५३ जना शिक्षक तथा विद्यार्थी बेलायत जाँदै



काठमाडौँ ।
नेपाल र बेलायतबीच मौलिक कला र संस्कृतिको आदानप्रदान गर्ने उदेश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत जाने भएका छन् ।

हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङजास्थित त्रिशहिद पब्लिक स्कुल र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत जाने भएका हुन् । राजधानीको सम्वाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले टोली चैत्र १५ गते बेलायत प्रस्थान गर्ने जानकारी दिनुभयो ।

स्याङजाकै पुरानो स्कुल त्रिशहिद पब्लिक स्कुलका २० जना विद्यार्थी र भ्याली पब्लिक स्कुलका २० जना विद्यार्थीका साथै विषय शिक्षक गरी ५३ जनाको टोली २१ दिनको लागि बेलायत जान लागेको हो । उनीहरु त्यहाँका विभिन्न १४ स्कुलमा जाने कार्यक्रम छ । त्यहाँ नेपाली विद्यार्थी र बेलायती विद्यार्थीहरुले आ– आफ्नो कला र संस्कृतिलाई गीत र नृत्यमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बेलायतको लण्डनबाट लगभग ३ सय किलोमिटरको दूरीमा रहेको योर्कशायर सहरमा यो कार्यक्रम हुन लागेको हो । बेलायतजस्तो आधुनिक र विकशित देशमा गएर आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको अधिकारीले बताउनुभयो ।

आजको विश्वब्यापीकरणको युगमा एक देशको कला र सस्ंकृति अर्को देशमा सहजै आदानप्रदान गर्न सकिने भएपनि आफैं प्रत्यक्ष गएर अवलोकन गर्दा विद्यार्थीहरुकोे लागि ठूलो उपलब्धि हुने अधिकारीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्