भुटान हार्दा नेपाल सेमिफाइनलमा



सरोज यादव, विराटनगर
पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताबाट लगातार दुई खेलमा पराजित भएसँगै भुटान घर फर्किदा आयोजक नेपाल सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बिहीबार बंगलादेशसँग भएको आफनो दोस्रो खेलमा भुटान २–० गोल अन्तरले पराजित भयो । यसअघि नेपालसँगको खेलमा भुटान ३–० गोलअन्तरले हारेको थियो । भुटान पराजित भएसँगै बंगलादेश र नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेका छन । समूह ’ए’ मा नेपाल र बंगलादेशको समान ३ अंक रहेको छ । समूहको विजेता भने दुई टिमबीचको शनिबारको खेलबाट टुङगो लाग्नेछ ।

दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गोल गर्न सफल भईकी थिइन् । त्यस्तै खेलको ८६ औंं मिनेटमा बंगलादेशकी सविना खातुन्ले अर्को गोल गरेकी छन् । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए ।

समूह बी मा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ । भारतले नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । भारतले चारैपटक उपाधि हात पारेको छ । समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन् ।

दर्शक ओइरिएन
आयोजकले प्रतियोगिता भव्य बनाउन विराटनगरस्थित सहिद रंगशालालाई नयाँपन दिएपनि प्रतियोगिता हेर्ने दर्शकको भने खासै सहभागिता देखिएको छैन । नेपाल मै पहिलो पटक त्यसमा पनि विराटनगरमा आयोजना गरिएको महिला च्याम्पियनसीपका खेल हेर्न घुइचो लाग्नुपर्ने हो । तर विराटनगरस्थित सहीद रंगशालाको प्याराफिट भने खाली देखिन्छ । मंगलबार सम्पन्न नेपाल र भुटानको प्रतियोगिता हेर्न केहि दर्शक उपस्थित भएपनि अन्य दिन प्याराफिट खालि नै देखिएको छ ।

अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भएपनि विराटनगरवासीमा खासै उत्साह नदेखिएको खेलप्रेमिहरु बताउँछन् । साथै प्रचारप्रसारमा पनि कमी भएको उनिहरुको भनाइ छ । यस अघिपनि विराटनगरमा आयोजना हुने खेलकुद प्रतियोगितामा विराटनगरवासीको सहभागिता कमै हुने गरेकाले विराटनगरमा खेलप्रतिको लगाव कमै देखिएको खेलप्रेमीहरु बताउँछन् ।

साथै यतिबेला विराटनगरका सडकमा देखिएको अस्तव्यस्तता र धुलोको समस्याले गर्दा पनि सर्वसाधारण रंगशालासम्म नपुगेको उनिहरुको भनाइ छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न आउने दर्शकका लागि भिआईपीतर्फ ३ सय रुपैयाँ टिकट दर तोकेको छ । त्यस्तै, साधारण प्याराफिटतर्फको टिकट दर सय रुपैयाँ तोकेको छ ।

साफ महिला च्याम्पियनसिप सम्पन्न गर्नका लागि करिब १ करोड ६५ लाख नगद लाग्ने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि विराटनगर महानरपालिकाले एन्फालाई एक करोड सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्