असमयमै निभेको दियो



आदरणीय आमा
सप्रेम सम्झना !
आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर महिला दिवस मनाइरहँदा २४ वर्षअगाडिको आजकै दिन हामीबाट तपाईंको भौतिक शरीर टाढा भएको थियो । समयले आज फेरि निरन्तर तर अनायासै घनिभूतरुपमा सम्झिन पुगी यो पत्र तपाईंसमक्ष पुग्ने अपेक्षाका साथ लेख्दै छु । तपाईंसँगका अनेक रमाइला र सुख–दुःखका सम्झनाहरु आजमात्र लेखेर सकिने कुरा होइन, मेरा लागि । २०२५ सालतिर पनौती–पूर्वको शँखुईट्टेबाट आफ्नो जन्मघरमा पौरखी कार्य छोडी पनौतीको कर्माचार्य कुलघरानामा आउनुभएको थियो । जन्मघरको पौरखी कार्यको क्रियाशीलता आफ्नै कर्मघरमा पनि कमी आउन दिनुभएन ।

परिवारमा राजनीतिक एवं समाजसेवी श्रीमान्, दाइ अनि दिदी र म थियौं ।
परिवारको दियोको रुपमा रहनुभएकी आमा, जसले मेरो चाहना र आवश्यकतालाई सर्वोपरि राखी निःस्वार्थ भाव र निःसर्त मलाई हुर्काएर यो अवस्थासम्म ल्याउन सहयोग गर्नुभयो । संसारलाई चिनाउनुभयो र त्यही मायाको आधारमा अहिले म जीवन्त रहेको छु । साथै ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी दक्ष मानव बनाउन हरदम मेहनत गरिरहनुभयो । मेरो जीवनमा पहिलोपटक शक्तिको परिचायकका रुपमा महसुस गराउनुभयो । मेरा लागि भरोसा र विश्वासको प्रतिकको रुपमा सधैँ रहनुभयो, अगाडि बढिरहनुभयो । मलाई गर्नुभएको हेरचाह, संरक्षण, माया–ममताको वर्र्णन गर्न शब्दकोशका पाना पल्टाउने कोशिश गर्दै छु ।

आफ्नो दुःख बिर्सिदिनुहुन्थ्यो मेरो मुख हेरेर । कार्ययोजनामा सधैँ तल्लीन भइरहनुहुने आमा, जसले जति कठिन परिस्थिति आए पनि सिकाउनु मात्र भएन स्वयं आफैं उदाहरणीय बनी कडा परिश्रम, त्याग, साहस, स्नेह, सहनशीलता, नम्रता अनि प्रेरणाको स्रोतका रुपमा रहिरहनुभयो । परमपद प्राप्त गर्नुभएको यतिका वर्षसम्म पनि अविष्मरणीय हुनुहुन्छ । तपाईंले एकोहोरो दिइरहनुभयो तर मैले केही दिन सकिरहेको थिइनँ, दूधको धारा तिर्न सकिनँ र लामो सेवा गर्न पाइनँ ।

तपाईंको छोरा हुनुमा गौरवको अनुभूति हुन्छ आमा । जीवनका हरेक मोडहरुमा आफ्नो श्रद्धेय श्रीमान्, परिवारलगायत घरव्यवहारका यावत् क्रियाकलापमा अग्रसरता, छलफलमा सहभागी हुँदै निर्णय प्रक्रियामा समेत आप्mनो भूमिका खेल्नुको अतिरिक्त सांस्कृतिक व्यवहारका सिकाइ अभैm लोकले बिर्सेका छैनन् । हिसाबमा उल्टो–सुल्टो नजान्दा पनि लैंगिक तथा सामाजिक मूल्य मान्यताका सवालहरूमा यहाँको भूमिका उल्लेखनीय नै रह्यो ।

आज सम्झिरहेछु, जीवनभर परिवारलाई नै योगदान । गृह व्यवस्थापन, सामूहिक छलफल, समालोचनात्मक विचार–विमर्शबाट सम्बन्ध सुधार गर्न खपिस हुनुहुन्थ्यो । सांस्कृतिक तथा पारिवारिक कार्यक्रममा सरिक हुने, अस्वस्थता हुँदा घरेलु उपचार विधि अपनाउने विशेषतः दाँतको उपचारमा, परिवारको रुपमा एकसाथ कसरी काम गर्ने भन्ने कुराहरू मैले आमाबाट सिकें । घरमा जब आमा नहुने हो त शान्ति पनि खोजको विषय हुने रहेछ । परिवारको मियोको रुपमा रहनुभएकी तपाईं घडीको सकेन्ड सुईजस्तै रहनुभयो, परिवारको उन्नति र समृद्धिका लागि । नामले होइन, आफ्नै कार्यले सबैको मनमस्तिष्कमा रहनुभयो । सफल श्रीमान्को पछाडि श्रीमती रहन्छे भन्ने कुरा व्यावहारिकरुपमै पुष्टि गरिदिनुभयो ।

परिवारको अनुहारमा खुशी, ओठमा हाँसो र आँखामा समृृद्धिका लागि अन्तिम अवस्थासम्म क्रियाशील रहिरहनुभयो । अभिभावकत्व भूमिका निर्वाहको क्रममा समुदायका टोले कुराहरुको पर्वाह गर्नुभएन । कति कठिन थियो होला तपाईंको दैनिकी ? पहिले आँसु आउँदा तपाईंको याद आउँथ्यो, अहिले तपाईंको याद आउँदा आँसु आउँछ । रोगलाई जित्न नसकेपछि परिवारको दियो निभ्यो तर दियोले छाडेको उज्यालोमा नै जीवनको बाटो रहँदै आएको छ । मेरो मनमस्तिष्कमा सदा स्मरणीय भई रहिरहेको छ । समय बितेपछि थाहा हुने रहेछ, गरेका भूलले मन रुने रहेछ । तपाईंसमक्ष मेरो एउटै विनम्र अनुरोध छ– सधैँ स्मृतिमा छाइरहनू, आशीर्वाद सधैँ पाइरहौं । घरको मुटु, पथप्रदर्शक, सिकाइको अभिलेखक, मर्यादित मानवीय जीवनदायी प्रभाव र परिवर्तन गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद !
उही तपाईंको छोरा
जयराम कर्माचार्य, पनौती

स्वदेशमै रोजगारको व्यवस्था होस्
हरेक जिल्लाबाट वैदेशिक रोजगारमा जानेको संख्या दिनानुदिन बढिरहेको छ । जिल्लामा रोजगारीको सुनिश्चितता नदेखेपछि ठूलो संख्यामा युवा विदेशिनुपरेको बाध्यता छ । युवा वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमा विकट जिल्लाको संख्या धेरै छ । त्यसै गरी, वैदेशिक रोजगारीमा मृत्यु हुनेमा पनि स्थिति नाजुक छ । स्वदेशमै रोजगार पाउन नसक्दा युवाहरुले विदेशमा जोखिम मोल्नुपरिरहेको छ । देश संघीयतामा गएसँगै स्थानीय तहको अधिकार बढेको छ । त्यसैले सबै जिल्लाका युवाहरुलाई रोजगार दिन स्थानीय तहबाटै पहलको आवश्यकता छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजकको नियुक्ति प्रक्रिया शुरु गरिसकेको छ । जसअन्तर्गत, कमलामाई नगरपालिका–६ का अजय प्रधानलगायत रोजगार संयोजकमा छानिसकेका छन् ।

रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी त्यसको सूचना दिने, स्थानीय तहभित्रको रोजगारीको सम्भावित स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने, रोजगारदाताका लागि श्रमिकका बारेमा जानकारी गराउने, रोजगारदाताबाट माग भएबमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने काम गर्नेछन् ।

यसरी रोजगारको सिर्जना हुनेमा केही आशा पलाएको हुँदा कार्यान्वयन र प्रभावकारितातर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ । साथै युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न सम्बन्धित सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्छ ।
– सृष्टि डाँगी, पाल्पा ।

प्रतिक्रिया दिनुहोस्