बस्ती पुनर्निर्माण गर्न ३० करोड बजेट विनियोजन



काठमाडौं, (नेस)
भँकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि १ करोड २० लाखसहित पुनर्निर्माणका लागि ३० करोड रुपियाँ विनियोजन भएको छ ।
काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्षभित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपियाँ बजेट निकासा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका खोकना (ललितपुर), बुङमती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिनुभयो ।

प्याकुरेलका अनुसार उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएका छन् ।

त्यसैगरी, भँकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सँचीमा परेका क्षेत्रहरुको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ ।
यस कार्यक्रमअन्तर्गत प्रत्येक क्षेत्रको अध्ययनका लागि २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र ५ करोड बजेट परिचालन हुनेछ ।
यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चांँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भुनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्