धुलिखेलबाट शुरु भयो नागरिक स्वास्थ्य बीमा



मोतीराम तिमल्सिना, काभ्रे ।

‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको स्वाथ्य विमा कार्यक्रम धुलिखेलमा शुरु भएको छ । चैत्र १० भित्र जिल्लाका १० वटै स्थानीय तहमा उक्त कार्यक्रम शुरु हुने भएको छ ।

धुलिखेलमा आयोजित कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले शुभारम्भ गरेका थिए । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका मेडिकल रेकर्डर अधिकृत एवं स्वास्थ्य अर्थशास्त्रि गुञ्जबहादुर जिसीले स्वास्थ्य बीमा कार्यक्रमका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए ।

तीन दिने कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले स्वास्थ्य बीमा कार्यक्रमले सबै नागरिकहरुका लागि उपचारमा पहुँच पुर्याए पनि गरिव, अल्पसंख्यक, सिमान्तकृत, अपाङ्ग र एकल महिला भई आय स्तर नभएका ब्यक्तिहरुको हकमा बार्षिक तिर्नु पर्ने प्रिमियम रकम समेत तिर्न नसक्ने अवस्था रहेकाले नगरपालिकाले त्यस्ता ब्यक्तिहरुलाई सहयोग गर्नु पर्ने बताए ।

‘बीमा गर्ने ब्यक्ति र उपचार गर्ने अस्पताल बीच समन्वय हुन सकेन भने बीमा कार्यक्रमले निरन्तरता प्राप्त हुन सक्दैन’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नागरिकले गर्ने बीमा रकम समयमै अस्पतालमा तिर्ने र बीमा गरिएका ब्यक्तिहरुले पनि तत्काल रकम तिर्ने ब्यक्ति सरह नै उपचार पाउनु पर्छ ।’

धुलिखेल नगरमा ७ हजार ७ सय घर परिवार छन् । बीमा कार्यक्रमले प्रति परिवार ५ जना सदस्यहरुसम्म बार्षिक २ हजार ५ सय प्रिमियम तिर्नु पर्नेछ । पाँच भन्दा धेरै सदस्य भए प्रति सदस्य ४ सय २५ रुपैया थप गर्नु पर्ने छ । २ हजार ५ सय रुपैया तिरे पछि बार्षिक ५० हजार रुपैयाको बीमा हुनेछ । पाँच जना बराबर एक जनाले ५० हजार रुपैयाको सेवा लिएको अवस्थामा अन्यले सेवा प्राप्त गर्न सक्दैनन । सेवा प्राप्त गर्न अर्काे वर्षको नविकरण गर्नु पर्छ । पाँच भन्दा बढी सदस्यको हकमा प्रति ब्यक्ति १ हजार रुपैया थप गर्नु पर्नेछ ।

बीमामा बहिरंग तथा आकस्मिक सेवा, अन्तरंग सेवा, निदनात्मक सेवामा १ हजार १ सय १८ थरी औषधी प्राप्त गर्नेछन् । सरकारले यस अघि ७० वटा औषधी निशुल्क वितरण गर्दै आएको छ भने २५ वटा आर्युवेदिक औषधी निशुल्क उपलब्ध गराउँदै आएको छ । सबै उमेर समुहका ब्यक्तिहरुले यो बीमा कार्यक्रम लागु हुनेछ । सरकारले स्वास्थ्य बीमाका शुरुवात गरेका २५ जिल्लाका गरिव परिचय प्राप्त गरेका ब्यक्तिहरुले बीमाका लागि रकम तिर्नु पर्दैन ।

स्थानीय तहमा दर्ता सहयोगीका माध्यमबाट बीमाको फाराम भर्न सकिनेछ । बैशाख देखि असारसम्म फाराम भर्नेहरुले भदौ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् भने साउन देखि असोजसम्म फाराम भर्नेहरुले मसिर १ गते देखि सुविधा पाउनेछन् ।

त्यस्तै माघ देखि चैत्रसम्म फाराम भर्नेहरुले जेष्ठ १ गते देखि सेवा उपभोग गर्न पाउनेछन् । ४८ जिल्लामा लागु भएको कार्यक्रम काभ्रेमा पहिलो पटक धुलिखेलबाट शुरु भएको हो । बीमा गराउने स्वंसेवकहरुले वडागत रुपमा जम्मा घर धुरीको ५० प्रतिशतमा १० प्रतिशत, ८० प्रतिशतसम्म १५ र ८० प्रतिशत माथी गराउनेले २० प्रतिशत कमिसन प्राप्त गर्नेछ ।

नगर तथा गाउँमा प्रमुख र वडामा वडा अध्यक्षहरुको संयोजकत्वमा समिति गठन हुनेछ । काभ्रेपलाञ्चोक जिल्लाको हकमा बीमा गरेका नागरिकहरुले धुलिखेल सामुदायिक अस्पतालबाट सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्