी सदस्यले भने– ‘पार्टी त ठूलो हो, तर पार्टी सुन्निएको हो कि मोटाएको हो पत्तो नै पाइएन।’ समयमा नै एकीकरणको बाँकी काम सम्पन्न नहुँदा विप्लव समूहले चलखेल गर्ने मौका पाएको समेत नेकपाभित्र चर्चा शुरू भएको छ।
सरकारले सीके राउतसँग गरेको सहमति र विप्लव समूहलाई लगाएको प्रतिबन्धप्रति पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। सीके राउतसँग सहमति गरेर विप्लव समूहलाई प्रतिबन्ध लगाउने हतारोको निर्णय भएको नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताउनुभयो। तर वरिष्ठ नेता खनालले भने आपराधिक संगठन भएकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सही भएको दाबी गर्नुभयो।
सांगठनिक एकताको बाँकी सम्पन्न गर्न सचिवालयको बैठक बोलाउन अध्यक्ष ओलीलाई दबाब रहे पनि सचिवालय बैठकको मिति तय हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्