अभिलेख ब्यबस्थापनको काम बल्ल शुरु



नेपाल समाचारपत्र, पर्वत
जिल्ला प्रशासन कार्यालय पर्वतमा विगत ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन गर्न थालिएको छ ।२०२३ सालदेखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न थालेको हो ।

अहिलेसम्म कागजपत्रहरु सेतो कपडाभित्र पोको पारेर राख्ने गरिएकोमा पहिलोपटक फाईलिङ्ग गरेर व्यवस्थापन गर्न लागिएको हो । विगत सात वर्षदेखि कम्प्युटर प्रणालीमार्फत नागरिकता वितरण गर्दै आएपनि त्यस अघि वितरण गरिएका नागरिकताका फाईलहरु र वितरण गरिएका नागरिकताको विवरणहरु हराउन सक्ने भन्दै व्यवस्थापन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

उनका अनुसार आफु सरुवा भएर पर्वत आएदेखिनै अभिलेख व्यवस्थापनलाई प्रभाकारी ढंगले अघि बढाएको बताउनुभयो । अब जुनसुकै वर्ष निकालेको नागरिकताको विवरण हेर्नु परेपनि तत्काल भेटिन्छ उहाँले भन्नुभयोे, ‘यसले गर्दा कुनैपनि व्यक्तिले दाहोरो नागरिकता लिनसक्ने अवस्था रहँदैन । भने कर्मचारीलाई खोज्नका लागि पनि सहज हुनेछ ।’

जिल्ला प्रशासन कार्यालय पर्वतबाट हालसम्म २ लाख १९ हजार १ सय ६३ वटा नागरिकता वितरण भएका छन् । जसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या २ लाख १८ हजार ८ सय ५, जन्मसिद्ध नागरिकता २, वैवाहिक अंगिकृत नागरिकता १ सय ३७ र कर्मचारी परिवार २१९ जनाले नागरिकताको प्रमाणपत्र लिएको तथ्यांक रहेको छ । अहिले जिल्लाको जनसंख्या एक लाख ४८ हजार रहेको छ । जनसंख्या भन्दा भन्दा झण्डै ७१ हजार बढि नागरिकता जारी भएको कार्यालयले जनाएको छ ।

यी सवै नागरिकताको विवरण कम्प्युटर प्रणालीमा पनि संलग्न गरिएको छ । कहिलेकाँही प्रविधिमा पनि समस्या आउने भएकाले अभिलेखलाई व्यवस्थित बनाएर राखिएको प्रमुख जिल्ला अधिकारी ढकाललको भनाई छ । कहिलेकाँहि कम्प्युटरमा पनि समस्या आउन सक्छ ढकालले भन्नुभयोे–‘त्यसैले प्रत्येक महिना र वर्षका कागजपत्रहरुलाई फाईलिङ्ग गरेर राखिएको छ ।’

अब जुन वर्षमा नागरिकता लिएको हो सोहि वर्षको एउटा फाईल पल्टाएपछि विवरण फेला पार्न सकिन्छ । अर्कोतर्फ जुन स्थानीय तह वा वडाको व्यक्तिको विवरण हेर्नुपर्ने भयो भनेपनि तत्काल भेटिने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

यस अघि धेरै वर्ष पहिलेका फाईलहरु खोज्नुपर्ने भएमा धेरै समय लाग्ने, कतिपय नभेटिने समस्या रहेको थियो । सेतो कपडाभित्र पोको पारेर राख्ने सरकारी प्रचलनलाई तोडेर रेकर्ड फाईलमै व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

कतिपय फाईलहरु किरा, मुसाले काट्ने, च्यातिने, कुहिने समस्या थियो अब त्यस्तो समस्या रहँदैन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायणप्रसाद पौडेलले भन्नुभयो– ‘अब कसैले पुरानो विवरण हेर्न चाहेमा दुई मिनेटमै उपलव्ध गराउन सकिन्छ ।’ यसले छिटो छरीतो हुनुका साथै सेवाग्राहिलाई प्रभावकारी ढंगवाट सेवा प्रवाहमा सहज हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्