कर्मचारीतन्त्र पुनर्संरचना, अवसर गुम्ने सम्भावना



मुलुकको परिवर्तनसँगै कर्मचारी संयन्त्रको पुनः संरचना गर्ने स्वर्णिम अवसर क्रमशः गुमाउँदै छौं । कर्मचारी समायोजन कर्मचारीतन्त्रभित्र रहेका तमाम कमजोरीहरू सुधारेर ऊर्जाशील जनशक्तिले युक्त, चुस्त, उत्पादनशील स्थायी सरकार निर्माण गर्ने उपयुक्त अवसर पनि थियो । तर यति बेला यो समायोजन सार्वजनिक सेवा सुधारको लागि वरदान हुन सकेन ।

कर्मचारी समायोजन प्रक्रिया अझै टुंगिएको छैन । शुरुवाती दिनमा गति लिएको समायोजनले पछिल्ला दिनमा भने धिमा गतिमा अघि बढिरहेको छ । समायोजन भइसकेका सबै कर्मचारीले समायोजनको पत्र अझै पाउन सकेका छैनन् । अर्कोतर्फ प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको आधा पनि समायोजन हुन नसकेको पाइएको छ । कर्मचारी समायोजन कार्य अन्तिम चरणमा पुग्दै गर्दा यस्तो अवस्था देखिएको हो । यसले कर्मचारी संयन्त्रले अझै पनि मुलुकको परिवर्तनलाई आत्मसात् गर्न नसकेको प्रतीत हुन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेका छन् । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ रहेको छ । संघकै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेका छन् । सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेको छैन । प्रदेशमा ८ हजार १ सय ५५ र स्थानीय तहमा ८ हजार ५ सय ४७ कर्मचारी समायोजन गरिएको छ । प्रदेशमा आवश्यकभन्दा तीन गुणा कम र स्थानीय तहमा नौ गुणा कम कर्मचारी समायोजन भएका छन् ।

मुलुकको प्रशासनिक पुनः संरचना प्राविधिक एवं जटिल विषय पनि हो । यसर्थ यसको समस्या उत्तिकै रहने गर्दछ । पछि पर्न सक्ने प्रभाव र असरलाई आँकलन गर्न सकिएन र प्राविधिक विषय मिलाउन जानिएन भने मुलुक नै अस्थिरता र दुर्घटनामा फस्न सक्ने प्रबल सम्भावना रहन्छ । अधिकांश कर्मचारीले उपत्यकाको खाल्टो नछोड्नुले पनि समायोजनको लक्ष्य पूरा गर्न नसकेको पुष्टि गर्दछ । प्रशासनिक संघीयतालाई कसरी बलियो बनाउने र मुलुकमा भएको व्यवस्था अनुकूल बनाउने भनेर राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारीले गम्भीर भएर नसोच्ने हो भने संघीयता कार्यान्वयनमा नै तगारो रहिरहने अवस्था आउँछ । त्यसैले यस विषयमा बेलैमा सचेत बनौं ।

प्रतिक्रिया दिनुहोस्