खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग



नेपाल समाचारपत्र, लमजुङ
विश्वविख्यात अन्नपूर्ण चक्रीय पदमार्ग डेढ महिना पछि खुलेको छ । हिमपातका कारण उक्त पदमार्ग बन्द भएको थियो । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट सुरु भई मनाङको थोराङला मञ्ज्याङ पास गरेर मुस्ताङ हुँदै पदयात्रीहरू पोखरा निस्कने गर्दछन् ।

मनाङको थोराङला मञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाईमा पर्दछ । उक्त पदमार्ग खुलेसंगै पर्यटकको आवागमन बढ्न थालेको छ र यस क्षेत्रका व्यापार व्यवसायी खुसी हुन थालेका छन् । गत माघ ९ गतेदेखि परेको हिमपातले चक्रीय अन्नपूर्ण पदमार्ग अवरुद्ध बनेको थियो । खासगरी मनाङस्थित दानाक्यूदेखि मुस्ताङको मुक्तिनाथसम्म बाटो हिमपातका कारण बन्द भएको थियो । उक्त रुटमा परेको हिउँ अझै पग्लिसकेको छैन ।

तर बाटोमा परेको हिउँ पन्छाएर हिड्न हुने बनाइएको जिल्ला पर्यटन व्यावसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार डेढ महिनादेखि पर्यटक आगमन शून्य जस्तै देखिएकोमा बाटो खुलेपछि चहलपहल बढ्न थालेको छ ।

यो अवधिमा हिमपातका कारण बाटो अवरुद्ध हुँदा फेब्रुअरी ४ र ५ तारिख बाहेक डेढ महिनासम्म पर्यटकले थोराङला पास नगरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताउनुभयो । उहाँका अनुसार सोमबार १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेका छन् । मंगलबार १६ जना पर्यटकले पास गरेको जानकारी उहाँले दिनुभयो । गुरुङले भन्नुभयो ‘हिमापातका कारण पदमार्गमा ७ फीटसम्म हिउँ जम्न गएको थियो । कतै हिमपहिरो गएको थियो । हिँड्न सकिने अवस्थानै थिएन । जसका कारण कति पर्यटक बीच बाटोबाटै फर्किएका थिए’ उहाँले भन्नुभयो ।

‘अहिले पदमार्ग खुलेसँगै बेसीसहरदेखि चामेसम्मको सडक पनि खुलेको एक्याप मनाङका प्रमुख बावुलाल तिरुवाले बताउनु भयो । उहाँका अनुसार १६ जना युवालाई पदमार्ग खुलाउनका लागि हिउँ पन्छाउन खटाएको बताउनुभयो । उहाँका अनुसार लमजुङको बेसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी पर्वत हुँदै पोखरा पुगेर टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडकको पहुँच पुगेपछि पदमार्गको यात्रा छोटिएको छ । यतिबेला ७ देखि १० दिनमा धेरै पर्यटकले यस अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा टुंग्याउने गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्