वागमती सफाई महाअभियानमा धक्का, सीधै बगाइन्छ बालुवा उद्योगको लेदो पानी



टीका बन्धन, काठमाडौं ।
नयाँ वर्षको अवसर पारेर २०७१ बैशाख १ मा तत्कालिन मुख्य सचिव लिलामणी पौडेल लगायत विभिन्न मन्त्रालयका सचिवले गुहेश्वरी घाटमा सामुहिक स्नान गर्दा धेरैले हौसिदैँ भनेका थिए–‘बागमतीले ढिलै भए पनि काँचुली फे¥यो, बागमती सफाई अभियानले बल्ल सार्थकता पायो ।’

सामुहिक स्नानमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका तत्कालिन सचिव कृष्णहरि बाँस्कोटा, सहरी विकास मन्त्रालयका तत्कालिन सचिव किशोर थापालगायत अन्य बरिष्ठ अधिकारी पनि सामेल भएपछि चर्चा निकै चुलिएको थियो । बागमति सफाईले गति लिएसँगै एक वर्षअघिसम्म पशुपति क्षेत्र आसपासमा सुन्दरीजलदेखि पशुपति क्षेत्रसम्म निरन्तर सङ्लो पानी बग्न थालेपछि माछा र अन्य जलचरको चहल–पहल बढ्न थालेको थियो ।

तर अहिले पानीको स्वच्छता झनै विग्रिएको छ, बागमतीको पानी धमिलो बनेको छ, माछा र अन्य जलचरमैत्री छैन । गोकर्णेश्वरभन्दा माथिल्लो खण्डमा वालुवा प्रशोधन उद्योग सञ्चालन भएपछि बागमतीमा लेदो मिश्रित धमिलो पानी वहन थालेको छ । जुन कार्यबाट बागमती सफाई महाअभियान नै प्रभावित बनेको छ । गोकर्णेश्वर नगरपालिका–३ साविकको बालुवा गाविसमा सञ्चालित २ वटा प्रशोधन उद्योगको निकास सूर्यमति खोला हुँदै बागमतीमा मिसिएकाले गोकर्णदेखि तल्लो खण्ड प्रत्यक्ष प्रदुषित बन्न थालेको बागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताउनुहुन्छ ।

‘५/६ महिना भयो बालुवा उद्योगका कारण बागमती निकै प्रदूषित बनेको छ । माछा, अन्य जलचर पनि बाँच्न सक्ने अवस्था छैन । गाईवस्तुले समेत पानी पिउने अवस्था छैन ।’

‘५÷६ महिना भयो बालुवा उद्योगका कारण बागमती निकै प्रदूषित बनेको छ, माछा, अन्य जलचर वाँच्न सक्ने अवस्था छैन, उहाँ भन्नुहुन्छ–‘गाईवस्तुले समेत पानी पिउने अवस्था छैन ।’

मञ्च बागमती सफाई अभियानमा जोडिएका संघ÷संस्थाको छाता संस्था हो । गोकर्णेश्वरमा सूर्यमती र चन्द्रमती खोलाको निकास बागमतीमा मिसिन्छ । सो नगरपालिकाअन्तर्गत ३ वटा प्रशोधन उद्योगले अनुमति लिएकामा सञ्चालनमा रहेका दुई वटाले खानी विभागबाट र एउटाले नगरपालिकाबाट स्वीकृत लिएको मेयर सन्तोष चालिसेको भनाइ छ ।

उहाँका अनुसार आफूले नगरको जिम्मेवारी सम्हाल्नु अगावै विभागबाट स्वीकृत लिएका उद्योगलाई हटाउन मिल्ने कानूनी प्रावधान छैन । ‘तर सञ्चालनमा रहेका र अनुमति लिएका उद्योगलाई नदी र आसपासको वातावरणमा असर नपु¥याउने विधी अनिवार्य पालना गर्न निर्देशन दिइएको छ’–चालिसे थप्नुहुन्छ ।
प्रदुषित नदीको अवस्था सुधार्न र नयाँ उद्योगलाई सञ्चालन अनुमति नदिन मञ्चले पटक–पटक गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएको छ ।

‘दुवै नगरपालिकाले नयाँ प्रशोधन उद्योगलाई सञ्चालन अनुमति दिएको जानकारीमा आएको छ, कार्यान्वयन नगर्न पटक–पटक ध्यानाकर्षण गराएका छौ’–बागमति सफाई अभियानका अभियन्ता केशवप्रसाद पुडासैनी भन्नुहुन्छ–नगर पदाधिकारीलाई ध्यानाकर्षण गराएपछि केही दिन अवस्था सुधारोन्मुख जस्तो देखिने तर पछि अवस्था उस्तै हुने गरेको छ ।’

कागेश्वरी नगर र शंखरापुर नगरको निकास सोझै मनोहरा नदीमा मिसिने गर्छ । कागेश्वरीमा करिव आधा दर्जन प्रशोधन उद्योग सञ्चालित छन् भने शंखरापुरमा डेढ दर्जन भन्दा बढी उद्योग छन् । कागेश्वरीका प्रशोधन उद्योगलाई पनि वातावरणमैत्री बनाउन नगर गम्भीर भएको र नदीमा प्रदुषित पानी नछोड्न निर्देशन दिइएको सो नगरका मेयर कृष्णहरि थापा बताउनुहुन्छ ।

बागमती सुधार आयोजना सुरु भएको अढाई दशक भइसकेको छ । नदीको अवस्था सुधार्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति पनि क्रियाशिल छ तर बालुवा प्रशोधन उद्योगलाई व्यवस्थित गर्न समितिले ‘आफ्नो कार्यक्षेत्र होइन’ भन्दै पन्छिने गरेको मञ्चका पदाधिकारीहरू बताउँछन् । खानी विभागबाट अनुमति पाएका उद्योगको नियमन गर्ने जिम्मा समितिभित्र नपर्नु स्वाभाविक भएको उक्त समितिका सूचना अधिकारी प्रभात श्रेष्ठको प्रतिक्रिया छ । तथापि समितिले कारबाही सिफारिस गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

अढाई दशकको अवधिमा सुन्दरीजलदेखि गोर्कर्णेश्वर खण्ड वागमती ढलरहित छ । गोकर्णेश्वरदेखि तल्लो खण्डको ढलरहित बनाउने प्रयास निरन्तर भए पनि सो अभियान अझै सत प्रतिशत सफल हुन नसकेको समिति पदाधिकारी स्वीकार्छन् ।

प्रतिक्रिया दिनुहोस्