दार्जिलिङविरुद्ध पुलिसको संघर्षपूर्ण जीत



गणेश घिमिरे, इलाम ।
उपाधिको दाबेदार मानिएको नेपाल पुलिस क्लब माईभ्याली गोल्डकप फूटबलमा बिजयी बन्दै सेमिफाईनलमा प्रबेश गरेको छ । मंगलबार सम्पन्न पहिलो क्वार्टरफाईनलमा पुलिसले युनाइटेड दार्जिलिङसंग संघर्षपूर्ण जित दर्ता गरेको हो । पुलिसका लागि खेलको छैठौ मिनेटमा सौजन्य याक्खा र भरत शाहले ८१ औं मिनेटमा गोल गरेका थिए । दुबै गोल फ्रि किक मार्फत भएको थियो ।

पेनल्टि क्षेत्र नजिकै दार्जिलिङका गोलरक्षक बिनोद क्षेत्रीले सौजन्यलाई लडाएपछि पाएको फ्रिकको सदुपयोग गर्दै उनले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा १–शुन्यले पछि परेको दार्जिलिङले दोस्रो हाफपछि पनि गोल खान पुग्यो ।

खेलको ८१ औं मिनेटमा जंग भुटियाले भरत शाहलाई फल गरेपछि भरतले नै फ्रिकिक मार्फत गोल गरेका थिए । भरतले प्रहार गरेको बल गोलरक्षक बिनोद क्षेत्रीले रोक्न खोज्दा हातबाट बल फुत्केर गोल भएको थियो । २ गोलले पछि परेको अवस्थामा दार्जिलिङ्गले खेलमा फर्कन पटक–पटक प्रयास गरेपनि सफल हुन सकेन । ८५ औं मिनेटमा पेनल्टि क्षेत्रभित्र दिवस राईको क्रस पासमा करन राईले गोल गरेपनि दार्जिलिङ्गले हार टार्न सकेन ।

खेलको ४२ औं मिनेटमा पुलिसका दिनेश गुरुङले लङ रेञ्जबाट प्रहार गरेको बल क्रस बारमा लागेको थियो । दार्जिलिङ्गका सोनाम लाप्चाले पेनल्टि क्षेत्रबाट प्रहार गरेको बललाई पुलिसका गोलरक्षक रोसन खड्काले मुस्किलले बचाएका थिए । दार्जिलिङ्गले पुलिसको पोष्टमा दर्जनौ प्रहार गरेपनि गोलरक्षक रोसन बाधक बन्न पुगे ।

पुलिसले पनि दार्जिलिङ्गको पोष्टमा दर्जनौ प्रहारहरु गरेको थियो । पुलिसले अव ३० गते हुने एपिएफ र क्यामरुनको दाउफिन्स बीचको बिजेतासंग प्रतिष्पर्धा गर्नेछ । मंगलबारको खेलमा पुलिसका सौजन्य याक्खा म्यान अफ दि म्याच घोषित भए । उनले नगद दशहजार रुपैंयाँ प्राप्त गरे । युनाइटेड दार्जिलिङ आयोजकलाई हराउँदै क्वार्टरफाईनलमा प्रबेश गरेको हो भने पुलिस सिधै बाई पाएर क्वार्टरफाईन खेल खेलेको हो । प्रतियोगितामा बुधबार हिमालयन शेर्पा क्लब र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

चैत ५ गतेसम्म हुने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छ । २०७१ सालमा सुरु भएको माईभ्याली गोल्डकप फस्टबल प्रतियोगिता पूर्वी पहाडकै धेरै धनराशि पुरस्कार भएको प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्