खै समृद्धि ?



राज्य सञ्चालन गर्ने नेताहरूबाट मुलुकको समृद्धिको नारा लगाइन थालेको निकै लामो समय भइसकेको छ । संघीय सरकारमा रहेका वा नरहेका नेताहरूदेखि गाउँपालिकाको वडास्तरसम्मका नेता, कार्यकर्ता सबैको मुखबाट समृद्धिकै कुरा सुन्न पाइन्छ । समृद्धिको पदावली प्रयोग नगर्दासम्म भाषणको बान्की नै नमिल्ने भएको छ । तर, व्यवहारमा हेर्दा त्यो समृद्धि कुन चराको नाम हो, थाहा छैन । समृद्धिको परिभाषा निकै फराकिलो छ, निकै ओजिलो छ ।

जसलाई नेताहरूले अत्यन्तै हलुकारूपमा लिइरहेका छन् । राष्ट्रपतिलाई १८ करोडको गाडी किन्नुजस्ता कुरालाई समृद्धिसँग जोड्ने गरिएको छ । चुनावी बाटोबाट जनप्रतिनिधि बनेकाहरूले राज्यबाट पाउने तलब भत्तालाई समृद्धि ठानिएको छ । विगतमा छ महिना, एक वर्षमा फेरिने सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले पाउने सुविधालाई समृद्धिको दर्जामा जोडिएको छ ।

यही कुरालाई समृद्धि ठान्ने हो भने कुरा बेग्लै हो । एउटा वर्गको लागि त्यो समृद्धि आइसकेको छ । सत्तामा बसेका र बाहिर रहेर पनि सत्ताबाट फाइदा उठाएकाहरूको जीवनस्तरलाई हेरियो भने यहाँ समृद्धि नै समृद्धि देखिन सक्छ । सडकमा उनीहरूका चिल्ला कारहरू गुडिरहेका छन् । पाँचतारे होटेलहरूमा मिटिङ बसिरहेको छ । छोराछोरीले विदेशका महँगा स्कुल, कलेजमा पढिरहेका छन् । उनीहरूको बिहेदान पाँचतारे होटेलमा हुने गर्छ । राज्यले कुस्त मात्रामा तलब भत्ता दिएको छ । विदेशमा सैर–सपाटा गर्ने भत्ता पाइन्छ । जति पनि ठूला शहरहरू छन् त्यहाँ आलिसान महलहरू खडा गरिएका छन् । यसलाई नै समृद्धिको नारा बनाइएको छ अहिले ।

समृद्धि भनेको मुलुकको चौतर्फी विकास हो । आमजनताको आयस्तर माथि उठेको अवस्था हो । राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक रूपमा जनताको पूर्णरूपमा पहुँच हुनु हो । स्वास्थ्य, रोजगारीमा पहुँच पुग्नु हो । मुलुकमा रोजगारी नपाएर अहिले दैनिक हजारौँको संख्यामा युवाहरू विदेश धपाइएका छन् । सकुशल जान्छन् तर कडा काममा लादिनुपर्दा मृत्युवरण गर्न पुग्छन् । मुलुकमा जो जति बाँकी छन्, उनीहरूको अवस्था पनि दयनीय छ ।

गाउँमा कृषि गर्नको लागि सिंचाइको व्यवस्था छैन । युवा स्वरोजगारको कुरा नारामा मात्र सीमित गरिएको छ । जमिन बाँझै रहनुको कारण विदेशबाट खाद्यान्न आयात गर्नुपर्छ । देशमा स्थापना भएका सयौँ नागरिकलाई रोजगारी दिन सकिने नाम चलेका कतिपय कारखानाहरू सरकारको निकम्मापनले गर्दा बन्द भई खिया लागेका छन् । मेसिनका राम्रा पार्टपूर्जा र अन्य सामान अस्तव्यस्त पारिएका छन् । दूरदराजका बालबालिकालाई पढ्नको लागि स्कुल छैन । नदीहरूमा पुल हुँदैन । ज्यान जोखिममा राखी पौडिएर नदी पार गर्नुपर्ने बाध्यता छ । महिलाहरूको अवस्था कस्तो छ, कस्तो सुरक्षाको प्रत्याभूति गर्न पाएका छन् भनेर हेर्न निर्मला पन्तलाई हेर्दा देखा पर्छ ।

देशलाई समृद्ध तुल्याउने नै हो भने सबैभन्दा पहिला नेताहरूमा राजनीतिक प्रतिबद्धता हुनुपर्छ । निष्ठाको राजनीति गर्नुपर्छ । जनतासँग सहकार्य गर्न सक्नुपर्छ । जनतासँग श्रम गर्न तयार हुनुपर्छ । जनताको अवस्थासँग आफ्नो अवस्थालाई मिलान गर्न सक्नुपर्छ । त्यो चरित्र अहिले भ्रष्ट भएको छ । यस्तो भ्रष्ट चरित्रले देशमा कसरी समृद्धि ल्याउन सक्ला ? अख्तियारीको दुरुपयोग गर्दै भ्रष्टाचारलाई जोड दिने, निजी सुविधामा केन्द्रित हुने होड चलेको मुलुकले समृद्धिको काँचुली फेर्न सक्ने आशा कसरी राख्न सकिन्छ ? जनताले दुई छाक पेटभर खान पाएका छैनन् । बालबालिका कुपोषणको सिकार भई अकालमा मरिरहेका छन् । शहरमा मात्र स्वास्थ्य सेबा खुम्च्याइएको छ । गाउँमा औषधिमुलो पाइँदैन । रामभरोसे बाँचेका जनताबाट अनावश्यक कर असुलिएको छ र मुठ्ठीभरका शक्तिशालीको आम्दानीमा परिणत गरिएको छ । सम्पन्नहरूका शहरमा गुडेका केही थान गाडी–घोडालाई मापदण्ड बनाएर समृद्धिको दिशामा जान सकिँदैन । सबैभन्दा पहिले आफूहरू रूपान्तरित हुनु जरुरी छ ।
– रुपा मगर, भक्तपुर ।

खानेपानी अभाव भो
प्युठानको मल्लरानी गाउँपालिका–३, चौरपानीमा खानेपानीको व्यवस्था मिलाउन स्थानीयवासीले आफ्नो बलबुताबाट निकै प्रयास गरे । गाउँमा पानी ल्याउन त्यति सहज थिएन । ठूलो लगानी लाग्थ्यो । स्थानीयवासीलाई घन्टौँ लाग्थ्यो एक गाग्रो पानी घरमा ल्याउनको लागि । यो समस्यालाई उनीहरूले नेताका कानमा पु¥याए ।सदरमुकामस्थित विकासे योजनामा पु¥याए ।

डेलिगेसन गए । निर्वाचनका बेलामा भोट माग्न आउने नेताहरूलाई गुनासा पोख्दै सहयोग गर्न अपिल गरे । नेताहरूबाट फोस्रा आश्वासन पनि पाए । त्यही क्षेत्रबाट निर्वाचित भएकी संघीय जनप्रतिनिधि हुन् श्रीमती दुर्गा पौडेल । जसले योजनाविद् डा. गोविन्द पोखरेललाई झीनो मतले हराएकी थिइन् । योजनाविद गोविन्द पोखरेल पनि सोही गाउँपालिका निकटका बासिन्दा हुन् । चाहेको भए उनले पनि त्यहाँ पानी ल्याउन पहल गर्न सक्थे । नेताहरूलाई त भोटमात्र चाहिएको थियो । चुनाव जितेपछि जनता किन आवश्यक पर्छन् र ?

सदरमुकाम खलंगानजिकै रहेको चौरपानीमा पानीको लागि कतैबाट सहयोग नपाएपछि जनताले पानी आन्दोलन शुरु गरे । यसपालिको तिहारमा रित्तो गाग्रो ठटाएर युवाहरूले भैलो खेले । युवाहरूको नेतृत्वमा तीन दिनसम्म गाउँमा खेलेको भैलोबाट ६५ हजार रुपियाँ नगद संकलन भयो । यसरी खेलिएको भैलेको तस्वीर सामाजिक सञ्जालमा आएपछि घरबाहिर भएका गाउँवासीबाट २ लाख ७७ हजार रुपियाँसमेत संकलन भयो ।

अहिले आएर त्यहाँ पानीको राजनीति शुरु भएको छ । राजधानी र सदरमुकाममा बस्ने नेताहरूको ध्यान खिचिएको छ । यसकारण पनि खिचिएको छ कि चौरपानीवासी जनताले राजनीतिक पार्टीका कार्यक्रमहरू नै बहिष्कार गरिदिए । पार्टीद्वारा राखिएका जुनसुकै कार्यक्रममा सहभागी नहुने गरी बहिष्कार गरेपछि भाषणलाई प्राथमिकता दिने नेताहरू समस्यामा परेका छन् । स्थानीय जनताले चाहेमा राजनीति नै ठप्प पारिदिन सक्छन् भन्ने कुराले नेताहरूलाई तर्साएको छ ।

पानीविना एकदिनको जीवन पनि कल्पना गर्न सकिन्न । यस्तो महत्वपूर्ण चीजको लागि जनताले कुरा उठाउँदा नेताहरूले सुन्दैनन् भने तिनीहरूलाई कसरी आफ्ना जनप्रतिनिधिको दर्जा दिने ? यहाँसम्म कि डा. गोविन्द पोखरेलको निवास रहेको रस्पुरकोटमा पनि पानीको हाहाकार छ । प्युठानका अधिकांश दूरदराजका बस्तीमा पानीको टड्कारो समस्या देखिएको छ । प्युठान त यति बेला आन्दोलन उठेको स्थान भएकोले चर्चा भएको हो । यस्तो समस्या देशैभरि छ । खासगरी पहाडी बस्तीमा यो समस्या बढी देखिएको छ ।

अनावश्यक ढंगबाट डोजर जोतेर चुरे र माथिल्ला जंगलमा सडक निर्माण गर्ने कार्यले पानीका मुहानहरू सुकेको सबैलाई छर्लंग छ । त्यसमाथि खोलाका ढुंगा, गिटी, बालुवा निकाल्ने, रुखहरू जथाभावी कटान गर्ने कार्यले त्यत्तिकै प्राथमिकता पाएको छ । यसले गर्दा पानीका मुहानहरू सुक्दै गएका छन् । वातावरणीय सन्तुलन खल्बलिएको छ । हरियालीको अभाव हुँदै जाँदा वन्यजन्तु, चराचुरुंगीहरू लोप हुँदै छन् ।

पहिले बाह्रै महिना ठूलै पानी बग्ने बुटवलको तिनाउ नदी अहिले मंसिरको महिनामा पनि मरुभूमि देखिन थालेको छ । अन्य नदीको पनि हालत यस्तै छ । भोलि नदीको जलप्रवाहबाट उत्पादन हुने विद्युत् गृहहरू पनि पानीको अभावमा बन्द हुन सक्लान् । सिंचाइ प्रणाली डामाडोल हुन सक्छ । प्युठानको चौरपानी खानेपानीको समस्या पनि यस्तै कारणबाट जन्मेको हो । सरकारमा रहेर नीति निर्माण गर्नेहरूले यो कुरा बेलैमा सोच्नु आवश्यक छ ।
– ध्रुवराज अधिकारी, प्युठान ।

प्रतिक्रिया दिनुहोस्