श्रीमतीको व्यवसायले श्रीमान खुसी



उत्तम नेपाल, भद्रपुर । देशमा भनेजस्तो रोजगारी नपाएपछि प्रायः पुरुषहरु रोजगारीको लागि विदेश जान बाध्य हुन्छन् । घर वा कोठा भाडामा लिएर श्रीमतीसँगै सन्तानलाइ छाडेर परिवार चलाउन विदेश गएका कतिपय श्रीमानले जसो तसो गरेर रकम पठाइ रहेका हुन्छन् । विश्वासको आधारमा पठाएको रकम स्वदेशमा रहेकी श्रीमतीले दुरुपयोग गरी श्रीमान आउँदा रकम त के श्रीमती र सन्तान समेत वेपत्ता भएका घट्ना समाजमा धेरै छन् । तर, अर्कोतर्फ श्रीमानले पठाएको थोरै रकमलाइ जोहो गरेर सदुपयोग गरिरहेको घट्ना पनि यही समाजमा पाइन्छन् ।

झापामा यस्तै एउटा उदाहरणीय काम फेला परेको छ । भद्रपुर १० का उमेश पौडेलले ६ वर्ष विदेशमा श्रम गर्दै केही रकम श्रीमतीलाइ पठाउदै गरे । पठाएको रकममध्ये वचेको ७० हजार रुपैयाँले उनकी श्रीमती टीका भण्डारी पौडेलले यो रकमबाट केही गर्नु पर्छ भन्ने सोच बनाइन् । उनले श्रीमानसँग सल्लाह गरिन् र ६ महिना अघि घरैमा विभिन्न स्थानबाट सुख्खा सुपाडी ल्याएर टुक्रा बनाउदै बजारमा अर्डर लिन थालिन । शुरुमा त रातभर काम गरेको उनले सुनाइन् । छोरीलाइ गृहकार्य गराएर सुताएपछि मेरो काम शुरु हुेने गरेको उनले बताइन ।

केही महिना पछि बजारमा सुपाडीको माग बढ्न थालेपछि विदेशबाट श्रीमानलाइ बोलाएको उनले जनाइन् । बजारमा सुपाडीको बिक्री देखिन थालेपछि उनले सभ्यता प्याकेजिङ् उद्योग दर्ता गराइन् । त्यसपछि शनिश्चरे ,विर्तामोड लगायतका क्षेत्रबाट सुपाडी खरिद गर्न शुरु गरिन् । हाल ५ जना कर्मचारी र पौडेल दम्पतीसहित दिनभर काममा व्यस्त देखिएका छन् । अझै राती अबेरसम्म काममा नै रमाउने गरेको उनीहरु बताउँछन् । मासिक ४ सय किलो सुपाडी बजारमा खपत हुने गरेको टीकाले सुनाइन् । सराँैतोले टुक्रा पारेका सुपाडीलाइ छानेर प्याकेजिङ् गरी अर्डर अनुसार वजार पुर्याइने उमेशले जनाए । अर्डर बाहेक अन्य पसलमा नजाने गरेको उनको भनाइ छ ।

हाल मुख्य बजार नै चन्द्रगढी र भद्रपुर क्षेत्र रहेपनि भविश्यमा झापाभर पुर्याउने लक्ष्य रहेको उनले बताए । विदेशमा भन्दा बढी रकम सुपाडी बेचेर कमाउने गरेको उनको भनाइ छ । श्रीमतीले शुरु गरेको व्यवसायमा खुसी हुदै अब विदेश नजाने घोषणा उमेशले गरेका छन् । रोजगारीका लागि विदेश गएकाहलाइ समेत उनले स्वदेशमा नै केही न केही गर्न सुझाव दिएका छन् । हाल मासिक ३० हजार रकम खर्च हुदै आएको छ भने नाफा पनि बढ्दै गइरहेको उनले जनाए । केही महिनापछि दालचिनी,मरिच,मसला समेतको प्याकेजीङ् शुरु गरिने उनीहरुले निश्कर्ष निकालेका छन् ।

घरमा टिभी र मोवाइल हेरेर समय विताउँनु भन्दा केही गर्न उचित लागेर यस्तो काम गर्दै आएको उसा अधिकारीले बताइन् । कोठा भित्रै वसेर गरिने भएकोले काम गर्न सहज भएको उनले सुनाइन् । काम खोज्न बाहिर जाँदा धेरै समस्या आउने भएकोले महिलाहरुको लागि यो काम उचित भएको सङ्गिता निरौला बताउँछिन् । विना काम वस्यो भने अनेक थरी दिमागमा घुम्ने भएकोले काम र दाम भएकोमा खुसी लागेको उनको भनाइ छ । महिला पुरुष जो सुकै भएपनि विना काम नवस्न उनीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्