राजनीति: समाज सेवा कि दलालीको समूह !



दामोदर पौडेल
राजनीतिको लक्ष्य जनताको उच्च सेवा गर्नु हो, विकास र समानतालाई समायोजन गर्नु हो र त्यसैबाट शान्ति प्राप्त गर्नु हो भन्ने मुख्य धारणाको आधारमा पहिला राजनीतिप्रति चासो हुने गर्दथ्यो । राजनीतिमा लाग्नेहरु व्यवस्थाका विरोधीहरुप्रति असहिष्णु रहने भए पनि दैनिक जीवनमा त्यति स्वार्थी हुने गर्दैनथे । यद्यपि केही ठूलाहरुका केही आर्थिक कार्यहरु शंकाको घेरामा रहन्थे । अहिले त्यस्तो छैन ।

बलात्कारीले राजनीतिक आवरणमा छुट नपाए पनि उसले गरेका अपराधहरु लुकाउनको लागि कार्यहरु हुन्छन् । अपराधको नाममा कर छलेर हजार रुपियाँको सामान ल्याउनेहरु प्रहरीबाट थुनिन्छन्, लछारिन्छन् र बेइज्जत गरिन्छन् । करोडौंको भ्रष्टाचार गर्नेहरुलाई सुरक्षा दिनेहरुले स्यालुट गर्दछन् र सञ्जालको कारणले कमिसन लिएर छोडिन्छ भन्ने गरिएको छ । हजार रुपियाँको सामान तस्करी गर्नेले दिनमा नाफा २ सय पनि पाउँदैन होला । उसले अर्को विकल्प भएको भए त्यो तस्करी गर्ने थिएन । दैनिक गुजाराको लागि गल्ती र अपराध गर्नेहरु धमाधम थुनिन्छन् र सजाय पाउँछन् । लाखौं र अर्बौंसम्मको भ्रष्टाचार गर्नेहरु सत्तामा लपक्कै टाँसिएर रहेका हुन्छन् । तर जनताको एउटा समूह ती ठूला अपराधीहरुको पक्षमा भ्रामक स्वर उजागर गर्दछन् ।

शायद पशुपति शर्माले ‘लुट्न सके लुट् र लुट्नेको पक्षमा भुक्’ भन्ने आशय राखेकोमा तीतो सत्य बुझेर नै होला । सानो अपराधीले पनि सजाय पाउनुपर्दछ । त्यसलाई राज्यले रोजिरोटीका लागि कामको अवसर दिए उसको अपराध रोकिन्छ । तर ठूला अपराधीहरु आधारभूत आवश्यकता नभएर अपराधी भएका होइनन् । ठूला अपराधीहरुको पक्षमा ठूलो जत्था हुन्छ । पैसा दिएकोले ठूलो दलको तर्फबाट कुनै पदमा उम्मेदवार बन्न पायो भने उसले चुनाव पनि जित्छ ।

हाम्रो प्रवृत्ति शारीरिक श्रम नगर्ने भएको छ । सबैले कलम चलाउने काम पाउने पनि हुँदैन । यी दुई कुराबाट बाहिर गएर त अपराध गरी नै कमाउने हो । तर आधारभूत आवश्यकता त शारीरिक श्रमले नै पूरा गर्ने हो । त्यसैले कालो नराम्रो लाग्ला तर ब्ल्याक बोर्डले नै विद्यार्थीको भविष्य उज्ज्वल गर्न सहयोग गर्दछ । हामीले श्रम र पसिना तथा हातमा काम गरेर हुने कालोलाई सम्मान दिन चाहेनौं । हातमा कालो हुने अवस्थाबाट गुजारा हुने उपाय सुझ्ने हो भने साना आर्थिक अपराधहरु नगन्य नै हुन्छन् । तर कुनै सरकारले पनि यसलाई ध्यान दिन सकेको छैन । हेरौं त सरकारले विदेशबाट काम गरी पैसा कमाएर आउनेहरुलाई ऋण सजिलोसँग कम व्याजमा दिने र नेपालमा नै बसेर अरु उपाय नभएका र विदेश जानको लागि पैसा नभएर नजानेहरु सरकारले दिने सहयोगको प्राथमिकतामा परेनन् । अब त २ वर्षपछि सरकारबाट ऋण लिन सजिलो होस् भन्नको लागि पनि विदेश जान पर्ने हो कि ?

राज्यले गाँस, बास, स्वास्थ्य, सुरक्षा, शिक्षाको आधारभूत विषय पूरा गर्न सकेको भए राजनीतिमा लाग्नेहरु कम हुन्थे होलान् । राजनीतिमा कम मानिसहरु लागेको भए नेताहरुका दलालहरु कम हुने हुन्थे होलान् । जब नेताहरुका दलालहरु कम हुन्छन् तब जनतामा सत्य सजिलैसँग पुग्छ । जनताले गलतलाई छान्दैनन् । अवस्था सुध्रन्छ ।

देशमा गरिब, केही नहुने, सीप नभएकाहरु कोही नै छैन त ? निजामती अस्पताल छ, शिक्षकहरुको पनि अस्पताल हुने कुरा सुनिदै छ । सुरक्षाकर्मीको लागि त अस्पताल छन् नै । धनीहरुको लागि जे गर्न पनि प्रशस्त पैसा छ । विशेष प्रकारको सहयोगको लागि अस्पताल नहुनेहरु भनेका गरिबहरु र अनौपचारिक क्षेत्रमा काम गर्ने अनि कुनै हैसियत नभएका नै त हुन् । अब औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि पनि अस्पताल बन्दै छन् । सबैबाट छाँटिएका गरिबीको रेखामुनि रहेका र मध्यमवर्गसमेत जो माथिका अवसरहरुबाट वञ्चित छन्, उनीहरुको संख्या ५० प्रतिशतभन्दा बढी छ । उनीहरु राज्यको प्राथमिकताबाट जहिले पनि किन बाहिर पर्ने हुन् ?

प्रस्टै छ कि उनीहरुको मतले देशमा नयाँ दलका इमानदार मानिसहरु र उनीहरुलाई नै सहयोग गर्नेहरुलाई चुनावमा जिताएर सरकार बनाउन सक्ने हैसियत राख्न सक्छन् । तर उनीहरुलाई किन नहेरिएको होला ? भन्दा एउटामात्र कारण के हो भने, उनीहरु जागिरे, नेता आदिबाट डोरिने गर्दछन् । डो¥याउनेहरुलाई हातमा लिएर पुग्ने भएपछि ती गरिब र पहुँचमा प्रत्यक्ष असमर्थहरुलाई स्वार्थी राजनीतिज्ञहरुले किन सेवा गर्ने ? केवल केही देखाउन गरेजस्तो गरे भइहाल्यो । समस्याको जड यही हो । इमानदारहरुले तिनीहरुलाई सम्झाउन सक्नुपर्दछ ।

फाटेको कपडाबाहेक नयाँ कपडा कहिल्यै नलगाएको र चामलको प्रयोग नगर्ने ठूलो समूहको लागि कुनै राज्य नै छैन । वास्तवमा मानिस किन यति स्वार्र्थी बनेको होला ? मलाई लाग्छ, पदको लोभ र मैले मात्र गरेर के हुन्छ र भनी धेरै आंशिक इमानदारहरुले पनि सही बाटो पहिल्याउन सकेका छैनन् । यो कामको लागि एनजीओहरु पनि छैनन् । हुन त एन्जीओहरुमाथि धेरै आरोप नै लाग्ने गरेका छन् ।

ए दीन ! (गरिब पनि) बाटामा किन काँडाहरु छन् । ए मन ! तसँग किन यति धेरै आँधी तुफानहरु आउँछन् र सबै त्यो नदेखिने ठाउँमा अट्छन् । तर ए विवेक ! तँ किन कहिल्यै लोभ र आवश्यकताहरु छुट्याउन सक्दैनस् । यी प्रस्नको उत्तर बेइमानहरुले खोज्नुपर्ने हो । खोज्ने क्षमता नहुनेहरुलाई कसैले खोज्न लगाउनुपर्ने पनि हो ।

यिनै जालझेलमा बेरिएकाले राजनीति पनि राजनीतिजस्तो रहेन । यो राजनीतिमा भएको लगावले मानिसलाई सुगा र घोडाजस्तो बनाइदिएको त छैन ? एकटन सामान टाँगामा बोक्न सक्ने सदाइएको एउटा घोडा ४ किलोको प्लास्टिकको कुर्सीमा डोरीले बाँध्दा इमानदारीका साथ बस्छ । एउटा सुगा जीवनको लामो सयमसम्म पिञ्जडामा बस्छ । जब मालिकलाई माया लाग्छ र बसे पनि खुलै रुपमा घरमा नै बसोस् भनेर पिँजडा भत्काउँछ, सुगा मालिकलाई टोक्न थाल्छ ।

यसरी बानीले मानिसलाई राम्रो र सत्य छुट्याउन नसक्ने बनाइदिन्छ । ऊ असत्यको बफादार बन्छ । हुन पनि करिब २० वर्षपहिला अमेरिकामा एउटा मानिस आफूलाई अब्राहम लिंकन नै हुँ भन्छ । सबैले उसलाई पागल भन्छन् । तर कतै अब्राहम लिंकनको आत्मा आएर बसेको रहेछ कि भनेर उसलाई झुटो बोलेको वा नबोलेको पत्ता लगाउने मेसिनमा लगेर जाँचिन्छ । मेसिनले पनि झुटा नबोलेको प्रमाणित गर्दछ । मानिसले पत्याउन असम्भव कुरालाई मेसिनले पत्यायो । अब झनै मानिसमा सत्य पत्ता लगाउन कठिन भयो । त्यो मानिसको कामका बारेमा पत्ता लगाउँदा थाहा लाग्यो कि ऊ नाटकमा करिब २० वर्षदेखि अब्राहम लिंकन भएर हरेक दिनजस्तो पात्रको रुपमा काम गर्दो रहेछ । उसलाई आफ्नो नाम अब्राहम लिंकन भएको नै भ्रम भएछ अर्थात् उसको लागि ऊ अब्राहम लिंकन भएको पुरा विश्वस भएछ । कस्तो अचम्म ! भ्रम र सत्य पनि एकठाउँमा रहन सक्ने ।

यो देशमा घोडा, सुगा र अब्राहम लिंकनहरु धेरै भए । त्यो भन्दा धेरै ती घोडा, सुगा र अब्राहम लिंकनहरुका कुरामा विश्वास गर्नेहरु भए । यसैले यो देश यो समाजले काँचुली फेर्न सकेन । व्यवस्था बदलियो, सरकार बदलियो, राजा पनि हटे तर चरित्रमा भिन्नता आएन । जसको चाहनाभन्दा पनि आवश्यकताको लागि भनेर आन्दोलनहरु भए । जसलाई त्यसैको लागि आहुति दिन लगाइयो । उनीहरुको ज्यान, उनीहरु र उनीहरुका आफन्तहरुको जगाइएको आशाको सपना कहिल्यै पूरा भएन ।

लोकतन्त्र त छ नि ! तर दलका कार्यकर्ताहरुको भ्रम र लोभले गर्दा उनीहरु नेताहरुको तानाशाही चरित्रको सामुन्ने लाचार भए । शायद अरु राम्रो पेसा पाएको भए आधा राजनीति गर्नेहरुले त राजनीति गर्ने थिएनन् होला । युरोपका केही देशमा गरिएको अनुसन्धानले के देखाएको थियो भने, बेलायत, नर्वे, जर्मन, फ्रान्स आदि सम्पन्न देशहरुमा भन्दा अपेक्षाकृत गरिब पूर्वी युरोपका देशहरुमा राजनीति गर्नेको संख्या चार दोब्बरभन्दा बढी थियो । नेपालजस्ता देशहरुमा त त्यो संख्या धेरै बढी छ । राज्यले गाँस, बास, स्वास्थ्य, सुरक्षा, शिक्षाको आधारभूत विषय पूरा गर्न सकेको भए राजनीतिमा लाग्नेहरु कम हुन्थे होलान् । राजनीतिमा कम मानिसहरु लागेको भए नेताहरुका दलालहरु कम हुने हुन्थे होलान् । जब नेताहरुका दलालहरु कम हुन्छन् तब जनतामा सत्य सजिलैसँग पुग्छ । जनताले गलतलाई छान्दैनन् । अवस्था सुध्रन्छ ।

यहाँ त काम नपाएकाहरु र दलको भएको हैसियतले नै काम पाएकाहरु दलले गरेका जति नै गलत कार्यहरुलाई पनि जनस्तरबाटै बचाउ गरिन्छ । विकास र जनताको हितभन्दा जनताहरुबीच फाटो ल्याउने र बलियोको साथ लिई शासन गर्ने कार्य भनेको आधुनिक फासिवाद हो । नेपाल त्यही दिशामा अग्रसर हुँदै छ भने त्यो रोक्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्