सामुदायिक संरचना निर्माणः कतै अवरोध, कतै असहयोग



नानीराम नेपाल, सिन्धुपाल्चोक
भूकम्पपछिको पुनर्निर्माणमा संलग्न निर्माण व्यवसायीले सिन्धुपाल्चोकमा काम गर्न अप्ठ्यारो भएको बताएका छन्। भूकम्प प्रभावित जिल्लामध्ये पुनर्निर्माणको काम गर्न सिन्धुपाल्चोकमा सबैभन्दा धेरै समस्या झेल्नुपरेको उनीहरूले बताएका हुन्।

पुनर्निर्माणमा सरोकार राख्ने निर्माण व्यवासायी, हार्डवेयर व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवाला सरकारी कार्यलयबीच केही दिनअघि चौतारामा ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालद्वारा आयोजित छलफलमा निर्माण व्यवसायीले स्थानीयस्तरमा विभिन्न समस्या झेल्दै पुनर्निर्माणको काम गर्नुपरेको बताए।

‘अन्य जिल्लामा भन्दा काम गर्न सिन्धुपाल्चोकमा समस्या भयो।’ –छलफलमा सहभागी एक निर्माण व्यवसायी भन्दै थिए। छलफलमा सहभागी निर्माण व्यवसायी भ्याली कन्स्ट्रक्सनका प्रमुख रवीन्द्र महर्जनले आफूले काम गरेका जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी दुःख भोग्नुपरेको गुनासो गरे। ‘गाउँमा विद्यालय नै चाहिँदैन जस्तो लाग्यो, स्कुल बनाउँदा स्थानीयले नै सहयोग गरेनन्।’ –उनले भने।

स्थानीयबासीले पानीको मुहान, सामान ढुवानीजस्ता विषयमा अवरोध सिर्जना गरी असहयोग गर्ने गरेको उनले सुनाए। ‘पानीका मुहानमा अवरोध हुन्छ, निर्माण सामग्री ढुवानीमै अवरोध हुँदै आएको छ’, उनले भने– ‘अवरोध र समस्याका कारण समयमै काम सम्पन्न गर्न पाइँदैन।’ निर्माण व्यवसायीमार्फत सार्वजनिक संरचना निर्माणको काम गरिरहेका संघसंस्थाले पनि पुनर्निर्माणमा विभिन्न खालका समस्या झेल्नुपरेको बताए। निर्माण व्यवसायी र स्थानीय जनताबीचको असमझदारीका कारण कतिपय विद्यालयका भवन संरचना निर्माणमा समस्या आइपरेका छन्।

‘व्यवसायी र समुदायबीच असमझदारीले बिल्डिङका काम नै रोकिएका पनि छन्।’ –पुनर्निर्माणको काम गर्दै आएको एक गैरसरकारी संस्थाका प्रतिनिधिले भने। निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका महासचिव राजेन्द्र श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री पाउनै कठिन पर्नेगरेको बताए। त्यसमाथि सम्बन्धित निकायका प्राविधिकले नापजाँचमा ढिलाइ गर्दा रकम भुक्तानीमा पनि ढिलाइ भइरहेको र निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको उनले सुनाए।

अनुगमनका क्रममा कतिपय ठाउँमा भवनसंरचनामा गुणस्तरीय निर्माण नभएको संकेत गर्दै सम्पूर्ण व्यवसायीलाई गुणस्तरीय पुनर्निर्माणमा ध्यानदिन जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले सुझावसमेत दिइन्। कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सदाचारयुक्त पुनर्निर्माणमा सरोकारवालाहरू जुट्नुपर्ने औंल्याए। कार्यक्रमको औचित्यबारे प्रस्ट्याउँदै टीआई नेपालका प्रशासकीय अधिकृत दीनानाथ भट्टराईले व्यवसायीहरू आवश्यक छलफलमा नजुटेका कारण समस्या पहिचान गर्न गाह्रो भएको बताए।

घरबासमा सरे ६० हजार भूकम्पपीडित

भूकम्पको ४६ महिना बितिरहँदा जिल्लामा झन्डै ६० हजार निजी घरसंरचना निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्पको ४६ महिनामा ५९ हजार ५ सय ९८ भूकम्पपीडित लाभग्राही निजी आवास निर्माण सम्पन्न गरी घरबासमा सरेका हुन्।

जिल्ला आयोजना कार्यान्यन इकाइका अनुसार अनुदान सम्झौता भई निजी आवास निर्माणको पहिलो किस्ता लिएका ८५ हजार ५ सय २३ लाभग्राहीमध्ये ९० प्रतिशतभन्दा बढीले पुनर्निर्माणको काम धमाधम गरिरहेका छन्। ८१ हजार ४ सय ४३ लाभग्राहीले आवास निर्माण शुरू गरेकामा ५९ हजार ५ सय ९८ ले आवास निर्माण सम्पन्न गरेका हुन्। २१ हजार ८ सय ४५ भूकम्पपीडित लाभग्राहीले धमाधम आवास निर्माण गरिरहेको पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिए। ‘निर्माण शुरू गरिएका अधिकांश निजी आवास सम्पन्न हुने चरणमा पुगिसकेका छन्।’ –उनले भने। अनुदानको पहिलो किस्ता लिएकामध्ये ४ हजार जनाले भने हालसम्म निर्माणको काम थालेका छैनन्।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, पूर्वाधार तथा अनुदान व्यवस्थापन इकाइका अनुसार हालसम्म अनुदान सम्झौता भएका शतप्रतिशतले पहिलो किस्ता पाइसकेका छन्। पहिलो किस्ताको काम सम्पन्न गर्ने ७६ हजार ८ सय ६ जनालाई दोस्रो किस्ताको डेढ लाख प्रदान गरिएको छ। त्यस्तै दोस्रो किस्ताको पनि काम सम्पन्न गरेका ५६ हजार ८ सय ६४ लाई तेस्रो किस्ताको रकम नै प्रदान भइसकेको छ। अनुदानको पहिलो किस्ता लिएर हालसम्म घर नबनाउने विभिन्न १२ जनाले अनुदानको रकम नै फिर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्