२१औं सताब्दीमा राज्य दर्शनशास्त्र माथिको बदलिँदो अवधारणा



सत्यराज जोशी

रुखको जरा बलियो भए पो यस्ले थेग्ने माटो (भुमि) बलियो हुन्छ। यदि जरा नै बलियो छैन भने त्यो रुखले फल त के शितलता पनि दिदैन। उसै परे सानो झरिले नै ठुलो बिनास निम्त्याउने “स्वसिद्ध कारकतत्त्व” पो बन्न सक्छ। राज्य चरित्रले बोक्नुपर्ने दर्शनशास्त्र र प्रकृतीको धान्ने क्षमताको अन्तरक्रिया, सहसम्बन्ध, सहअस्तित्व र विपुर्ण सत्यता बारे अहिलेको दिगो विकास र सुशासन सम्वन्धी अवधारणाका पाश्चात्य प्रणेता दार्शनिक थोमस रोबर्ट माल्थस (१७६६-१८३४) को सिद्धान्तले यहि भन्छ । बिनास कि त प्राकृतिक नियमको आन्तरिक चक्र निर्वाण, विनिर्वाण र पुनर्निर्माणको कारण आफैं हुन्छ कि त जिवात्माले आफ्नो बिकासको लागि भनेर गरेका “गलत अभ्यास” को कारण ।

आधुनिक विश्व ईतिहासले भोगेको दुई ठुला युद्धहरु पहिलो र दोस्रो बिश्वयुद्ध हुनुभन्दा लगभग ११० बर्ष पहिले माल्थसले यो अवधारणा प्रतिवाद गर्दैगर्दा पाश्चात्य मुलुकमा एक प्रकारको तरंग नै सिर्जना भयो। भौतिक र अध्यात्मवाद गरि शास्त्रीय दर्शनशास्त्रका दुई वटा आधारभुत हाँगाहरुमा विभक्त मानव सभ्यतामा उनको उदयपश्चात ठुलै “प्याराडिगम सिफ्ट” हुन पुग्यो। एघारौं शताब्दीतिर सुरुवात भएको वाणिज्यबादी युगको चरम उत्कर्षको रूपमा एकातिर डार्विनवादी “बल, बुद्धि र विवेक हुँने नै बाँच्न योग्य छ” भन्ने आधुनिक विकासवादी अवधारणाबाट मात्र यथार्थतामा पुग्न सकिन्छ भन्ने जनमतले सारा युरोपभरी तहल्का पिट्दै थियोे भने अर्कोतिर “बल, विवेक र बुद्धिले मात्र हुँदैन, प्रकृतिको धान्ने सक्षमताले मात्र हरेक प्रणाली र ती भित्रका उपप्रणालीहरुको जिवांशा सुरक्षीत रहन्छ” भन्ने माल्थसवादी सिद्धान्तको उग्रआलोचना दिन प्रतिदिन बढ्दो क्रममा थियो । परिणामस्वरूप विश्व दर्शनशास्त्रको आधिपत्य ईश्वरको अस्तित्वलाई पुर्ण रूपमा अस्वीकार गर्दै भौतिकवादी एकल विचारिए बन्न पुग्यो र हालसम्ममा पनि यो विचारधारा सबैभन्दा बैज्ञानिक, यथार्थपरक र निरन्तर रूपमा परिस्कृत हुँदै गइरहेको छ भन्ने गरिन्छ।

यहाँ बुझ्नुपर्ने कुरो के छ भने माथी उल्लेखित दुबै अवधारणा दुई फरकफरक ब्याक्तीको अनुभवजन्य बिचारधारा (empirical school of thought) बाट विकसित भएका हुन् । तथापि, दुबै बिचारधाराको आधारभूत टेक्ने जरा र फल दिने हाँगो भनेको द्वन्द्वात्मक भौतिकवाद नै हो । धेरै मान्छेले द्वन्द्वात्मक भौतिकवादको प्रणेताको रूपमा हेगल र कार्ल माक्र्सलाई लिने गर्दछन तर त्यो बुझाई पुर्ण सत्य नभई आंशिक सत्य मात्र हो । किनकि, राजनैतिक दृष्टिकोणले यो बुझाईमा केहि हदसम्म सत्यता भएपनी दार्शनिक रुपले यो अवधारणाको प्रयोग सबैभन्दा पहिले प्लेटोले गरेका थिए भने जगत दर्शन र प्रणाली मिमांसासँगको अन्तरसम्बन्धका सन्दर्भमा यसको सबैभन्दा ब्यवहारिक प्रयोग गर्ने विद्वानहरुमा माल्थस र डार्विन नै हुन भन्ने कुरा हाल विश्वले अबलम्बन गरेको विकासवादी बिचारधाराले पनि प्रमाणित गरिसकेको छ । भलै बेलाबेला कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त अमेरिकाले अघोषित रूपमा सबैभन्दा बढी लागू गर्ने गर्छ भनिन्छ तर त्यो सत्य होईन । बरु सत्य के हो भने हो अमेरिकाले द्वन्द्वात्मक भौतिकवादलाई सबैभन्दा बढी प्रयोग त गरेको छ तर त्यो कार्ल माक्र्सको स्वरुपमा होईन, डार्विनको विकासवादि स्वरुपमा हो ।

अब यहाँ माल्थस र डार्विनको सिद्धान्त किन र कसरी द्वन्द्वात्मक भौतिकवादी भन्ने प्रश्न उब्जिनु स्वभाविक नै हो । त्यसो हो भने; अब, किन भन्ने प्रश्नतिरै बहस केन्द्रित गरौं किनकि “किन” भन्ने थाहा भए “कसरी” भन्ने प्रश्न आफै गौण हुन्छ ।

सर्वप्रथम डार्विनवादी अवधारणा किन र कसरी द्वन्द्वात्मक भौतिकवादी हो त ? जसले जुनसुकै तरिकाले यो बिचारधाराको ब्याख्या गरेता पनि सर्वप्रथम “ईश्वर”को अस्तित्व पुर्ण रूपमा अस्विकार गर्ने सबैभन्दा शसक्त बिचारधारा भनेकै डार्विनवादी बिज्ञान हो । उनका अनुसार सम्पुर्ण प्राणीमीमांसा वा ज्ञानमीमांसाको दर्शन स्वयं प्रा‍णीको लड्न सक्ने सामर्थ्य र उसले प्रयोग गर्ने बुद्धिचिंतन प्रक्रियाको प्रतिफलन हो । डाईनासोरस भौतिक रूपमा ठुलो हुनु उसको यथार्थ प्राणीगत मीमांसा हो, तर उसको ज्ञानमीमांसा र बुद्धिचिंतन सामर्थ्य कमजोर हुनु उसको लोप हुनुको एकमात्र कारण हो । अत: समग्र इतिहासको विकास वर्गसंघर्षको माध्यम बाट हुन्छ, चाहे त्यो आन्तरिक प्रणालीगत वर्गसंघर्ष होस् वा गैर प्रणालीगत । सारमा उनको सिद्धांतमा जिवांशा निरंतरताको लागी “निषेध को निषेध” वादी चिन्तन अनिवार्य शर्त जस्तै हुनजान्छ । उनका अनुसार; निषेध को निषेध कारण हैन परिणाम हो । यदि निषेध को निषेध नहुने हो भने न त डाईनासोरस लोप हुन्थ्यो, न त मानव जिवांशाको उत्पत्ति। त्यसैले, प्राणीमीमांसा सँगै उसको ज्ञानमीमांसा र बुद्धिचिंतन सामर्थ्य हुनु अनिवार्य सर्तजस्तै हो ।

अब माल्थसवादी बिचारधारा तिर लागौं। यदि गहिरिएर हेर्ने हो भने माल्थसको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले जीवन, प्रकृति, जगत र सम्पुर्ण ब्रह्माण्डिय चक्र निर्वाण, विनिर्वाण र पुनर्निर्माण भित्र एक-अर्कोको सहयोग, सद्भाव, सन्तुलन र सार खोज्दछ । उनका अनुसार प्रकृति को गति स्वयं द्वन्द्वात्मक प्रवृत्तिको हुन्छ र परिवर्तन, उत्पत्ति, विकास तथा विनाश सम्पुर्ण ब्रह्माण्डको अकाट्य विशेषता नै हो । त्यस्तैले निषेध को निषेधवादी चिन्तन आवश्यक छैन बरु जीवन, जिवांशा र जगत बीच सहअस्तित्व, सहकार्य, समता र प्राकृतिक न्याय आवश्यक छ ।

किन्तु, यहाँ उठान गर्न खोजेको विषय माथी उल्लेखित बिचारधारा के हो भन्दा पनि अहिलेको विश्वले अबलम्बन गरेको दर्शनशास्त्रको एकध्रुविए (एक बिचारिए) अवधारणा के हो भन्नेसँग सम्बन्धित छ । मुलत: दर्शनशास्त्रको प्रयोग राज्यको उत्पत्तिसँगै राजनैतिक रूपमा प्रयोग हुने भएकोले यो आलेखको उद्देश्य पनि हाम्रो राज्य संयन्त्रले अवलम्बन गरेको दर्शनशास्त्र भित्र सत्यलाई एकाकार गर्ने प्रयास हो । अब भनिराख्नु पर्दैन मुलुत: वर्तमान विश्वका सबै मुलुकले द्वन्द्वात्मक बिकासवादी बिचारधारालाई नै अवलम्बन गरेका छन्। चाहे त्यो माल्थसवादी स्वरुपमा होस् वा डार्विनवादी वा माक्र्सवादी। तर, बुझ्नुपर्ने विषय के हो भने पाश्चात्य जगतले जब माल्थसको नीतिलाई पुर्ण अस्विकार गर्दै डार्विनवादी र माक्र्सवादी नीति अवलम्बन गर्यो तत्पश्चात विश्वमा शक्ति सन्तुलन र संघर्षको खेलमा डरलाग्दा परिदृश्यहरु देखा पर्दै गैरहेका छन् । अब यहाँ बुझ्नु पार्ने आधार र देखिने प्रमाणहरु के छन् त (?) प्रतिप्रश्न उब्जनु स्वभाबिक हो । यसको लागि निम्न तीन विश्व परिघटित सन्दर्भको सार बुझ्न् आवश्यक छ;

एक, आज प्रायः विश्वका सबै मुलुकले अवलम्बन गरेको विकास नीतिहरु घोषित वा अघोषित रुपमै किन “निषेध को निषेध” अवधारणाबाट प्रेरित छन् ? उदाहरणको लागि चिनले गरेको विकासबाट अमेरिकाले असुरक्षित महसुस गर्नु, अमेरिकाले गरेको विकास बाट चीनले असुरक्षीत महसुस गर्नु, भारतको बिकासले पाकिस्तान र पाकिस्तानको विकासले भारत, उत्तर कोरियाको विकासले दक्षिण कोरिया र दक्षिण कोरियाको विकासले उत्तर कोरिया असुरक्षित र आतंकित महसुस गर्नु केही प्रतिनिधि उदाहरण मात्र हुन । तर, यहाँ सोचनिय कुरो के हो भने एक देशले गरेको विकासवादी क्रियाकलापसँग किन अर्को देश डराउनु पर्ने ? के सम्पन्नता र विकास भनेको मानव जिवनमा आतंक, आशंका, भय र असुरक्षा फैलाउने हो ? के समग्र मानव सभ्यताको विकास “निषेध को निषेध” दर्शनबाट मात्र सम्भव छ चाहे त्यो आन्तरिक प्रणालीगत निषेध को निषेध होस् वा गैर प्रणालीगत ? हामीले बिकासका नाममा गरेका क्रियाकलापले सम्पुर्ण विश्वनै किन यति धेरै आतंककित र सशंकित ? के द्वन्द्वात्मक भौतिकवादको दार्शनिक विकल्प छैन ?

दुई, आतंकवाद र पृथकताबादी आन्दोलनले बोकेको दर्शन के हो ? राज्य, साशन, स्वसाशन, शान्ति र स्वतन्त्रताको वास्तविक पहरेदार को हो ? स्वतन्त्रताको सिमा र परिधि के हो ? अगलाववादी र स्वराजको मागले बोकेको मुल्य के हो ? किन विश्वमा हुने सबै प्रकारका पृथकतावादि आन्दोलनहरु आतंकबादकै स्वरुपमा प्रकट भैरहेका छन् ? यो विकासवादी सिद्धान्त वा द्वन्द्वात्मक भौतिकवादी अवधारणाको असफलता हो कि होईन ?

तीन, के विश्वले दर्शनशास्त्रको एकल बिचारिए द्वन्द्वात्मक भौतिकवादी “प्याराडिगम सिफ्ट”को मार अझैं पनि थेग्न सक्छ ? एघारौं सताब्दीबाट सुरु भएर औपचारिक रूपमा कार्ल माक्र्स र चाल्स डार्विनले तिलान्जली दिएको अध्यात्मवाद के दार्शनिक रुपमै प्रणालीगत मीमांसा र ज्ञानमीमांसा प्रतिकुल थियो त ? के जडतत्व वा पदार्थको स्वरुप परिवर्तनमा चेतनामीमांसाको अस्तित्व स्वीकार गर्न सकिदैन ? के सम्पुर्ण ब्रह्माण्डको उत्त्पतिको कारण “म्याटर” मात्र हो त ?

हाल सम्पुर्ण विश्वभरी नै २१ औं सताब्दी सुहाउँदो नयाँ दर्शनको खोजी गरिनुपर्ने एक खालको नवजागरणमुखि चेतना विभिन्न स्वरुपहरुमा एकपछी अर्को गरि प्रकट भैरहेको देखिन्छ । मुलतः द्वन्द्वात्मक भौतिकवादी वा बिकासवादी एक बिचारिए प्रणालीगत दर्शनशास्त्रको उपजको रूपमा प्रबिधिको जवर्जस्त बिकासले एकातिर विश्व शक्ति संघर्षको खेलमा दिनप्रतिदिन डरलाग्दो परिदृश्यहरु देखा पर्दै गैरहेका छन् भने अर्कोतिर राष्ट्रिय स्वाधीनता र सम्प्रभुतामाथी जुनसुकै देशमा पनि गैह्रप्रहार भैरहेको छ । यी र यस्तै परिवेशमा नेपालको सन्दर्भमा हामीले अँगालेको राज्य दर्शनशास्त्र वा अवधारणा के हो त भन्ने प्रश्न उठ्नु पनि स्वभाबिक नै हो । तथापि, दु:खका साथ भन्नुपर्छ माथीका सबै विषयमा हाम्रो राज्य दर्शनशास्त्र कम्जोर छ । भनिराख्नु पर्दैन, यहाँ दर्शनशास्त्रको बिम्बगत प्रयोगलाई मुलभुत रूपमा हाम्रो संविधानले अँगालेका सिद्धान्तहरुको रूपमा र कारक तत्वका रूपमा राज्य र राष्ट्रभित्रका तमाम प्रणाली र अन्य अवयवहरुलाई लिन सकिन्छ । यो भन्दा पनि महत्त्वपूर्ण कुरा हामिले हाम्रा सबै प्रकारको संस्कार र सामाजिकरण बाट आफुले प्रतिबिम्बित गर्ने ब्याबहार नै हो ।

तथापि, माथी नै भनी सकिएको विषय हो, रुखको जरा बलियो भए पो यस्ले थेग्ने माटो (भुमि) बलियो हुन्छ। यदि जरा नै बलियो छैन भने त्यो रुखले फल त के शितलता पनि दिदैन। हो त्यहीँ बलियो जरा बिनाको रुख हो नेपालको वर्तमान संविधान र यसले अबलम्बन गरेको प्रणालीगत मीमांसा दर्शन । सुन्दा खल्लो, अप्रिय, एकाङ्गी र प्रतिगामी लाग्ला तर अब सबैले बुझुनै पर्ने कुरो हो यो ।

हामी बिकास र समृद्धिको लागि संघीयतामा गयौं । हरेक ब्याक्तिको ब्याक्तिगत स्वतन्त्रताको प्रत्याभूतिको लागि धर्म निरपेक्षतामा गयौं । जनताले जनताको लागि जनताद्वारा शासन गर्न पाँउने हकको लागि गणतन्त्रमा पनि गयौं । तर, बिडम्बना हाम्रो राज्यले बोक्ने दर्शनशास्त्रीय अवधारणा (मान्यता) के हो र के मा आधारित हुनुपर्छ भन्ने कुरामा कुनै बहस, बिमर्श र चिन्तन गरेनौं । परिणामस्वरूप आज देश झन्झन् भुमरीमा फस्दै गइरहेको छ । राज्यका हरेक संयन्त्रहरु असफलता उन्मुख छन् । पृथकतावादी र पहिचानको मुद्दा समाजमा भुसको आगो दन्किए जसरी अर्धलुप्तरुपमा दन्किरहेको छ । हुँदा खाने र हुँने खाने बीचको खाडल १:९ को फलनमा भयावहक रुपले असन्तुलित हुँदैछ, जसले जुनसुकै बेला पनि बिस्फोटको रुप लिनसक्ने खतरा छ । शासन, शासक र जनताप्रतिको बिश्वास निरन्तर ओरालो लाग्दो छ । आर्थिक परिसुचांकहरु प्रायः नकारात्मक उन्मुख छन् । संगठित अपराधका बहुरुपी आयामहरु नियन्त्रण बाहिर जादैछन् ।

अत: अबपनि हामीले हाम्रो स्पष्ट दार्शनिक अवधारणामा सम्पुर्ण राज्य प्रणालीलाई एकाकार नगर्ने हो भने भोलिको भबिस्य झन् धुमिल हुने निस्चतप्रायः छ । जसले जेसुकै भनेपनि शासन गर्ने भनेको राज्य प्रणालीले अबलम्बन गर्ने दर्शनले नै हो । त्यसैले बिना आग्रह/पुर्वाग्रह माथीका विषयमा व्यापक छलफल गरि अन्तर्राष्ट्रिय परिवेशमा देखिएको बदलिँदो दार्शनिक प्याराडिगम सिफ्टमा हाम्रो आफ्नो मौलिक बिचारधारा निर्वाण गरि समग्र राष्ट्रिय जिवनलाई विकास र समृद्धिको मार्गमा सूत्रबद्ध गर्नुनै आजको एकमात्र बिकल्प र भोलिको सुरक्षित भबिस्य हो । चाहे यसको लागि संविधान संशोधन गर्नुपरोस् वा परिवर्तन गर्नु नै किन नपरोस् त्यस्को लागि अब हाम्रो स्पष्ट मुल्य सहितको दार्शनिक अवधारणामा निर्वाण गर्नुको विकल्प छैन।

 

प्रतिक्रिया दिनुहोस्