कांग्रेसको आन्तरिक किचलो बन्द होस्



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक किचलो बढ्दै गएको छ। सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेस आफैं लोकतान्त्रिक पद्धतिमा चल्न नसकेको गुनासो मात्र बढेको छैन, कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। कांग्रेस केन्द्रीय समितिका नेताहरू पनि वडा तहबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने महासमिति बैठकले सुझाव दिएको थियो। सुझावअनुसार सभापति शेरबहादुर देउवासहित सबै नेताहरूले विधान परिमार्जन गर्ने प्रतिबद्धता पनि जनाएका थिए। तर, केन्द्रीय समिति बैठकले केन्द्रीय नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने गरी बहुमतका आधारमा विधान पारित गरेपछि विवाद चर्किंदै गएको छ।

केन्द्रीय समितिले विधि र प्रक्रिया नै मिचेको आरोप लगाउँदै असन्तुष्ट पक्षले फरक मत राखेको छ। विवादका कारण बैठक नै स्थगित भएको छ। महासमिति बैठकले दिएको सुझाव केन्द्रीय समितिले वास्ता नगर्दा यस्तो स्थिति उत्पन्न भएको हो। लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टीले सर्वसम्मतिबाटै निर्णय गर्नुपर्ने थियोे। सर्वसम्मत निर्णय नभएपछि बहुमतको निर्णयलाई स्वीकार गर्नुपर्ने हो, त्यो पनि हुन सकेन। अन्ततः बैठक नै अवरुद्ध हुन पुग्यो।

लोकतन्त्रमा अल्पमतको पनि सम्मान गरिनुपर्छ। बहुमत पक्षको जिम्मेवारी र जवाफदेहिता भनेकै अल्पमतको आवाज सुन्नु हो। बहुमतवाला आफूखुसी अगाडि बढिरहने हो अल्पमत पक्षको सुझावको अर्थ नै के र≈यो रु अल्पमत पक्षले यतिखेर महासमितिको औचित्यमाथि प्रश्न उठाएका छन्। कांग्रेसमा महासमितिको बैठक आफैंमा शक्तिशाली केन्द्र हो। जसले विधान परिमार्जन गर्न सक्छ, पार्टीको नीति निर्माण गर्नेदेखि केन्द्रीय समितिलाई नै निर्देशित गर्ने क्षमता राख्दछ। यस्तो शक्तिशाली केन्द्रको निर्णय नै केन्द्रीय समितिले मानेन भने के हुन्छ रु यस प्रश्नको जवाफ बहुमत पक्षले अवश्य दिनुपर्छ।

विधि र प्रक्रियामा सवाल खडा भएपछि जनविश्वास टुट्न सक्छ। कांग्रेस आफ्नै आन्तरिक कारण अलमलमा परे पनि ऊ एउटा पार्टीमात्र होइन, बलियो विपक्षी दल र भोलिको सत्तापक्ष पनि हो। यसै कारण उसले आन्तरिक अलमल गर्नु स्वाभाविक हुँदैन। पार्टीका आन्तरिक मामिलासँगै राष्ट्रिय महŒवका विषयहरूमा ठोस धारणा बनाउनुपर्छ। अहिले कांग्रेसलाई कमजोर प्रतिपक्षका रूपमा टिप्पणी भइरहँदा उसले आफैंभित्रको विवाद हल गर्न सकिरहेको छैन। विवाद, असहमति र असन्तुष्टीहरू जहाँ पनि हुन्छन्। तर, निर्णयले विधि विधान मिच्नु हुँदैन।

कुनै पनि दलका नेताले धेरैभन्दा धेरै कार्यकर्ताको विश्वास जितेका हुन्छन्। नेता हुनका लागि विश्वास र मतको आवश्यक पर्दछ। नेताकै विश्वासका भरमा धेरै कार्यकर्ताहरू पार्टीमा समर्पित भएर लागेका हुन्छन्। नेपालको परिप्रेक्ष्यमा नेताको विश्वास गरेर मरी–मरी पार्टीमा लागिपर्ने कार्यकर्तालाई बढीजसो विश्वासघात दलका नेताले नै गर्दै आएका छन्। कांग्रेसका नेताहरूले अहिले परिमार्जनसहित विधान स्वीकृत गर्दा महासमितिमा दिएको वचन भुलेका छन्।

महासमितिको बैठकमा दिइएका सुझावहरूसमेत समावेश गरी विधान संशोधन गर्ने अधिकार केन्द्रीय समितिलाई प्रत्यायोजन गरिए पनि सुझावविपरीत विधान स्वीकृत गरिएपछि केन्द्रीय समितिले विधानअनुसारको प्रष्टीकरण दिनु आवश्यक छ। यस्ता विवादहरूले पार्टी संरचनाहरूको हैसियतमाथि नै सवाल उत्पन्न गर्ने भएकाले बहुमत पक्षले गम्भीरता देखाउनैपर्छ।
– उमाकान्त डाँगी, खोटाङ।

प्रतिक्रिया दिनुहोस्