चर्चामा आउन कि मर्न पर्ने, कि विवादमा पर्नै पर्ने ? ः बद्री पंगेनी



बुटवल, (नेस)। राज्यले कलाकारिता क्षेत्रलाई उचित सम्मान गर्न नसकेको चिर परिचित कलाकारहरूले गुनासो गरेका छन्।

बुटवलमा पाँचौं अर्ना रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिरहेका र सोमा भाग लिएका कलाकारले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेपालका राज्य सञ्चालकले कलाकारिता क्षेत्रको विकास र संरक्षणका लागि आश्वासनबाहेक कलाकारलाई कुनै प्रकारको सम्मान र स्थान नदिएको गुनासो गरेका हुन्।

‘नेपालको कलाकार चर्चामा आउन कि त मर्न पर्ने कि विवादमा पर्नै पर्ने?’, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले प्रश्न गर्दै भने– ‘नेपालमा अहिले मिडिया धेरै खुलेका छन् तर कलाकारको चर्चा गर्न कञ्जुस्याइँ भएको छ। कलाकारका लागि पत्रकार घर छाउने खर जस्तै हो, पहिले कम मिडिया थिए, अहिले धेरै छन्। तर, पहिलेको तुलनामा कलाकारको चर्चा र महव कम भयो, हाम्रो बेवास्ता भयो कि ?

हामी राज्यसँग पनि लडेकै छौं, हामी चाहन्थ्यौं राज्यको पाँचौं अंग बनाइयोस् तर राज्यले अंग त दिएन, अब ढंग पुर्याओस् अंग चाहिएन।’ उनले बुटवलमा जारी दोहोरीलाई सफल बनाउन सबैको सहयोग र पहल हुनुपर्ने बताए। प्रतिष्ठानका निर्वतमान अध्यक्ष चन्द्र शर्माले २०३९ बाट हेटौंडाबाट शुरू भएको दोहोरी गीत प्रतियोगिता अहिले समयसापेक्ष परिष्कृत हँुदै गएको चर्चा गरे। बुटवलको महोत्सवमा ५६ टिम सहभागी भएको र आफूहरू कलाकार स्थापित गर्ने अभियान चलाइरहेको जनाउँदै उनले भने– ‘२ लाख पुरस्कारको दोहोरी गीत चानेचुने विषय होइन, सर्जकलाई सम्मान, हौसला दिने काम सबैले गरौं।’ प्रतिष्ठानका प्रदेश–५ अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपाली लोकदोहोरी क्षेत्रले संस्कार र संस्कृतिको संरक्षण गरिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्