१५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा उद्घाटन गर्नुभएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजनामा गरेको महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्धिका लागि ठूलो योगदान रहेको बताउनुभयोे।

समृद्धिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उहाँले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताउनुभयो।

उहाँले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई पूरा गर्नका लागि उद्योगहरुको प्रवद्र्धन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता औैंल्याउनुभयो।

नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यावसायिककरण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन्। तर, सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं।’
मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापारघाटा व्यहोरिरहेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले एकातिर हामी दैनिक उपभोग्य वस्तुका सामानसमेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादनसमेत निर्यात गर्न सकिरहेका छैनौं। निर्यातले मात्र हाम्रो व्यापारघाटा पूर्ति गर्नसक्ने अवस्थामा नरहेको उल्लेख गर्नुभयो।

मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक उमेशप्रसाद सिंहले बताउनुभयो।

महोत्सवको सहआयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको छ। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो।
पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग सहभागी रहेको हुने मेलामा चीन, भारत र बंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल पनि रहेका छन्। करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्