सच्चा राष्ट्रवादीहरु चनाखो होऊ



स्वतन्त्र तराईको मुद्दा बोकेर मुलुक विभाजनमा लागेका सीके राउत समूहलाई सरकारले मूलधारको राजनीतिमा ल्याएको भन्दै ११ बुँदे सहमति गरेपछि अहिले मुलुकको राजनीति तरंगित भएको छ । सरकार यसको बचाउमा छ भने प्रमुख प्रतिपक्षी सशंकित भएको छ । बुद्धीजीवी भनिएकाहरु अहिले ११ बुँदेको विरोधमा सामाजिक सञ्जालका भित्ता रंगिन पार्न तल्लीन छन् ।

११ बुँदे सहमतिपछि मुलुकमा देखिएको तीव्र असन्तुष्टि र सीके राउतले जनकपुरमा गरेको शक्ति प्रदर्शनपछि सरकार पनि झसंग हुने अवस्थमा पुगेको छ । सरकार विखण्डनकारी समूहलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै केही तत्वलाई टाउको दुखाइ भएकोमा आश्चर्यमा परेको छ । यता बुद्धिजीवीहरु सरकार त्यस्ता तत्वसँग वार्ता गरेर मुलुकको अखण्डतामा धाबा बोलेको भन्दै सरकारको आलोचनमा आफ्ना शब्द खर्च गर्न तल्लीन छन् । यसले के संकेत गर्छ ? मुलुक कुन बाटोमा हिँडेको छ भन्ने छलाङ नै भएको छ ।

सरकारले मधेसलाई बेस बनाएर राजनीति गर्नेहरुलाई बिस्तारै मूलधारको राजनीतिमा ल्याउन चाहेको दाबी गर्छ भने मधेसी दल र अन्य केही समूह भने क्षेत्रीय राजनीतिलाई सरकारले सिध्याउन लागेको भन्दै पछिल्लो सहमतिलाई विवादमा ल्याउन उद्यत् छ । सीके राउतहरुले जनकपुरमा गरेको शक्ति प्रदर्शन र तराईको बारेमा जनमत संग्रह गर्नुपर्ने भन्ने अभिव्यक्तिलाई भने कुनै पनि नेपालीले स्वीकार गर्न सक्ने अवस्था देखिँदैन । यो प्रश्न उठाउनु स्वयम् सीके राउतहरुका लागि पनि घातक हुन सक्छ ।

सीके राउतहरुले उठाउँदै आएको मुद्दामा केही तत्वहरुको घुसपैठ भएको विश्लेषणपछि सरकारले उसलाई विखण्डनकारी कित्ताबाट मुक्त गर्न चाहेको प्रधानमन्त्री स्वयंले सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । सरकारले विखण्डनको मुद्दामा कुनै बहस नै हुन नसक्ने र सोचनीय विषय पनि नभएको बताइरहेको छ । यस अवस्थामा केही बुद्धिजीवीहरु भने आफूलाई समाजमा स्थापित गराउन समाज विखण्डन हुने खालका अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त भएको बताउँछन् । यसले मुलुकलाई सही बाटोमा नभएर भाँडभैलोतर्फ लैजाने देखिन्छ ।

अभियन्ताहरु ‘वाच डग’को भूमिकामा देखिनुपर्ने हो तर हामीकहाँ अभियन्ताका नाममा आएका व्यक्तिहरुको चरित्र नै शंकास्पद र सन्देहजनक देखिन्छ । भाँडभैलो उन्मुख राज्यलाई सम्हाल्ने होइन, त्यसभित्र प्रवेश गरेर उधुम मच्चाउने जमातलाई बढवा दिने कामले प्रश्रय पाउनु पक्कै राम्रो संकेत होइन । अहिले छिमेकीहरु पनि मुलुकमा भाँडभैलो मच्चाउन उद्यत् रहेका छन् । छिमेकीको गोटी बन्ने समूहले सामाजिक सञ्जालमा व्यक्त गरेका निजी विचारलाई विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनीहरु आफ्नो बुद्धि–विवेकभन्दा पनि अरु कसैको दास बनेका छन् । त्यसैले यतिखेर मुलुकको भविष्य अन्धकारतर्फ धकेलिने क्रम जारी छ । सच्चा राष्ट्रवादीहरु अब चनाखो हुनुपर्ने अवस्था आएको छ । यसतर्फ सबैको ध्यान जाओस् । अब सच्चा राष्ट्रवादीले ‘वाच डग’को भूमिका खेल्नुपर्ने टड्कारो आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्