त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन



भद्रपुर ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु प¥यो । सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल ग¥यो । झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो ।

पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यत्तिगत २ गोल गरे । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेन । दर्शकको भरपुर समर्थन पाएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो ।

आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो । प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर झापाका दिलेन लोक्ताम घोषित हुँदै एक थान मोटरसाइकल पाए । बेस्ट द डिफेन्स झापाकै देवेन्द्र तामाङ्ले २१ हजार, राइजिङ् प्लेयर निशान्त खड्काले १५ हजार, बेस्ट कोच आर्मीका चुनबहादुर थापाले २१ हजार, बेस्ट किपर विकेश कुथुले २१ हजार र म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ्ले नगद १५ हजार पाए । त्यस्तै, सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले ३ गोल गर्दै नगद २१ हजार पाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्