जनताका नामको विध्वंशले द्वन्द्व निम्तिने खतरा



नेकपा नामले चिनिएका विप्लव माओवादीको अराजकताका कारण मुलुकमा फेरि सन्त्रास फैलिएको छ । राज्यसत्ताविरुद्धको आन्दोलनमा अर्धभूमिगत शैलीमा छापामार युद्धको झझल्को दिने गरी उसले चालेका पछिल्ला कदमले राज्य सशंकित भएर कठोर रणनीति अपनाउन लागेको भान हुन थालेको छ ।

हिजोको युद्धलाई बिर्सन नसकेका नेत्रविक्रम चन्दले भूमिगत शैलीमा आन्दोलन गर्ने र माओवादी राज्यसत्ता स्थापनामा लाग्ने भन्दै विभिन्न ठाउँमा ध्वंशात्मक गतिविधिलाई तीव्रता दिइरहेको बेला सरकारले भने अब चन्दमाथि राजनीतिक व्यवहार नगर्ने घोषणा गरेपछि मुलुकभर सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।

हिजो मुलुकको झन्डै ६० प्रतिशतभन्दा बढी क्षेत्रफललाई आफ्नो नियन्त्रणमा लिएको विद्रोही माओवादीले अहिले सरकारको नेतृत्व गरिरहेको छ । गृहमन्त्री रामबहादुर थापाले विप्लव माओवादीमाथि कडा प्रहार गरेपछि अब विप्लव माओवादी साँच्चिकै विद्रोही हुन्छ कि, केही ठाउँमा गोलाबारुद पड्काउन अनि आफ्नो दुनो सोझ्याउने काम मात्रै गर्छ, त्यो भने हेर्न बाँकी छ । पछिल्लो समय उसले ठूला व्यापारिक घरानालाई टार्गेट बनाएर आक्रमण गर्नुले राजनीतिक उद्देश्यभन्दा पनि चन्दा संकलन गर्ने र आफ्नो दुनो सोझ्याउने काम मात्रै गरेको त होइन भन्ने विभिन्न कोणबाट प्रश्न उठेको छ । प्रश्न उठ्नु पनि स्वाभाविक हो भन्ने उनीहरुको पछिल्लो व्यवहारले पनि पुष्टि गरेको छ ।

गृहमन्त्री थापाले भनेझैँ उनीहरुको गतिविधिमा कतै पनि राजनीतिकपन नदेखिनुले उनीहरु रकम संकलन गर्ने तर जनताको पक्षमा भन्दा पनि आफू र आफ्ना केही सीमित कार्यकर्ताको पक्षमा देखिने हुन् कि भन्ने चिन्ता विश्लेषकहरुले गरेका छन् । खुल्ला बोर्डरको फाइदा उठाउँदै चन्दलगायतका केही नेता अहिले भारतमा बसेको र कार्यकर्तालाई प्रयोग गरेर आतंक मच्चाउने काम भएको निष्कर्षमा सरकार पुगेर उनीहरुमाथि कारबाही गर्ने तयारीमा छ । यसले कतै मुलुकमा फेरि द्वन्द्व त निम्त्याउने होइन ? भन्ने आशंका पनि जन्माएको छ ।

हो, विप्लव समूहले पनि आफ्नो गतिविधिलाई ध्वंशात्मक नबनाई राजनीतिक विचारलाई जनतासमक्ष पु¥याएर मुलुक परिवर्तन गर्न सक्नुपर्दछ । सधैँ लडाइँ–झगडाले मात्र मुलुक बन्दैन । केही सीमित व्यक्तिले अब मुलुक द्वन्द्वमा गयो भने फाइदा लेलान् तर जनताका नाममा हुने विध्वंशले मुलुक कहिल्यै बन्नेवाला छैन । यसतर्फ विप्लव माओवादीको ध्यान जान जरुरी छ । हिजो १० बर्से माओवादी युद्धले मुलुकलाई कुन अवस्थामा पु¥याएको थियो र अब युद्ध भयो भने मुलुक कुन अवस्थामा पुग्ला ? बेलैमा बुद्धि पुगेन भने पछि पछुताउनुको कुनै अर्थ रहँदैन । त्यसैले सबैको ध्यान यसतर्फ जाओस् ।

प्रतिक्रिया दिनुहोस्