परिपक्व माया गासौं



सरकार र विप्लव वीच राम्रै लभ पर्ला भन्या त लभै नपरी ब्रेकअप भएको खवर पो सुनियो बा ! पटक–पटक प्रपोज गर्दा पनि विप्लबले वाल हानेसी कहाँबाट परोस लभ अनि सरकारले उल्टै भन्यो– ‘विप्लबसँग अब लभ गरिन्न, कुनै पनि हालतमा ऊसँग लभ पर्दैन ।’

त्यसो त अल्लारे उमेरको माया पिरेममा पनि यस्तै हुन्छ क्यार, एउटीले बाल हानोस वा एउटाले अन्यत्र कहिँ विकल्प भेटिन्छ भने को त्यही एउटैलाई मरिहत्तै गर्दै पछि लागिरहन्छ र ? अहिले सरकारले पनि त्यस्तै विकल्प भेट्यो अनि एकतर्फी ब्रेकअपको घोषणा ग¥यो ।

सरकारले सीकेसँग अंगालो मात्रै के कस्या थ्यो बिप्लवसँग गाँस्दै नगासिएको साइनो सम्बन्ध तोड्ने हिम्मत् ग¥यो । सरकारको यो शैलीलाई धेरैले गलत भन्या छन् भने केहीले हिम्मतिलो कदम भन्दै प्रसंशा ग¥या छन् । ‘एउटालाई अंगालो हाल्दैमा र अर्कोलाई बाल हान्दैमा मात्रै समस्या समाधान हुँदैन, सम्बन्ध सुधार्दै अघि बढ्नुपर्छ’–सरकारलाई यस्तै अनगिन्ती अर्ती दिनेहरु कति छन् कति ।

हुन पनि हो, कसैसँग अंगालो हाल्दैमा ऊसँगको सम्बन्ध सँधै हराभरा हुन्छ भन्ने हुन्न । माओवादीले ऊ बेला सशस्त्र संघर्ष चर्काउँदा तत्कालिन सरकारले माओवादीसँग एकतर्फी ब्रेकअप गरेकै हो, तर पछि सोही दलका नेतासँग बालुवाटरमा अंगालो मार्नै पर्ने भो । अहिले त तीनै नेताहरुसँग हरदिन उठबस चलिराछ त ।

त्यसैले आफूलाई राजनीतिका परिपक्व खेलाडी भन्न रुचाउने पीएम ओली र उनको बोली बन्दुकको गोली झैं सम्झिनेहरले अल्लारे उमेरका ठिटा ठिटीझैं आवेगमा आएर हुन्छ र भन्या ?

प्रतिक्रिया दिनुहोस्