दस वर्षपछि बल्ल ठडियो खैरेनीघाट पुल



मधुसूदन रायमाझी, रामेछाप
१० वर्षअघि निर्माण कार्य शुरू भएको रामेछाप–सिन्धुली जोड्ने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणले गति लिएको छ। निर्माण कम्पनीले चारवटा पिलर निर्माणसँगै पुलको ढलान र स्टिल ट्रस्ट जडानको काम सम्पन्न गरेको छ। जनप्रतिनिधि र स्थानीयले चर्को दबाब दिएपछि यस आर्थिक वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माणको काम अगाडि बढेको छ।

तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपछि निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले पुल निर्माणको काममा ढिलासुस्ती गर्दा वर्षौंदेखि काम अलपत्र पर्दै आएको थियो। हरेक वर्ष पुल सम्पन्न हुने आशामा रामेछापबासीले १० वर्षपछि अब भने पुल उपभोग गर्न पाउने भएका छन्। १० वर्षको अवधिमा निर्माण कम्पनीले पटक–पटक पुल निर्माण गर्ने लिखित सम्झौता गरे पनि कार्यान्वयन गर्न सकेको थिएन। रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाले पटक–पटक पुल महाशाखा र डिभिजन सडक कार्यालय खुर्कोटमा दबाब दिएपछि निर्माण कम्पनीले पुल निर्माणमा चासो देखाएको थियो।

पुल निर्माण जिम्मेवारी पाएको खम्पाचे/लामा/कन्काई जेभीलाई कालोसूचीमा राख्ने सूचना प्रकाशित गरेको थियो। सूचना प्रकाशित भएपछि केही काम अगाडि बढेपछि गति लिन सकेको थिएन। वर्षाको समयमा सुनकोसी नदीमा पानीको वहाव बढी हुने भएको कारणले काम गर्न नसकिने र हिउँदको अन्तिम समयमा पनि वर्षा लाग्ने बेलामा मात्र ठेकेदारले केही काम गरेर बिल बनाउने गरेको थियो। निर्माणको मुख्य जिम्मेवारी लिएको लामा÷खम्पाचे÷कन्काई जेभी मध्येका कन्काई निर्माण सेवाका सञ्चालक राम मैलानीले यसै वर्ष गाडी गुडाउने गरी काम भइरहेको बताए। उनले भने– ‘काम अन्तिम चरणमा पुगेको छ, कोसीमा मुख्य काम ट्रस्ट जडानको काम भइसकेको छ, अब फिनिसिङको काम बाँकी छ, त्यसलाई पनि समयमा नै सम्पन्न गर्छौं।’

विगततिर फर्किन आफू नचाहेको बताउँदै उनले काम अरूले शुरू गरे पनि आफूले पुनः जिम्मेवारी लिएर पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको बताए।

१० वर्षको अवधिमा सुनकोसीतर्फ तीनवटा पिलर मात्र निर्माण भएको थियो। करिब ८ करोड रुपियाँमा निर्माणाधीन पुल निर्माणको क्रममा डिजाइ परिवर्तन हुँदा निर्माणमा ढिलाइ भएको गुनासो निर्माण कम्पनीले गरेको छ। करिब ८३ मिटर लम्बाइको पुल सुनकोसी नदीमै छोटो पुलका रूपमा रहेको छ। रामेछाप जिल्लाको प्रमुख नाकाका रूपमा रहेको निर्माणाधीन पक्की पुल समयमा नै निर्माण नहुँदा सास्ती झेल्दै आएको स्थानीय राज मैनालीले बताए। राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दूरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधीन पुल समयमा निर्माण नहुँदा रामेछापबासीले ठूलो सास्ती खेप्दै आएका छन्।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले समयमा नै पुल निर्माण नहुँदा रामेछापबासीले ठूलो हैरानी र सास्ती खेप्दै आएको बताए। उनले भने– ‘पटक–पटक भेटर ध्यानाकर्षण गराएपछि अहिले पुल निर्माणको कामले गति लिएको छ, आशा गरौं यस वर्ष पुल निर्माणको काम सम्पन्न भएर गाडी गुडछ।’

अहिले सञ्चालन भइरहेको बीपी राजमार्गसँगै निर्माणाधीन पुल सम्पन्न भएपछि रामेछापका बासिन्दाले तराई र राजधानी काठमाडौं आवतजावत गर्न सहज हुनेछ। पुल निर्माण भएपछि रामेछापका स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन बिक्रीवितरण गर्न सहज हुनुकै साथै पर्यटकीय सम्भावना बोकेर बसेका सुनापती गाल्वा र दोरम्बालगायतका स्थानको विकासमा टेवा पुग्नेछ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बारम्बार भेटेर दबाब दिएपछि पुल निर्माणको काम आशालाग्दो ढंगले अगाडि बढेको बताए। उनले भने– ‘धैरैपटक पुल निर्माण गर्नका लागि पुल महाशाखा, सडक डिभिजन कार्यालय खुर्कोटमा धाइयो, तर निर्माण कम्पनीले यसपटक इमानदारिताका साथ काम गरेको छ।’

प्रतिक्रिया दिनुहोस्