उत्कृष्ट उपन्यास– ब्रेकअप डायरी



साहित्यकार एवं पत्रकार सविन प्रियासनको आठौं उपन्यासका रूपमा रहेको ब्रेकअप डायरीले यति बेला चर्चा कमाइरहेको छ। दुई हप्ताअघि पोखरामा विमोचन भएपछि बजारमा आएको ब्रेकअप डायरीले छोटो समयमा नै अत्यधिक पाठक भेट्टाउन सफल भएको छ। ब्रेकअप डायरी लेखनी, शब्दचयन, विषयवस्तु र भाषाशैलीका हिसाबले उत्कृष्ट छ। साहित्यको बजारमा उपन्यासहरू निकै कम मात्रामा बजारमा निस्कन्छन्। साहित्यकार प्रियासनको कलम भने उपन्यासमा नै लिप्त भएको छ। उनले यस वर्ष तीनवटा उपन्यास निकालेर रेकर्ड कायम गरेका छन्। प्रियासनका दशवटा कृतिमध्ये आठवटा उपन्यास रहेका छन्। प्रियासनका यसअगाडि प्रकाशित लक्कीचार्म, सेल्फी, सहनशीला, पल्लवी, पुनरागमन, भूमरी, रोदनपछिको… आदि उपन्यासले पनि पाठकहरूको राम्रो साथ पाएका थिए।

ब्रेकअप डायरी उपन्यासलाई बिएन पुस्तक संसार काठमाडौंले प्रकाशन गरेको हो। यसको कभर पेज अत्यन्त आकर्षक छ। १६० पृष्ठमा रहेको ब्रेकअपको मूल्य पनि पाठकहरूले ग्रहण गर्न सक्ने किसिमले २७५।– रुपियाँ राखिएको छ। यस उपन्यासले प्रेमको परिभाषालाई सही तरिकाले विश्लेषण गर्नुका साथै प्रेममा विछोड भएपछि कसरी आफूलाई सम्हाल्दै जिन्दगी अगाडि बढाउने भन्ने सन्देश दिएको छ। उपन्यास शुरूदेखि अन्त्यसम्म सलल बगेकाले अध्ययनका क्रममा बीचैमा छाड्ने अवस्था आउँदैन। जति–जति पाना पल्टिँदै जान्छन्, त्यति नै पाठकहरू विषयवस्तुमा घोत्लिन बाध्य हुन्छन्। पुस्तकमा सबैभन्दा बलियो पक्ष यही छ। सरल भाषाशैलीमा उपन्यास शुरूदेखि अन्त्यसम्म अगाडि बढेकाले जस्तोसुकै पाठकलाई पनि उपन्यासका पात्रहरूले धेरै समयसम्म पछ्याइरहने बनाउँछन्।

उपन्यासमा नेपाल र अस्ट्रेलियाको समेत वर्णन गरिएको छ। अस्ट्रेलिया जाने विद्यार्थीले समेत यसको अध्ययन गरेमा यसबाट केही कुरा सिक्न सक्नेछन्। उपन्यासमा लेखिएको छ– ‘प्रेम वियोगमा पर्दा जिन्दगी जिउन साह्रै गाह्रो हुँदो रहेछ। खाना नखाए पनि पेट भरिने, नसुते पनि निन्द्रा पुग्ने, कुनै पनि ठाउँमा मन स्थिर नहुने, जिन्दगी नै सस्तो लाग्ने, मृत्युको भयबाट मुक्त भइने।’

‘मनलाई जति कठोर बनाए पनि निष्ठुरीको याद बारम्बार मुटुलाई छिया–छिया बनाउन आइपुग्छ। काँडा बनेर घोची रहन्छ। उसको याद वास्तवमै भन्ने हो भने छायाजस्तै बनेर म जहाँ गए पनि पछ्याउन छाडेको छैन। आखिर के छ उसको यादमा त्यस्तो अलौकिक शक्ति ?’ ‘तिमीसँग हिँडडुल, अनि बोलचाल हुन थालेपछि मनमा भएका व्यथाहरू काँडा बनेर अल्झिन छाडेका छन्।’ यस्ता सयौं वाक्यहरू उपन्यासमा छन्। जसले उपन्यासको ओजलाई गरिमामय बनाएको छ।

खासगरी उपन्यासको मुख्य पात्र सानिया र प्रणवको कथाभित्र घुमेको ब्रेकअप डायरीमा दुवै पात्र प्रेम वियोगमा परेको घटनाक्रमबाट उपन्यासको शुरूवात गरिएको छ। ब्रेकअपमा परेका दुई आत्माहरू साथी बनिसकेपछि क्रमशः मनमा एक–अर्काप्रति आकर्षण हुँदै प्रेममा परेको कथा यसमा छ। उपन्यासको मुख्य पात्र प्रणवले साथी सानियालाई अस्ट्रेलिया पठाएको र पछि उनी फर्केर आएको विषयवस्तुलाई यसमा कलात्मक ढंगबाट उठाइएको छ। दाङ र अन्य पर्यटकीय क्षेत्रको वर्णन पनि यसमा समावेश गरिएको छ। उपन्यासका सहपात्रहरूको कथा पनि रोचक र ज्ञानवद्र्धक छ।

यस उपन्यासमा मन छुने भनाइहरू समावेश गरिएका छन्, जसले पाठकहरूको मन धेरै समयसम्म हलचल बनाइरहन्छ।
युवावर्गलाई लक्षित गरेर लेखिएको ब्रेकअप डायरी उपन्यास ओजिलो, सन्देशमूलक र पठनीय छ। हुन त उपन्यासको राम्रो पक्षसँगै केही कमजोरीहरू पनि छन्। अक्षरको साइज अलि सानो छ, उपन्यास जबरजस्ती पातलो बनाउन खोजिएको जस्तो आभास हुन्छ। तर पनि समग्रमा भन्दा उपन्यास गहकिलो छ। अन्त्यमा उपन्यासकार प्रियासनको ब्रेकअपले सबैको मनमुटुमा ठाउँ बनाउन सकोस्।

प्रतिक्रिया दिनुहोस्